भर्खरै :

‘राष्ट्रपतिको भाषण झूटको पुलिन्दा’ भन्दै सभामुखले च्यातिन् ट्रम्पको भाषण

वासिङ्टन, २२ माघ (एपी) । अमेरिकी इतिहासमा संसद्को सभामुखले कुनै राष्ट्रपतिले संसद्मा गरेको वार्षिक सम्बोधन भाषण संसद्कै रोष्ट्रममा च्यातिदियो भन्ने कल्पनासम्म गर्न सकिन्न । तर यसपटक अमेरिकी कङ्ग्रेसकी सभामुख न्यान्सी पेलोसीले सबैलाई आश्चर्य पार्दै राष्ट्रपति ट्रम्पको भाषणको प्रति रोष्ट्रममै च्यातिदिनुभयो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कङ्ग्रेसमा “स्टेट अफ दी युनियन” नामको वार्षिक सम्बोधन भाषण समाप्त गरेलगत्तै सभामुख पेलोसीले ट्रम्पको भाषणको प्रतिलाई दुई टुक्रा पार्नुभएको थियो ।
यो घटना राष्ट्रपति ट्रम्पकै सामुन्ने भएको थियो । राष्ट्रपतिले भाषण समाप्त गरेर हिँड्न लाग्दा पेलोसीले उक्त कागज अरू तीन चार टुक्रा पार्नुभएको टेलिभिजन फुटेजमा देखिएको छ ।
उक्त घटनापछि संसद् भवन क्यापिटलमा संवाददातासँग कुरा गर्दै सभामुख पेलोसीले भन्नुभयो, “राष्ट्रपतिको भाषण झूटको पुलिन्दा हो ।” सभामुखले राष्ट्रपतिको सम्बोधन भाषणको कपी च्यात्ने कुनै पूर्व योजना नरहेको पेलोसीका निकटवर्तीले नाम नभन्ने सर्तमा बताएका छन् ।
रिपब्लिकन पार्टीका सांसदले भने सभामुखको रबैया निन्दनीय रहेको आरोप लगाउनुभयो ।
केही महिनाअघि अमेरिकी तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’ले राष्ट्रपति ट्रम्पले कङ्ग्रेसलाई बेवास्ता गरेको र न्यायमा अवरोध गरेको भन्दै महाभियोग प्रस्ताव पारित गरेको थियो । महाभियोग प्रस्ताव अहिले माथिल्लो सदन सिनेटमा विचाराधीन अवस्थामा छ ।
सिनेटमा रिपब्लीकन पार्टीको बहुमत रहेकोले राष्ट्रपति विरूद्धको महाभियोग प्रस्ताव पारित नहुने पक्का भइसकेको छ । रिपब्लिकन पार्टीले राष्ट्रपतिलाई पूर्ण समर्थन गर्ने जनाइसकेको छ ।
महाभियोगको प्रस्तावको सन्दर्भमा बुधवार वा बिहीवार सिनेटमा मतदान हुँदै छ । महाभियोग पारित हुन संसद्को दुईतिहाइ मत आवश्यक पर्दछ ।
राष्ट्रपतिले करिब ७८ मिनेट भाषण गर्नुभयो । राष्ट्रपतिको भाषणमा अमेरिकी विशिष्ट व्यक्तिका साथै भेनेजुएलाका विपक्षी नेता ह्वान ग्वाइडो पनि सहभागी हुनुहुन्थ्यो । राष्ट्रपति ट्रम्पले ग्वाइडोलाई भेनेजुयाली ‘राष्ट्रपति’ भन्दै सम्बोधन गर्नुभएको थियो ।
राष्ट्रपति ट्रम्पको सम्बोधनका क्रममा केही डेमोक्र्याट सांसद संसद् भवनमा उपस्थित हुनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *