भर्खरै :

नेपालमा समाजवाद लागू भइरहेको भन्नु भ्रम

– दानबहादुर कपाली
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले नेपालमा प्रयोग भइरहेको समाजवाद विश्वको कुनै पनि किताबमा नपाइने बताएर आफूले आफूलाई संसारका नयाँ नायक उद्घोष गरेसरि अभिव्यक्ति दिए । कम्युनिस्टको भजन गाएर पुँजीवादी राजनीति गरिरहेका नेकपाका अध्यक्ष दाहालले आफ्नो दलको जस्तो राजनीति विश्वको कुनै भूगोल र किताबमा नदेख्नु आश्चर्यको विषय होइन । नेपालमा समाजवाद लागू भइरहेको भन्नु र सामन्तवादको अन्त्यलाई नेपालको कम्युनिस्ट क्रान्ति ठान्नु दुइटै भ्रम हुन्, खोटा विचार हुन् । नेपालमा भइरहेको आन्दोलन, सङ्घर्ष र क्रान्ति आ–आफ्नो देशको माटो सुहाउँदो हुनु स्वाभाविक हो ।
ठूला शत्रुविरुद्ध लड्न स–साना अरु दलहरू मिलेर सङ्घर्ष, आन्दोलन र क्रान्ति गरेका उदाहरण संसारमा बग्रेल्ती छन् । नेपालमा बेलाबखत यस्ता सङ्घर्षहरू नभएका होइनन् । निरङ्कुश पञ्चायती व्यवस्था अन्त्य गर्न नेका र वामपन्थी दलहरू मिलेर सङ्घर्ष गरिएको थियो । यो आन्दोलनलाई संसारको अरु आन्दोलनभन्दा भिन्न देख्नु नेकपा अध्यक्ष दाहालको दृष्टिदोषमात्र हो । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा ‘जनताको जनवादका आधारहरू’ पुस्तक लोकार्पण कार्यक्रममा अध्यक्ष दाहालको अभिव्यक्ति सिङ्ग न पुच्छर भएको विश्लेषण गरिन थालेको छ । उनले भने, “जनताको जनवाद भनेकै समाजवादी क्रान्ति हो, जनताको जनवादबाट नै समाजवादको आधार तयार गरेको हो (गोरखापत्र, १२ माघ २०७६) । उनको यो अभिव्यक्ति सन्तुलित छैन । अध्यक्ष दाहालले एउटै कार्यक्रममा एकआपसमा बाझिएका र झूट कुरा फलाके । कम्युनिस्ट भनिने नेकपाको स्पष्ट दृष्टिकोण नभएको कारणले पनि उनले झूट विचार पोखे र नेता तथा कार्यकर्तालाई अन्योलमा पारे ।
उनले अहिलेको कम्युनिस्ट आन्दोलन सामन्तवादविरुद्ध अगाडि बढिरहेको बताए । सत्ताको नेतृत्व सम्हालिरहेको नेकपाले अहिले कुनै कम्युनिस्ट आन्दोलन अघि बढाइरहेको छैन । नेकपाले त सरकारमा रहेर पुँजीपति वर्गको पक्षपोषण गरिरहेको छ । बरु नेपाल मजदुर किसान पार्टीले पुँजीवाद र समाजवादबीच रहेको फरक विचारबारे जनतालाई सुसूचित गर्दै समाजवादी गणतन्त्रको अभियान छेड्यो । कहिले विश्व सर्वहारा वर्गका नेताहरूको जन्मोत्सवमा त कहिले पार्टीको स्थापना दिवसको अवसरमा कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारबारे जनतालाई अवगत गराउने काम गरिरह्यो । कम्युनिस्ट सिद्धान्त र विचारबारे फैलाइएको भ्रमको चिरफार गर्न, समाजवादी गणतन्त्र प्राप्तिको लागि पूर्वाधार तयार गर्न कम्युनिस्टको सिद्धान्त र विचार जनताको घर आँगनमा पु¥याउन विभिन्न गोष्ठी, सभा, अन्तरक्रिया र भेलाहरू गर्ने काम नेमकिपाले ग¥यो । यस्तै खालको प्रचारात्मक अभियान हरेक कम्युनिस्ट पार्टी, वामपन्थी र प्रगतिशील समूहले गर्नुपर्ने हो । जनतालाई जागरुक, सचेत र सङ्गठित नबनाएसम्म देशमा कसरी परिवर्तनको बाटो तयार हुन्छ र परिवर्तन हुन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *