भर्खरै :

‘भूकम्पीय जोखिम न्यूनीकरण तथा व्यवस्थापन’ बारे कार्यशाला

ललितपुर, १३ माघ । नेपालमा भूकम्पीय जोखिम न्यूनीकरण तथा व्यवस्थापन विषयक एकदिने कार्यशाला ललितपुरमा सम्पन्न भयो ।
कार्यक्रममा भूकम्प पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले २०७२ को भूकम्पपछि फेरि उठ्नसक्ने हो होइन भनी चिन्तित भएकोमा आजसम्मको प्रगति सन्तोषजनक रहेको बताउनुभयो ।
उहाँले पुनःनिर्माण प्राधिकरणको गठनपछि हालसम्म ८७ प्रतिशत निर्माण सम्पन्नतिर गइरहेको, विद्यालय भवनहरू ७१ प्रतिशत निर्माण सम्पन्न भएको प्रस्ट पार्दै पूर्वाधार सुन्दरमात्रै होइन गुणस्तरीय बनाउनु आवश्यक भएकोमा जोड दिनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पुनःनिर्माण साझा चुनौती भएकोले केन्द्र, प्रदेश र स्थानीय सरकारहरूबीच समन्वय गरी संयुक्त प्रयासमा अगाडि बढ्नु जरुरी छ भन्नुभयो ।
उहाँले कामभन्दा प्रक्रिया बढी खोज्ने, ढिलाइबारे एकले अर्कोलाई दोषारोपन गर्ने प्रवृत्ति भएसम्म हामीले समयमा काम सम्पन्न गर्नसक्दैनौँ भन्नुभयो ।
भक्तपुर नगरपालिकाको क्षतिग्रस्त सम्पदा पुनःनिर्माणको लागि जेठ महिनामै सबै योजना प्रस्तुत गरेकोमा ८÷९ महिना बितिसक्दा पनि किन प्रक्रिया अघि बढेन भनी प्रश्न गर्दै उहाँले बैड्ढमा पैसा थुपारेर सम्पदा पुनःनिर्माण नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “मौलिकता गुमाउनु हुँदैन । मौलिकता गुम्यो भने हाम्रो पहिचान समाप्त हुन्छ । आत्मनिर्भरतालाई जोड दिनुपर्छ । सधैँ अरुको सामु हात थप्ने भावनाले सम्बद्ध नेपाल र सुखी नेपाली बन्नसक्दैन ।”
सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक रामचन्द्र दंगालको सभापतित्वमा सम्पन्न कार्यक्रममा खानी तथा भूगर्भ विभागका डा. सोमनाथ सापकोटाले भवन निर्माण आचारसंहिताको राम्रोसँग कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल विपद् न्यूनीकरण प्राधिकरणका प्रमुख अनिल पोखरेलले कमभन्दा कम क्षतिको लागि काम गर्ने हो, अहिलेको अवधिमा जति काम भयो त्यो धेरै नै महत्वपूर्ण छ भन्नुभयो ।
उहाँले हामी एक्लैले काम गर्ने होइन, सबैले संयुक्त प्रयास गरेर मौलिकता जोगाएर अघि बढ्नुपर्छ भन्नुभयो ।
उक्त कार्यक्रम भक्तपुर नगरपालिका, राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण, पुनःनिर्माण प्राधिकरण, सहरी विकास तथा भवन निर्माण विभाग र एनसेटको संयुक्त आयोजनामा भएको थियो । उद्घाटन कार्यक्रमपछि विभिन्न विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *