भर्खरै :

सुर्खेतमा पार्टी सम्मेलनको तयारी

सुर्खेत, १८ माघ । नेपाल मजदुर किसान पार्टी सुर्खेतको आठौँ जिल्ला सम्मेलन फागुन १७ र १८ गते सफल पार्न शनिबार वीरेन्द्रनगर–३ मा पार्टी कार्यकर्ता, समर्थक र शुभचिन्तकबीच भेटघाट कार्यक्रम भयो ।
नेपाल मजदुर किसान पार्टी आठौँ जिल्ला सम्मेलन तयारी समिति संयोजक हरिबहादुर बोहोराको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा अतिथि बोहोराले असल नागरिक तयार गर्न पार्टीले प्रशिक्षण दिएको चर्चा गर्दै समाजवादी गणतन्त्र प्रचार अभियानलाई निरन्तरता दिइरहने बताउनुभयो । उहाँले शोषण, अन्याय, अत्याचार हटाउन श्रमजीवी वर्ग एकजुट भई वर्गीय आन्दोलनमा लामबद्ध हुनुपर्ने बताउनुभयो ।
नेमकिपा सुर्खेतका सचिव धनेन्द्र विकले घरको जगमा भएको पत्थरलाई कसैले देख्दैन तर महल अडाउने महत्वपूर्ण भूमिका त्यही पत्थरको भएजस्तै समर्थक शुभचिन्तकले पार्टीलाई बचाउनुपर्छ भन्नुभयो ।
सम्मेलन सङ्गठन समितिका संयोजक प्रेम थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेक्राकिसङ्घ केन्द्रीय समितिका ऐनबहादुर शाही, नेक्राशिसङ्घ केन्द्रीय सदस्य इन्द्रप्रसाद न्यौपाने, नेक्रामहिलासङ्घ सुर्खेतका अध्यक्ष तुल्सी खड्का, नेमकिपा वीरेन्द्रनगर नगर समिति सचिव नीरकबहादुर शाही, सदस्य गणेश खड्का र शेरबहादुर शाहीले सम्मेलन सफल पार्न यस्ता भेला, भेटघाट र छलफल महत्वपूर्ण हुने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *