भर्खरै :

कैलालीमा विद्यार्थी प्रशिक्षण

कैलाली, १४ माघ । नेपाल मजदुर किसान पार्टीको ४६ औँ स्थापना दिवसको अवसरमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ आबद्ध विद्यार्थी कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य हरिसुन्दर वासीले शासक पार्टीहरूले विद्यार्थी र अरु कार्यकर्ताहरूलाई कहिल्यै सैद्धान्तिक प्रशिक्षण नदिने बरु पद र पैसाका लागि झगडा गर्न सिकाउने बताउँदै त्यस्ताहरू पछि गएर भ्रष्ट सांसद र मन्त्री बन्ने गर्छन् भन्नुभयो ।
परिवर्तनप्रेमी र देशभक्त विद्यार्थीहरूले आफ्नो औपचारिक पढाइसँगसँगै पार्टी प्रकाशनहरूको अध्ययन र अन्तरक्रियामा पनि भाग लिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
छाउपडी प्रथा र अन्य अन्धविश्वास प्रहरीले छाउगोठ भत्काएर अन्त्य नहुने बरु वैज्ञानिक ज्ञान र भौतिकवादी दर्शनले जनतालाई शिक्षित पार्नुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा नेमकिपा कैलाली जिल्ला समितिका अध्यक्ष रमेशकुमार रावलले विदेशी दलाल साबित हुँदै गएका शासक पार्टीहरूबाट देशको सार्वभौमिकता र सीमा रक्षा नहुने स्पष्ट पार्दै देशभक्त युवा–विद्यार्थी सक्रिय र आन्दोलित रहनुपर्ने बताउनुभयो ।
नेमकिपा कैलाली जिल्ला समितिका सचिव गगन थापामगरले विद्यार्थीले राजनीति गर्नु हुँदैन भन्नेहरू स्वयम्ले विद्यार्थीलाई राजनीतिबाट अलग्याउने र चेतित हुन नदिने राजनीति गरिरहेका छन् भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *