भर्खरै :

‘श्रमिक’ साप्ताहिक आस्थाको पत्रकारितामा दृढ

भक्तपुर, १८ माघ । देश र जनतामा समर्पित विचारप्रधान साप्ताहिक ‘श्रमिक’बारे पाठकबीच एक अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा पाठकहरूको अध्ययनको निष्कर्ष र रायसुझाव सुनिसकेपछि श्रमिक साप्ताहिकका प्रकाशक एवं नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले श्रमिकले आस्थाको पत्रकारिता गरिरहेको स्पष्ट पार्दै व्यवसायिकताको नाममा नाफाको निम्ति समाजविरोधी र जनविरोधी प्रचार गरेको छैन भन्नुभयो ।
उहाँले श्रमिक साप्ताहिकले देशको राजनीतिबारे देश र जनताको अधिकतम हितमा सुसङ्गत धारणा निर्माण हुने विचारलाई प्राथमिकतासाथ छाप्दै आएको बताउँदै पाठकलाई नै सल्लाह र सुझावको स्रोत र कतिपय समाचार स्रोतको रूपमा लिँदै आएको बताउनुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका सदस्य उपेन्द्र सुवालले राष्ट्रिय र अन्तर्राष्ट्रिय कामदार वर्गका जनताको पक्ष लिई न्यायपूर्ण आन्दोलनलाई टेवा दिने काम श्रमिक साप्ताहिकले गरिरहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल प्राध्यापक समाजका केन्द्रीय सदस्य डा. राजुभाइ त्यातले श्रमिक साप्ताहिक अन्य व्यवसायिक पत्रिकाजस्तो झिलीमिली नभए पनि खँदिलो विचार र सत्यतथ्य विश्लेषणले युक्त छ भन्नुभयो । उहाँले ‘श्रमिक’ साप्ताहिकलाई थप पठनीय बनाउन सम्पादक मण्डलले लेखरचनाको शैली र साजसज्जालाई थप परिष्कृत बनाउनुपर्छ भन्नुभयो ।
नेपाल पत्रकार समाजका केन्द्रीय सदस्य प्रकाश थुसाले अन्तर्राष्ट्रिय राजनीतिक घटनाका साम्राज्यवादविरोधी दृष्टिकोण श्रमिकले प्रकाशित गर्दै आएको र त्यसले साम्राज्यवादविरोधी आन्दोलन उठाउन टेवा पुगिरहेको छ भन्नुभयो ।
नेमकिपा भक्तपुर नगर समिति वडा नं. ६ एकाइ समितिको आयोजनामा भएको कार्यक्रममा आयोजक समितिका अध्यक्ष गणेशराम थुसाले श्रमिकले २७ वर्षदेखि निरन्तर पार्टी कार्यकर्ता र समर्थकहरूलाई सुसूचित, सजग र उत्साहित पार्दै आएको बताउनुभयो ।
कार्यक्रममा स्थानीय पाठकहरू सीताराम कुम्पाख, राज भोमी, बिकुलाल सुवाल, मदन खाताखो, विधान थुसा, शोभा बासुकलालगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *