भर्खरै :

ख्वप कलेजमा आन्तरिक खेलकुद प्रतियोगिता शुभारम्भ

भक्तपुर, १८ माघ । ख्वप माविको २० औँ, ख्वप कलेजको १८ औँ तथा शारदा क्याम्पसको २९ औँ वार्षिक उत्सवका अवसरमा विद्यालय÷कलेजमा हुने आन्तरिक खेलकुद प्रतियोगिताको शुभारम्भ शनिबार भयो ।
कलेज सञ्चालक समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले कार्यक्रम सफलताको कामना गर्दै अनुशासितरूपमा खेल खेल्न विद्यार्थीहरूलाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “खेलकुद शारीरिक र मानसिक विकासको निम्ति हुनुपर्छ । भक्तपुर नगरपालिकाले फागुन महिनामा अन्तर नगर खेलकुद प्रतियोगिता गर्दै छ ।”
हरेक उमेरका मानिसका लागि शारीरिक व्यायाम अनिवार्य भएको मान्यताअनुसार भक्तपुर नगरपालिकाले वडा वडामा व्यायामशालाहरू स्थापना गरेको प्रमुख प्रजापतिले बताउनुभयो ।
शारीरिक तथा मानसिकरूपले स्वस्थ र शिक्षित नागरिकले मात्र समाजलाई बदल्न सक्ने धारणा राख्दै उहाँले भन्नुभयो, “खेलकुदले मानिसलाई शारीरिक तथा मानसिकरुपमा स्वस्थ राख्न मद्दत गर्छ ।”
विद्यार्थीहरूले पढाइका अतिरिक्त समाज र देशलाई बदल्ने सोच राख्नु आवश्यक छ भन्दै उहाँले पुँजीवादी समाजले गरिब तथा कामदार वर्गको हित नगर्ने स्पष्ट पार्नुभयो ।
समाजमा व्याप्त अन्यायलाई हटाउन शिक्षक–विद्यार्थीहरूले योगदान गर्नुपर्नेमा प्रमुख प्रजापतिले जोड दिनुभयो ।
कलेजका प्राचार्य एवम् वार्षिक उत्सव समारोह समितिका संयोजक रूपक जोशीले वार्षिक उत्सवको अवसरमा हुने विविध गतिविधिहरूबारे जानकारी दिँदै कार्यक्रम सफल पार्न सबैमा आग्रह गर्नुभयो ।
अतिथि प्रजापतिले रेफ्रिहरूलाई बल हस्तान्तरण गरी प्रतियोगिता शुभारम्भ गर्नुभएको थियो ।
शनिबार फूटबल, ब्याडमिन्टन र भलिबलका खेलहरू सुरू भयो भने आइतबार टेबलटेनिस र चेस प्रतियोगिता सुरू हुनेछ ।
वार्षिक उत्सवकै क्रममा कलेजले अन्तरविद्यालय तथा कलेजस्तरीय बास्केटबल प्रतियोगिता पनि गरेको छ । बास्केटबलको फाइनल खेल आइतबार हुनेछ । प्रतियोगितामा विजयी विद्यार्थीहरूलाई माघ २२ गते हुने उद्घाटन कार्यक्रममा पुरस्कार वितरण गरिने प्राचार्य जोशीले जानकारी दिनुभयो ।
वार्षिक उत्सवकै अवसरमा कलेज÷विद्यालयले माघ २३ र २४ गते शैक्षिक प्रदर्शनी गर्दै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *