भर्खरै :

स्ववियुबारे छलफल

काठमाडाँै, १४ माघ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको विषयमा मङ्गलबार त्रिभुवन विश्वविद्यालयले विद्यार्थी सङ्घहरूसँग छलफल गरेको छ । आगामी फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको कार्यक्रम तालिका, निर्वाचन आचारसंहिता, विनियमावलीको विषयमा त्रिभुवन विश्वविद्यालयले विद्यार्थी सङ्गठनका प्रतिनिधिहरूको बैठक बोलाएको हो ।
बैठकमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय सचिव रमेश प्रजापतिले स्ववियु निर्वाचनसम्बन्धी सङ्घको धारणा राख्दै स्ववियु निर्वाचनमा देखिएका विकृति विसङ्गतिलाई हटाउँदै निर्वाचनलाई नियमित गर्नुपर्ने बताउनुभयो । स्ववियु निर्वाचन नियमित हुन नसक्दा नयाँ पुस्ताका विद्यार्थीहरूमाझ राजनीतिक वितृष्णा बढेको, विद्यार्थी आन्दोलन कमजोर हुन पुगेको र त्यसले भविष्यमा देशको राष्ट्रिय राजनीतिमा समेत नकारात्मक असर पर्ने उहाँले बताउनुभयो । उहाँले स्ववियुभित्र रहेको विकृति विसङ्गतिलाई हटाउन निर्वाचन आचारसंहितालाई कडाइका साथ लागू गर्नुपर्ने, निर्वाचनलाई खर्चिलो र भड्किलो बनाउन नहुने धारणा राख्नुभयो ।
सचिव प्रजापतिले स्ववियु निर्वाचनलाई नेक्राविसङ्घले सदैव वैचारिक र सैद्धान्तिक बहस गर्ने मञ्चको रूपमा प्रयोग गर्दै आएको बताउँदै त्रिविले कुनै राजनीतिक दलको स्वार्थमा नपरी निर्धारित समयमै तालिकाअनुरूप निर्वाचन गर्न विश्वविद्यालयको ध्यानाकर्षण गर्नुभयो ।
बैठकमा विभिन्न विद्यार्थी सङ्गठनका प्रतिनिधिहरूले स्ववियु निर्वाचन तालिका र आचारसंहितासम्बन्धी आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *