सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
सुनिल प्रजापति
(२२ औँ भूकम्प सुरक्षा दिवसको अवसरमा ललितपुरमा माघ १३ गते नेपालमा भूकम्पीय जोखिम न्यूनीकरण र व्यवस्थापन विषयक कार्यशालामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले व्यक्त मन्तव्य)
नेपाल भूकम्पीय दृष्टिले अत्यन्तै जोखिमपूर्ण क्षेत्रमा अवस्थित छ । नेपालमा पटक–पटक ठूला ठूला भूकम्पहरू गएको इतिहास छ । भूकम्पकै कारण नेपालले धेरै ठूल–ठूला क्षतिहरू व्यहोर्नुप¥यो । विगतका भूकम्पबाट हामीले शिक्षा लिनुपर्छ ।
भूकम्प स्वयं विपद् होइन, त्यो त प्राकृतिक प्रक्रियामात्रै हो । आजसम्म विकसित वैज्ञानिक प्रविधिले भूकम्पलाई रोक्न सकेको छैन अर्थात् त्यस्तो कुनै प्रविधिको विकास भएको छैन । भूकम्पले होइन हामीले बनाएको कमजोर संरचनाले हाम्रो सम्पत्ति नास गर्छ र ज्यान लिन्छ । हामीले बलियो संरचना निर्माण गरेर भूकम्पबाट हुने क्षति न्यूनीकरण गर्नसक्छौँ, हामी सबैको साझा सरोकारको विषय यहीँ हो ।
भूकम्प प्रतिरोधी संरचनाहरू निर्माण गर्नु र कुनै पनि बेला भूकम्प आउनसक्ने सम्भावनालाई ध्यानमा राखेर सावधानी अपनाउनु नै भूकम्पबाट हुने क्षति न्यूनीकरणका उत्तम उपायहरू हुन् ।
हाम्रा सयौँ वर्ष पुराना सम्पदाहरू अहिले पनि जीवन्त छन् । आजभन्दा ३१७ वर्षअघि निर्मित काठमाडौँ उपत्यकाकै सबैभन्दा अग्लो भक्तपुरको पाँचतले मन्दिर १९९० सालको विनाशकारी भूकम्पमा एक तलामात्रै भत्क्यो, २०४५ सालमा केही क्षति भएन र २०७२ सालको भूकम्पमा माथिल्लो तलामा केही क्षति भयो । भक्तपुर नगरपालिकाले त्यसको जीर्णोद्धार गर्दै छ । भूकम्पअघि भनपाले जीर्णोद्धार गरेको ५५ झ्याले दरबारमा सामान्य क्षतिबाहेक केही भएन । भैरवनाथको मन्दिरमा एक तलामा क्षति भएकोमा सोको जीर्णोद्धार हालै सम्पन्न भयो । समय–समयमा मर्मत सम्भार गर्नु सम्पदा र संरचनाहरू राख्ने अर्को उपाय हो ।
गएको माघ २ गते २२ औँ भूकम्प सुरक्षा दिवस मूल कार्यक्रम भक्तपुरमा सम्पन्न भयो । भूकम्पबारे जनचेतना फैलाउने उद्देश्यले आयोजित त्यस कार्यक्रमले भक्तपुरको कला संस्कृति र सम्पदाबारे राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार प्रसार गर्ने अवसर प्राप्त भयो । त्यस कार्यक्रम भव्यरूपमा सम्पन्न गर्न सहयोग गर्ने राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, सहरी विकास तथा भवन निर्माण विभाग, एनसेटलगायत सम्पूर्ण सहयोगी हातहरूलाई भक्तपुर नगरपालिकाको तर्फबाट हार्दिक धन्यवाद दिन्छौँ ।
भक्तपुर नगरपालिकाले हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवसको अवसर पारेर भूकम्पसम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू गर्दै आएको छ । यो वर्ष पनि राष्ट्रिय कार्यक्रमकै दिन भनपाद्वारा सञ्चालित ख्वप इ. कलेज र ख्वप कलेज अफ इन्जिनियरिङ्गको संयुक्त आयोजनामा जनचेतनामूलक प्रदर्शनी सम्पन्न ग¥यौँ भने माघ ३ गते राष्ट्रिय गोष्ठी सम्पन्न ग¥यौं ।
२०७२ सालको भूकम्पपछि ख्वप इन्जिनियरिङ्ग कलेज र ख्वप कलेज अफ इन्जिनियरिङ्गको आयोजनामा ‘भूकम्प इन्जिनियरिङ्ग र विपद्पछिको पुनःनिर्माण’ विषयमा २०७३ वैशाख १२, १३ र १४ गते पहिलो र २०७६ वैशाख १२, १३ र १४ गते दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भयो । विभिन्न देशका इन्जिनियर, आर्किटेक्टहरूले भाग लिनुभएको ती सम्मेलनहरूले पुनःनिर्माणमा मौलिक प्रविधिलाई जोड दिनुपर्ने निष्कर्ष निकालेका थिए ।
२०७२ को भूकम्पले भत्केका लाखौँ घरहरू अझै निर्माण हुनसकेका छैनन् । यो हामी सबैको साझा चुनौती हो । केन्द्र, प्रदेश र स्थानीय तहका सबै सरकारहरूले संयुक्त प्रयास गरे हाम्रा निजी घर र सम्पदाहरू पुनःनिर्माणको लागि त्यति समय लाग्ने छैन । कामभन्दा प्रक्रिया बढी खोज्ने, ढिलाइको कारणबारे एकले अर्कोलाई दोषारोपण गर्ने प्रवृत्तिले हामीले आफ्नो लक्ष्यअनुसार काम गर्नसक्दैनौँ । हाम्रो बानी, व्यवहारमा सुधार गरेनौँ भने दुई वर्ष होइन अर्को चार–पाँच वर्षमा पनि पुनःनिर्माणको काम सम्पन्न गर्नसक्ने छैनौँ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख प्रशासकीय अधिकृत यहीँ कार्यक्रममा हुनुहुन्छ । गएको आवमा सम्पन्न गर्नुपर्ने गरी सम्पदा पुनःनिर्माणको लागि भनपालाई रु. ५ करोड पाउने उहाँबाट आश्वासन पायौँ । उहाँहरूले योजना माग गर्नुभयो । वैशाख महिनामै योजना छनौट गरी ९ वटा योजनाको नक्सा डिजाइन, ल.ई. पारित गरी उपभोक्ता समिति गठनसहित कार्यपालिकाले पारित गरी बुझायौँ । विभिन्न नगरपालिकाका जनप्रतिनिधिहरू, प्राविधिकहरूसामु उहाँले योजना स्वीकृत भएको घोषणा गर्नुभयो । ताली बजाएर सहभागीहरूले समर्थन पनि गर्नुभयो तर २०७६ माघमा हामी सोध्दै छौँ—ती योजनाहरू कहाँ गए ? ९ मध्ये २ वटा योजना नगरपालिकाको बजेटले नै हामीले सम्पन्न गरिसक्यौँ ।
भक्तपुर दरबार क्षेत्रस्थित कला सङ्ग्रहालय रहेको भवनको कथा व्यथा त्यहीँ छ । किन हाम्रा सम्पदाहरूमा जिम्मेवार निकायहरूको ध्यान जाँदैन ? त्यसको ल.इ., डिजाइनसहितको फाइल प्राधिकरणबाट हामीले नै पुरातत्व विभागमा पु¥यायौँ तर अझै काम हुँदैन । नेपालमा के गर्दा काम हुन्छ ? हामीलाई बुझाइदिनुप¥यो ।
बैङ्कमा पैसा थुपारेर हाम्रा सम्पदाहरू आफैँ पुनःनिर्माण हुने होइन । निर्माणको अधिकार प्राप्त संस्थाहरू जति सक्रिय हुन्छन्, त्यति छिटो सम्पन्न हुने हो । हामी जनप्रतिनिधि ५ वर्षको लागि निर्वाचित भएर आएका हौँ । अब पनि द्रुतगतिले काम गर्न सकेनौँ भने हामीले पश्चाताप गर्नुपर्ने हुन्छ । आशा गरौँ, हामीले जिम्मेवारीपूर्वक बाँकी काम छिट्टै टुङ्गयाउने छौँ ।
भनपाले विश्व सम्पदा क्षेत्र, पुरानो नगर क्षेत्र, विस्तारित आवास क्षेत्र, व्यापारिक क्षेत्र, औद्योगिक क्षेत्र र नदी किनारा क्षेत्रको अलग अलग मापदण्ड बनाई लागू गर्दै आएको छ । नगरभित्र अधिकतम तला ४५ फिट (५ तला), विश्व सम्पदा क्षेत्रमा ३५ फिट, पुरानो नगरमा ३५ फिट र व्यापारिक क्षेत्रमा ५२ फिटको मापदण्डलाई भनपाले कडाइका साथ लागू गर्दै आएको छ ।
जस्तोसुकै सङ्कट आए पनि हामीले हाम्रो पहिचानलाई नबिर्साैँ, मौलिकतालाई नगुमाऔँ । हाम्रो पहिचान गुम्यो भने हाम्रो भन्नु केही हुने छैन । आत्मनिर्भरतालाई जोड देऔँ । सधँै अरूसामु हात थापेर ‘समृद्ध नेपाल र सुखी नेपाली’ बन्न सक्दैनौँ । आलोचनाले कमी कमजोरी सुधार्ने मौका मिल्छ ।
हामी प्रशंसाभन्दा आलोचनालाई ध्यान देऔँ । आलोचना तीतो औषधिजस्तै हो, जसले रोग निको पार्ने अचुक काम गर्छ ।
आ—आफ्नो क्षेत्रमा हामी सबै जिम्मेवारीपूर्वक प्रस्तुत होऔँ । एक आपसमा हातेमालो गर्दै पुनःनिर्माणको काम समयमै सम्पन्न गरौँ र संरचनाहरू बलियो, भरपर्दो र भूकम्प प्रतिरोधी निर्माण गरौँ । भविष्यमा आइपर्ने विपद् न्यूनीकरण गर्न एकजुट होऔँ ।
Leave a Reply