भर्खरै :

ओमानसँग १८ रनले पराजित

काठमाडौँ, २२ माघ । विश्व कप लिग–२ क्रिकेटअन्तर्गत त्रिकोणात्मक शृङ्खलाको आफ्नो पहिलो खेलमा नेपालले ओमानसँग १८ रनको हार व्यहोरेको छ । १९८ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभर ५ बलमा १ सय ७९ रनमा सीमित भयो । नेपालका शरद भेषावाकरले सर्वाधिक ५५ रन जोड्नुभयो । विनोद भण्डारीले २६, दीपेन्द्रसिंह ऐरीले ३६ र सन्दीप लामिछानेले २८ रन जोड्नुभयो । ओमानका बलर जिसन मकसुदले ३ र खालीमुल्लाहले २ विकेट हात पार्नुभयो । बिलाल खान, मोहम्मद नदिम, खवर अली र अकिब इलियासको नाममा एक एक विकेट रह्यो । मकसुदले १० ओभरमा ३ मेडन राखेर ३० रनमात्र खर्चिनुभयो । नेपालका पारस खड्का ३, ज्ञानेन्द्र मल्ल १, आरिफ शेख ६ रनमा आउट हुनुभयो भने रोहित पौडेलले खाता खोल्न सक्नुभएन । शरद र विनोदले छैटौँ विकेटका लागि ४३ रनको साझेदारी गर्नुभयो ।
चार रन जोड्दा दुवै ओपनरलाई गुमाएको नेपालले तेस्रो विकेटका लागि ५९ रनको साझेदारी गरेको थियो । तेस्रो विकेटको रुपमा दीपेन्द्रसिंह ऐरी व्यक्तिगत ३६ रनमा आउट भएपछि नेपाल लगातार दबाबमा आएको हो । शरद र सन्दीपले आठौँ विकेटका लागि ३८ रनको साझेदारी गर्नुभएको थियो । नेपाललाई जितका लागि ३६ रन आवश्यक भएका बेला शरद आठौँ विकेटको रुपमा आउट हुनुभएको थियो ।
यसअघि टस हारेपछि पहिला ब्याटिङको जिम्मा पाएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर एक सय ९७ रन जोड्यो ।
ओमानका नदिमले अविजित ६९ रन जोड्नुभयो । सन्दीप गौडले ३३, नसिम खुसीले २८ र जिसन मकसुदले २० रन बनाउनुभयो । ५७ रन जोड्दा पाँच विकेट गुमाएको ओमानले छैटौँ विकेटका लागि ६० र आठौँ विकेटका लागि ४२ रनको साझेदारी गरेको थियो ।
नेपालका करण केसीले चार र सुसन भारीले ३ विकेट लिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *