भर्खरै :

नेमकिपा नेपालको कम्युनिस्ट आन्दोलनको प्रकाशस्तम्भ

कालीकोट, १३ माघ । नेपाल मजदुर किसान पार्टीको ४६ औँ स्थापना दिवसको अवसरमा कालीकोटको शुभकालिका गा.पा., भर्तामा जनसभा तथा जनप्रदर्शन भयो । कालीकोटका जनताले बाजागाजासहित प्रदर्शन गरेर नेमकिपा स्थापना दिवसलाई उत्सवको रूपमा मनाएका थिए ।
जनसभामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले नेमकिपा नेपालको कम्युनिस्ट आन्दोलनको प्रकाशस्तम्भ भएको उल्लेख गर्दै नेमकिपाले देशलाई विस्तारवाद र साम्राज्यवादको प्रभावबाट मुक्त गरी देशलाई आत्मनिर्भर बनाउन सङ्घर्ष गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेमकिपाको वैचारिक स्पष्टता र नेमकिपाले अँगालेको सिद्धान्तबाट पुँजीवादी पार्टीहरू तर्सेका छन् । राजनीतिमा मुढेबलभन्दा वैचारिक शक्ति महत्वपूर्ण हुन्छ ।”
नेमकिपाले स्थापनाकालदेखि देश र जनताको सेवामा निरन्तर लागिरहेको उल्लेख गर्दै केन्द्रीय सदस्य शाहीले नेपालको कम्युनिस्ट आन्दोलनमा समाजवादको झन्डा फहराउने काम नेमकिपाले गरिरहेको प्रस्ट पार्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य नवराज कोइरालाले देशको सार्वभौमसत्ता र स्वाधीनता जोगाउन चाहने देशभक्त र स्वाभिमानी जनता एकजुट भई एमसीसी सम्झौताको विरोध गर्नुपर्नेमा जोड दिनुभयो ।
पैसा दान लिने नाममा एमसीसीको सर्तअनुसार नेपालका सबै ऐन कानुन संशोधन गर्न तयार नेपाली शासकहरूले एक–एक पाइला गर्दै देशको अस्तित्व मेट्न लागेको चर्चा गर्दै कोइरालाले देशको स्वाधीनता रक्षा गर्न सम्पूर्ण कामदार जनता एकजुट हुनुपर्ने बताउनुभयो ।
जनसभामा नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय उपाध्यक्ष नरदीप शाहीले दुई–तिहाइ कम्युनिस्ट नामको सरकार चलिराखेको बेला देशका बेरोजगार युवा दैनिकरूपमा विदेश पलायन हुनु देश परनिर्भर भइरहको बताउनुभयो ।
सभामा नेपाल मजदुर किसान पार्टी दसौं जिल्ला समिति कालीकोटका सचिव खड्गराज शाही, धनञ्जय अधिकारी, तुलाराम धिताल, भक्तबहादुर शाही र खडानन्द अधिकारीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *