भर्खरै :

विभिन्न जिल्ला–जिल्लामा नेमकिपा स्थापना दिवस

मोरङ, १३ माघ । नेपाल मजदुर किसान पार्टीको ४६ औँ स्थापना दिवस प्रदेश नं. १ का विभिन्न जिल्लाहरूमा विविध गतिविधि गरी मनाइयो ।
मोरङ जिल्लाको मोतीपुर गाउँपालिकामा जिल्लास्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
भेलामा नेमकिपाका पूर्वकेन्द्रीय सदस्य नरेन्द्र होमागाइँ र केन्द्रीय सदस्य उकेश कवांले पार्टीको इतिहास, नीति तथा कार्यक्रम र समसामयिक राजनीतिक स्थितिबारे प्रशिक्षण दिनुभएको थियो ।
सोही क्रममा ओखलढुङ्गा जिल्लाको सिद्धिचरण नगरपालिकामा पार्टीसमर्थक शिक्षकहरूमाझ पार्टीको इतिहास र नीतिहरूबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
उदयपुर जिल्लाको कटारी नगरपालिकाको कटारी बजारमा पार्टी कार्यकर्ता तथा समर्थकहरूको भेला तथा प्रशिक्षणका साथ पार्टी स्थापना दिवस मनाइयो ।
त्यसैगरी उदयपुरकै गाईघाट बजारमा नेमकिपाका समर्थकहरूको भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
सुनसरी जिल्लाको धरानमा पार्टी समर्थकहरूबीच एमसीसी सम्झौता, भारतबाट भइरहेको सीमा अतिक्रमण, नागरिकता विधेयक आदिबारे छलफल कार्यक्रम सम्पन्न भयो ।
ती भेला, अन्तरक्रिया तथा छलफल कार्यक्रमहरूमा नेमकिपाका केन्द्रीय सदस्य उकेश कवां, भक्तपुर जिल्ला समिति सदस्य महेन्द्र बखुन्छेलगायत वक्ताहरूले नेपालको कम्युनिस्ट आन्दोलनमा नेमकिपाको योगदान, पार्टीको इतिहास र नीति तथा कार्यक्रम, देशमा भारतीय विस्तारवाद र एकाधिकार पुँजीको हस्तक्षेप र अमेरिकी साम्राज्यवादको हस्तक्षेपविरुद्ध नेमकिपाले गरिरहेको राजनीतिक सङ्घर्षबारे प्रस्ट पार्नुभएको थियो ।
रौतहट
रौतहट, १३ माघ । नेपाल मजदुर किसान पार्टीको ४६ औँ स्थापना दिवसको अवसरमा प्रदेश नं. २ को रौतहटमा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपा रौतहट जिल्ला समितिका अध्यक्ष दिनेशप्रसाद साहले पार्टीको इतिहास र नीति तथा कार्यक्रमबारे चर्चा गर्दै नेमकिपा कामदार जनताको हितको निम्ति लागिरहेको बताउनुभयो ।
नेमकिपाले गरिब किसानको हितको निम्ति मोहियानी बचाउ आन्दोलन, बाली काट्ने आन्दोलन, महँगी र भ्रष्टाचारविरोधी आन्दोलन, शोषणविरोधी श्रम ऐनको निम्ति सङ्घर्ष गर्दै आएको उल्लेख गर्दै नेमकिपा वर्गीय एकतामा जोड दिन्छ भन्नुभयो ।
नेमकिपा रौतहटका सदस्य एवं नेक्रायुसङ्घ जिल्ला समितिका अध्यक्ष लालबाबुप्रसाद चौधरीले वर्तमान सङ्घीय सरकार र प्रदेश सरकारका नीति तथा क्रियाकलाप प्रतिक्रियावादी वर्गको हितमा केन्द्रित रहेको चर्चा गर्दै सरकारले धनी व्यापारी, ठेकेदार, तस्कर र गुण्डाहरू पोसिरहेको बताउनुभयो ।
बर्दिया
नेपाल मजदुर किसान पार्टी बर्दिया जिल्ला समितिको आयोजनामा आइतबार बर्दियामा कार्यकर्ता भेला भयो ।
भेलामा नेमकिपा केन्द्रीय सदस्य हरिसुन्दर वासीले कार्यकर्ताहरूले पार्टी विधानअनुसार अनुशासन पालना गर्नुपर्दछ भन्नुभयो ।
केही करोड अनुदान लिने नाममा संरा अमेरिकी ईच्छाअनुसार देशको स्वाभिमान गुमाउने गरी भएको एमसीसी सम्झौता खारेज हुनुपर्ने चर्चा गर्दै केन्द्रीय सदस्य वासीले लिम्पियाधुरा लिपुलेकलगायत अतिक्रमित फिर्ता गर्न र कालापानीबाट सेना हटाउन सरकारले अकर्मण्यता देखाएको छ भन्नुभयो ।
नेमकिपा ६ नं प्रदेश समिति सदस्य बखत थापाले अध्ययन, सक्रियता नभएपछि कार्यकर्तामा विचलन आउने चर्चा गर्दै समाज परिवर्तनको लागि नियमित गतिविधि अगाडि बढाउनु आवश्यक छ भन्नुभयो ।
भेला नेमकिपा बर्दियाका अध्यक्ष हरिलाल न्यौपानेको अध्यक्षतामा भएको थियो ।
सिरहा
नेपाल मजदुर किसान पार्टीको ४६ औँ स्थापना दिवसको अवसरमा सोमबार सिरहाको लहानमा पार्टी कार्यकर्ताहरूको भेला भयो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य उकेश कवांले नेमकिपा स्थापनाका आधारहरूबारे स्पष्ट पार्नुभयो ।
वामपन्थी अवसरवाद र दक्षिणपन्थी अवसरवादको विरूद्ध नेमकिपा सङ्घर्षरत रहेको चर्चा गर्दै उहाँले नेमकिपा जनताको समाजवाद हुँदै समाजवाद र साम्यवादी व्यवस्था स्थापनाको लागि जनतालाई सचेत पार्ने अभियानमा रहेको बताउनुभयो ।
केन्द्रीय सदस्य कवांले एमसीसी नेपालको हितमा नरहेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा विजय महत्तो, महेन्द्र बखुन्छे, राजकृष्ण गोरा, हरिनारायण महत्तो, संजीवकुमार सिंह, सन्तोषकुमार यादव, राजकुमार पासवान, श्रीलाल पासवान, श्रीवती सदाय, सूर्यप्रसाद श्रेष्ठलगायतले बोल्नुभएको थियो ।
पार्टी स्थापना दिवसकै अवसरमा सुनसरी, धरान र सप्तरीमा पनि कार्यकर्ता भेला भयो । सप्तरीमा भएको भेलामा उकेश कवां, सन्तोषकुमार यादवलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *