भर्खरै :

एमसीसी सम्झौता खारेज गर्ने माग गर्दै कीर्तिपुरमा सभा

कीर्तिपुर, १८ माघ । संरा अमेरिकाको नेतृत्वमा बनेको हिन्द–प्रशान्त सैन्य रणनीतिअन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन सम्झौता खारेजीको माग गर्दै शनिबार नेमकिपाले जनसभाको आयोजना गरेको छ ।
जनसभामा वक्ताहरूले संरा अमेरिकाले नेपाललाई युद्धभूमि बनाउन खोजेको धारणा राख्नुभयो । उहाँहरूले नेपालको सार्वभौमिकता तथा स्वतन्त्रताको निम्ति सम्पूर्ण देशभक्तहरू एक हुनुपर्ने विचार राख्नुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले एमसीसी संरा अमेरिकी रक्षा मन्त्रालयको मातहतमा रहेको भन्दै नेपालमा हिन्द–प्रशान्त सैन्य गठबन्धनअन्तर्गतको स्थल सेना बनाउने स्वीकृति दिने सरकार संरा अमेरिकी दलाल भएको तर्क गर्नुभयो । उहाँले नेपाल कुनै पनि सैन्य गठबन्धनमा रहनु असंलग्न परराष्ट्र नीतिविपरीत भएको भन्दै चीनको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) विरूद्ध ल्याइएको एमसीसी सम्झौता संसद्बाट पारित गर्नु नेपाल छिमेकीविरूद्ध प्रयोग हुनु हो भन्नुभयो ।
केन्द्रीय सदस्य गोसाईले एमसीसीबारे नेकपा र नेपाली काङ्ग्रेसबीच मतैक्यता हुनुको अर्थ दुवै पार्टी एकै वर्गका हुन् भन्ने पुष्टि भएको भन्दै एमसीसी सम्झौता अनुमोदन नहुँदै कार्यालय स्थापना गरी कर्मचारी भर्नासमेत गर्नु गैरकानुनी हो भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य सनकमान महर्जनले महाकाली सन्धि गरी राष्ट्रघात गर्ने नेकपा (एमाले) ले एमसीसी सम्झौता गरी अर्को राष्ट्रघात गरेको बताउनुभयो । उहाँले लिम्पियाधुरा क्षेत्र आफ्नो सीमाभित्र पारी भारतले आफ्नो नक्सा सार्वजनिक गर्दा पनि नेपालले प्रतिवाद गर्न नसक्नु आत्मसमर्पणवादी चरित्र भएको भन्दै तत्काल भारतीय सेना कालापानीबाट हटाउन माग गर्नुभयो ।
नेमकिपा काठमाडौँ जिल्ला समितिका अध्यक्ष नारायण महर्जनले नेपालको सार्वभौमिकता रक्षा नै नेपाली जनताको पहिलो कर्तव्य भएको भन्दै अबको आन्दोलन साम्राज्यवादका दलाल पार्टीहरूविरूद्ध केन्द्रित हुने धारणा राख्नुभयो ।
नेमकिपा कीर्तिपुर नगर समितिका अध्यक्ष हरिकुमार महर्जनको सभापतित्वमा भएको कार्यक्रममा पार्टी जिल्ला सदस्य राजवीर डंगोलले साम्राज्यवादी अमेरिका र त्यसका दलालहरूविरूद्ध सङ्घर्ष गर्नुपर्ने विचार राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *