भर्खरै :

कोरोना भाइरस सङ्क्रमणबारे त्रास फैलाइनु गलत

– प्रतिभा महर्जन, काठमाडौँ
चीनको उहान सहरबाट प्रामाणिक रूपमा फैलिएको नयाँ कोरोना भाइरसबारे विश्वव्यापी सजगता देखिएको सकारात्मक नै हो । तर, यो भाइरसको सङ्क्रमण र फैलावटलाई लिएर जुन ढङ्गले बिनाआधारका जथाभावी प्रचार भइरहेका छन् त्यसले विश्वमै सोझासीधा सर्वसाधारण जनतामाझ त्रासको वातावरण सिर्जना गर्नेबाहेक केही गर्ने छैन । भाइरसविरूद्ध कुनै निश्चित खोप विकास नभइसकेको हुनाले भाइरस सङ्क्रमण नै हुन नदिन सचेत र सजग हुनु एउटा कुरा हो भने त्यसको डरले एक ठाउँबाट अर्को ठाउँमा भौतारिएर हिँड्नु त्रसित मानसिकता र केटाकेटीपन हो ।
कुनै भाइरस र रोगबारे जानकारहरूलाई थाहा भएकै कुरा हो, यस्ता भाइरसले सबैलाई प्रभावित गर्दैन । स्वस्थ र रोग प्रतिरोध क्षमता बलियो भएका मानिसलाई छुने गर्दैन भने अस्वस्थ र अन्य रोगले ग्रसितहरूलाई थप आक्रमणको रूपमा सङ्क्रमण हुने गर्दछ । भाइरसको सङ्क्रमणबाट बच्न सकेसम्म बढी प्रभावकारी विधिहरू उपयोग गर्नसक्छौँ । जस्तैः स्तरीय मेडिकल मास्कको प्रयोग । त्यतिमात्र गर्दा पनि स्वासप्रश्वासका माध्यमले सर्ने सम्भावना निकै कम गराउँछ ।
कोरोना भाइरस स्वासप्रश्वास अङ्गलाई प्रभावित बनाउने भाइरस हो । यस्तो भाइरस हाछ्युँ गर्दा वा थुक्दा बाहिरिने छिटामा हुन्छ । हावामा लामो समय तैरिन नसक्ने यी छिटा जुन सतहमा खस्छन् त्यहाँ लामो समय रहने हुन्छ । मास्कले भीडभाडमा गएको समयमा सङ्क्रमितसँग नजिकिएको अवस्थामा रोग सर्नबाट केही सुरक्षा दिने गर्छ तर भीडभाडमा सङ्क्रमितले रोगका किटाणु छाडेको हुन्छ जुन हामी हातले टिप्ने गर्छौँ । साबुन पानीले राम्ररी हात धुने कार्यमा ध्यान दिइयो भने हातबाट हुने रोगको विस्तार पनि रोकिन्छ । हात धुनेभन्दा केही मान्छे दिनमा कैयाँै पटक हात धोएको धोएकै गर्ने पनि हुन्छन् । तर कोरोना भाइरसको विस्तार रोक्न त्यति धेरै हात धुन पनि आवश्यक हुँदैन । विशेष विशेष अवसरमा राम्रोसँग हात धोएमा प्रकोप लाग्ने सम्भावना अत्यधिक कम हुन्छ । कोरोना भाइरस सङ्क्रमणबारे त्रास फैलाइनु गलत छ । त्रास फैलाइनुभन्दा सजगताका उपायबारे सिकाउनु भाइरस सङ्क्रमणलाई पराजित गर्न टेवा पु¥याउने उपाय साबित हुनसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *