भर्खरै :

उहानबाट आउने नेपालीलाई राख्न पहिले उचित व्यवस्था आवश्यक-अन्तर्वार्ता

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीसँग नेपालका विभिन्न सञ्चारमाध्यमले नोबल कोरोना भाइरसको महामारीको विषयमा लिएको अन्तर्वार्ताको सार सङ्क्षेप प्रस्तुत छ । चिनियाँ राजदूतावासको वेभसाइटमा अङ्ग्रेजीमा राखिएको सामग्री पाठकको जानकारीको लागि नेपालीमा अनुवाद गरिएको छ ः
चीनमा फैलिएको नयाँ कोरोना भाइरसबाट हुने निमोनियाको पछिल्लो अवस्था, त्यसको रोकथाम र नियन्त्रणको लागि चीन सरकारले चालेका कदमबारे बताइदिनुहुन्छ कि ?
अहिलेसम्म २४ देशका २० हजारभन्दा बढी मानिस नोबल कोरोना भाइरसबाट सङ्क्रमित भएको प्रमाणित भएको छ । चीनको विशेषतः उहान नगरपालिका र हुपेई प्रान्त यसको सङ्क्रमितबाट सबभन्दा बढी प्रभावित छ । महामारीको अवस्था अझै भयाह नै छ । यो महामारी अचानक फैलिएको हुनाले नयाँ भाइरस पत्ता लगाउने र यसबारे राम्ररी बुझ्ने जटिल प्रक्रिया छिचोल्न हामीलाई केही समयको खाँचो छ । पहिलो चरणमा उच्च सघन रोकथाम र नियन्त्रणको लागि औषधि र अन्य विशेष सामग्री जस्तै मास्क, सुरक्षा वस्त्र आदिको मनग्य व्यवस्था थिएन । त्यसमाथि यो महामारी चिनियाँ नयाँ वर्षको समयमा फैलियो । यो समयमा ३ अर्बभन्दा बढी मानिसले यात्रा गर्ने गरेको अनुमान छ । यात्रा गर्ने मान्छे धेरै हुँदा महामारी रोकथाम र नियन्त्रण गर्न जटिलता थपियो ।
चीन सरकारले चिनियाँ जनताको सुरक्षा र स्वास्थ्यलाई सधैँ उच्च प्राथमिकतामा राख्दै आएको छ । यो महामारी फैलिएलगत्तै राष्ट्रपति सी चिनफिङले रोकथाम र नियन्त्रण कार्यमा लगातार महत्वपूर्ण निर्देशन र सल्लाह दिइरहनुभएको छ । प्रधानमन्त्री लि खस्याङले नोबल कोरोना भाइरसको कारण फैलिएको निमोनियाको प्रतिकार गर्ने केन्द्रीय अगुवाइ समूहको नेतृत्व गरिरहनुभएको छ । उहाँले रोकथाम र नियन्त्रण कार्यको अनुगमन र मार्गनिर्देशनको लागि उहानमा भ्रमण गर्नुभएको छ । अहिले फैलिएको महामारीलाई दोस्रो श्रेणीको सङ्क्रामक रोगमा वर्गीकरण गरिएको भए पनि हामीले प्रथम श्रेणीको सङ्क्रामक रोग रोकथाम र नियन्त्रणको लागि पुग्ने सबै बन्दोबस्त गरेका छौँ । चीनका सबै ३१ वटै प्रान्तमा अति उच्च तहको जनस्वास्थ्य आकस्मिक बन्दोबस्त लागू गरिसकेको छ ।
हामी यतिबेला उपचारको लागि आवश्यक सामग्रीको उत्पादन क्षमता पुनःस्थापना र तिनको सही परिचालन गर्न सक्दो प्रयास गरिरहेका छौँ । हामीले सङ्क्रमित क्षेत्रमा व्यक्तिगत सुरक्षालाई जोड दिइरहेका छौँ । विशेषतः ती स्थानमा काम गरिरहेका स्वास्थ्यकर्मी र सङ्क्रमित मानिसलाई प्राथमिकता दिइरहेका छौँ । हामीले हुपेई प्रान्तमा कुल १ लाख ५० हजार विशेष सुरक्षा वस्त्र र १ लाख ३० हजार एन ९५ मास्क पठाइसकेका छौँ । उहानमा दस दिनभित्र हो शेनशान अस्पताल निर्माण गरिएको छ । यो अस्पताल पूर्ण सेवा सुविधा सम्पन्न अस्पताल हो । त्यहाँ बहिरङ्ग, अन्तरङ्ग, सघन उपचार कक्ष आदिको बन्दोबस्त गरिएको छ । त्यो अस्पतालले एक हजार बेडको सेवा दिन क्षमता राख्छ । उहानमा फेब्रुअरी ३ बाट तीन वटा घुम्ती अस्पतालको निर्माण कार्यले पनि तीव्रता लिएको छ । ती अस्पतालमा कुल ३ हजार ४ सय बेड छन् । उहान बाहेक अरू प्रान्तमा ८ हजारभन्दा बढी स्वास्थ्यकर्मीलाई ७० वटा समूहमा विभाजन गरी परिचालन गरिएको छ । साथै स्वास्थ्यकर्मीलाई सहयोग गर्न जनमुक्ति सेना पनि हुपेई प्रान्तमा परिचालन गरिएको छ ।

हो शेनशान अस्पताल


सबभन्दा कठिन र महत्वपूर्ण काम भनेको भाइरसको सङ्क्रमित रोक्नु नै हो । हामीले उहानलगायत अन्य क्षेत्रमा सवारी नियन्त्रण गरेका छौँ । सबै बृहत् स्तरका सार्वजनिक बैठक स्थगित गरेका छौँ । सवारी साधनभित्र स्वच्छ हावाको बन्दोबस्त, सरसफाइ र यात्रुको शरीरको तापक्रमलाई नियमित जाच्ने व्यवस्था गरेका छौँ । हामीले चिनियाँजनतालाई बाहिर जान कम गर्न र मास्क लगाएर हिंड्न आग्रह गरेका छौँ । अरू देशमा भाइरस सङ्क्रमित रोकियोस् भनेर हामीले धेरै सङ्ख्या पर्यटकको समूहको चीन भ्रमण स्थगित गरेका छौँ । साथै चिनियाँहरूलाई कहीँ विदेश यात्रामा ननिस्कन सुझाव दिएका छौँ । हामीले एउटा क्षेत्रलाई विभिन्न स–साना क्षेत्रमा विभाजन गरेर त्यहाँको जिम्मेवारी निश्चित व्यक्तिलाई तोक्ने र उसले नियमित रिपोर्टिङ गर्ने ‘ग्रीड स्टाइल म्यानेजमेन्ट’ र ‘ब्ल्यान्केट म्यानेजमेन्ट’ प्रणाली लागू गरेका छौँ । महामारीविरुद्ध पहिलो सुरक्षा रेखा कोर्न सामुदायिक तहको प्रशासनलाई पूर्ण परिचालन गरिएको छ । अहिले हरेक सहरका आवासीय समुदायले रोकथामका तरिकाहरू जस्तैः व्यक्तिगत विवरण दर्ता, शरीरको तापक्रम जाँच र दैनिक विशेष सरसफाइ (स्टेरिएलाइजेसन) गर्ने काम गरिरहेका छन् । कुनै पनि प्रशासनिक क्षेत्रमा कुनै नयाँ समस्या वा अवस्था सिर्जना भए त्यसबारे तत्काल जानकारी गराउने बन्दोबस्त गरिएको छ ।
रोगव्याधीविरुद्ध लड्न विज्ञान र प्रविधिको सहयोग आवश्यक पर्छ । चीनले सफलतापूर्वक नोबल कोरोना भाइरस पत्ता लगायो र रोग फैलिन सुरुको चरणमै विश्व स्वास्थ्य सङ्गठनलाई भाइरसको सम्पूर्ण अनुवंशिक विवरण उपलब्ध गरायौँ । यसले रोग नियन्त्रण, औषधिको विकास र रोग रोकथाम तथा नियन्त्रणमा अन्तर्राष्ट्रिय सहकार्यको लागि बलियो आधार तयार गरेको छ । हामी अहिले वैज्ञानिक अनुसन्धानलाई तीव्रता दिइरहेका छौँ । यो रोग विशेष औषधिको लागि वैज्ञानिक प्रयोग गरिरहेका छौँ । भाइरसको पहिचान र उपचारका विधिबारे नियमित सार्वजनिक गरिरहेका छौँ । साथै त्यसमा अद्यावधि पनि गरिरहेका छौँ । मानिसको उपचारको लागि त्यस्ता सामग्रीले निकै महत्वपूर्ण आधार प्रदान गरेको छ ।
चीन सरकारले चालेका कदम विश्व स्वास्थ्य सङ्गठनले दिएको सल्लाह र अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावलीका आवश्यकताभन्दा निकै अब्बल छन् । यसले चीन सरकारको पूर्ण पारदर्शी र जिम्मेवार भावनाको पूर्ण प्रदर्शन भएको छ । समग्रमा यी सबै कामले सकारात्मक परिणाम देखाइरहेको छ । सङ्क्रमित र सम्भावित सङ्क्रमितको सङ्ख्या क्रमशः घटेको छ । रोगबाट निको भएका मानिसको सङ्ख्या बढिरहेको छ । यसबाट यो रोग रोकथाम, नियन्त्रण र निको पार्न सकिने प्रमाणित भएको छ ।

नोबल कोरोना भाइरसविरुद्ध लड्ने चीनको पहलमा सहयोग गर्न केही देशले सहयोग र समर्थन गरेको छ । तर, यहीबीच केही देशले भने रुखो टिप्पणी पनि गरेका छन् । चिनियाँ यात्रुहरूमाथि रोक लगाएका छन् । यसबारे तपाईँ के भन्नुहुन्छ ?
सार्स, इबोला, एच १ एन १, जिका भाइरसजस्तै नोबल कोरोना भाइरस पनि अन्तर्राष्ट्रिय चासोको जनस्वास्थ्य सड्ढटकाल हो । चीनलगायत जति पनि देशमा यो भाइरस सङ्क्रमित भए, सबै यसबाट पीडित छन् । महामारी फैलिएयता चीनले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) र अन्तर्राष्ट्रिय समुदायसँग खुला, पारदर्शी र जिम्मेवारी तरिकाबाट सहकार्य बलियो बनाउँदै आएको छ । महामारीबारे जानकारी दिने, सूचना आदानप्रदान गर्ने, बाहिर जाने समूहगत यात्रा रोकेर, भन्सारको क्वारेन्टाइनको स्तरोन्नति गर्ने आदि काम गरेर हामीले सहकार्य बलियो बनाएका छौैँ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का महानिर्देशक डा. टेड्रोस अदानोम घेब्रियससले चीन सरकारले महामारी नियन्त्रण गर्न चालेका कदमको उच्च प्रशंसा गर्दै भनेका छन्, “डब्ल्युएचओ महामारी नियन्त्रणमा चीन सक्षम भएकोमा पूर्णतः विश्वस्त छ । कुनै अन्तर्राष्ट्रिय भ्रमणमा अनावश्यक हस्तक्षेप गर्नुपर्ने कुनै कारण छैन ।” अधिकांश देशले नोबल कोरोना भाइरसविरुद्ध लड्ने चीनको अग्रसरतालाई उच्च मूल्याड्ढन गर्नुका साथै बलियो समर्थन गरेका छन् । मानवीय भावनाका साथ जापानजस्तो विकसित देश, चीनको असल मित्र पाकिस्तान र संयुक्त राष्ट्र सङ्घीय बालबालिका कोषजस्ता केही अन्तर्राष्ट्रिय सङ्गठनहरूलगायत धेरै देश र अन्तर्राष्ट्रिय सङ्गठनले अत्यावश्यक महामारी रोकथाम र नियन्त्रणका सामग्री सहयोग गरेका छन् । विदेशी गैरसरकारी मित्र समूहहरूले पनि केही स्वयम्सेवी सहयोग गरेका छन् । सड्ढटको समयमा सहयोग गर्ने साथी नै वास्तवमा असल साथी हो । चिनियाँ जनताले ती सहयोग कदापि भुल्नेछैन् ।
महामारी रोक्न केही देशले आफ्नो सिमाना नाकामा क्वारेन्टाइन प्रणाली पेचिलो बनाएका छन् । हामी यसमा निहित भावना बुझ्छौँ र त्यो भावनाको सम्मान पनि गर्छौँ । तर, केही देशले अनुपयुक्त ढङ्गले अति प्रतिक्रिया जनाइरहेका छन् । त्यसो गर्नु विश्व स्वास्थ्य सङ्गठनको सल्लाहविपरीत हो । एकाध देशले महामारीलाई राजनीतीकरण गरे । चीनको खिल्ली उडाएर खुलमखुला हमला गरे । अझ महामारीलाई हाँसो र व्यङ्ग्यको विषयसमेत बनाए । यो पूर्णतः मानवीय सिद्धान्तविपरीत हो । चिनियाँ पक्ष दृढतापूर्वक यसको विपक्षमा उभिन्छ । स्वार्थी अहम्वादी र गैरजिम्मेवार हल्लाबाजहरूका यस्ता सङ्कीर्ण व्यवहारले पीडा बढाएको छ । उनीहरूको व्यवहारले अन्तर्राष्ट्रिय समुदायमा महामारीको रोकथाम र नियन्त्रणको काममा हानी पुगेको छ ।
मानिसलाई सही के हो र गलत के हो, थाहा छ । संसारभर न्याय हुनुपर्ने भावनाका साथ संसारभरका मानिसबाट प्राप्त हुने समर्थन र सहकार्यले हामी जस्तोसुकै कठिनाइ पनि सामना गर्नसक्ने, महामारी नियन्त्रण गर्नसक्ने र अन्तर्राष्ट्रिय जनस्वास्थ्य अवस्थामा सुधार गर्न योगदान गर्नसक्नेमा हामी विश्वस्त छौँ ।

महामारी रोकथाम र नियन्त्रण गर्न चीन र नेपालबीच कस्तो सहकार्य भएको छ ? के त्यसले चीन र नेपालबीचको सम्बन्ध र व्यापारमा कुनै प्रभाव पार्छ ?
नोबल कोरोना भाइरसको सङ्क्रमित फैलिएलगत्तै नेपालस्थित चिनियाँ राजदूतावासले तत्काल संस्कृति, पर्यटन तथा नागरिक उद्दायन मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत सरुवा रोग नियन्त्रण केन्द्र, परराष्ट्र मन्त्रालय र नेपालका अन्य सम्बन्धित विभागहरूमा सम्पर्क गरी महामारीको अवस्थाबारे जानकारी दिएका थियौँ । साथै नेपालमा रोग रोकथाम र नियन्त्रणको लागि निर्णय गर्न सहकार्य गरिरहेका छौँ । हाम्रो अन्तर्राष्ट्रिय दायित्व सक्रियतापूर्वक पूरा गर्न हामी नेपालका लागि विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिसँग नजिकको सम्पर्कमा छौँ । महामारीबारे सूचना आदानप्रदान गर्न र संयुक्त पहलमा महामारी रोकथाम र नियन्त्रण गर्न माथि भनिएका विभागहरूसँग संयुक्त कार्य समूह गठन गर्न नेपालका लागि चिनियाँ दूतावासले केही कर्मचारीलाई जिम्मेवारी दिएको छ ।
नेपालले विमानस्थलमा अनुगमन र क्वारेन्टाइन सेवा सुरु गरिसकेको हामीले जानकारी पाएका छौँ । साथै काठमाडौँ उपत्यका, चितवनलगायत केही स्थानमा कोरोना भाइरस सङ्क्रमित गरिएका मानिसको लागि केही अस्पतालमा अलग बन्दोबस्त, रोग पहिचान र उपचारको व्यवस्था गरिसकेको पनि जानकारी पाएका छौँ । मलाई सबभन्दा खुसी छ, कोरोना भाइरस सङ्क्रमित एक जना नेपाली बिरामीको पनि उपचार भएको र अस्पतालबाट घर फर्किसकेका छन् ।

यदि नेपाली पक्षले आफ्ना नागरिकलाई फिर्ता ल्याउनेमा जोड दिए नेपालका सम्बन्धित विभागलाई विमानस्थल क्वारेन्टाइन, महामारी रोकथाम र नियन्त्रण आदि विषयमा तयारी अवस्थामा रहन आवश्यक छ । साथै महामारी फैलिनबाट रोक्न नेपालका लागि विश्व स्वास्थ्य सङ्गठनको प्रतिनिधिसँग सल्लाह गर्नु उपयुक्त हुन्छ ।

महामारी फैलिन नदिन चीन सरकारले जिम्मेवारीपूर्वक चिनियाँ ट्राभल एजेन्सीहरूलाई जनवरी २६ देखि नै चीनबाहिर भ्रमण गर्ने चिनियाँहरूको टोली बनाउन रोक्न आग्रह गरिसकेको छ । जिलोङ–रसुवा बन्दरगाह र झाङ्मु–कोदारी बन्दरगाहमा सडकको अवस्था र महामारी रोकथाम तथा नियन्त्रणको लागि आवश्यक नियन्त्रण र रोकथामको काम थालिसकेको छ । यात्रुको सङ्ख्या कम भएकोले केही विमानसेवा कम्पनीले केही उडान स्थगित गरेका छन् । दुवै देशका जनताको सुरक्षाको लागि यो कदम चाल्न आवश्यक थियो । यसले चीन र नेपालबीचको जनस्तरको भ्रमण र व्यापारमा केही असर पार्नेछ । तर, यस्ता समस्या क्षणिक मात्र हुन् । मलाई विश्वास छ, यो महामारी नियन्त्रणमा आइसकेपछि दुई देशबीचको व्यापार र जनस्तरको आवतजावत पहिलेजस्तै चालू हुनेछ ।
नेपाल सरकारले विमान भाडामा लिएर उहानमा रहेका नेपाली नागरिकलाई उद्धार गर्ने योजना रहेको बताइएको छ । यो विषयमा तपार्इँको के टिप्पणी छ ?
चीनमा रहेका विदेशी नागरिक महामारी प्रभावित नहोस् भन्नेमा चिनियाँ पक्षले ध्यान दिएको छ । चीनमा रहेका नेपालीको स्वास्थ्य राम्रो छ । अहिलेसम्म कोही पनि नेपाली कोरोना भाइरसबाट सङ्क्रमित भएको खबर छैन । चीनको विदेश मन्त्रालयको सम्बन्धित विभागले उहानमा नेपाली विद्यार्थीका समस्या समाधान गर्न चीनस्थित नेपाली राजदूतावासलाई नजिकको सम्पर्कमा राखेको छ । हुपेई प्रान्त, उहान नगरपालिका र सम्बन्धित विश्वविद्यालयको विदेश मामिला कार्यालयले पनि त्यहाँ रहेका विद्यार्थीलाई सक्दो बन्दोबस्तीको सहायता गरिरहेका छन् । महामारी नियन्त्रण र रोकथामको लागि केही व्यक्तिको दैनिक जीवनमा केही रोकावट हुनु निकै जायज र सामान्य कुरा हो । पछिल्लो समयमा केही सञ्चारमाध्यमले चीनमा रहेका नेपालीलाई चीन छोड्न रोक लगाएको जस्ता समाचार पनि आए । जहाँसम्म मलाई थाहा छ, विमानस्थलमा उनीहरूको तापक्रम औसतभन्दा बढी भएकोले स्वास्थ्य र सुरक्षालाई ध्यानमा राखी उनीहरूको देश फिर्ती केही समयको लागि पछाडि सार्नुपरेको हो । उनीहरू र अरुको पनि स्वास्थ्य रक्षाको लागि यो कदम आवश्यक थियो । यो अन्तर्राष्ट्रिय अभ्यास पनि हो ।
कोरोना भाइरसको महामारी फैलिएपछि सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी र सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले महामारी सङ्क्रमित रोक्न चीनले गरिरहेको प्रयासको प्रशंसा गर्दै चीनमा रहेका चिनियाँ नागरिकको ख्याल गरिरहेकोमा चीन सरकारप्रति आभार व्यक्त गर्दै पत्र पठाउनुभयो । नेपालका अधिकांश मानिस र मिडियाले महामारी र चीनमा भइरहेको रोकथाम र नियन्त्रण प्रक्रियाप्रति वस्तुगत, तर्कपूर्ण र धैर्यतापूर्ण सोच राखेका छन् । यसले महामारीविरुद्धको लडाइँमा चीनप्रति नेपालको विश्वास र समर्थन पूर्णतः देखिएको छ । हामी यसबाट निकै उत्साहित र आभारी छौँ ।
उहानमा रहेका नेपाली नागरिकलाई देश फिर्ता गर्ने नेपाल सरकारको योजनाबारे हामीले पनि जानकारी पायौँ । यो विषयलाई चिनियाँ पक्षले महत्व दिएको छ र कूटनीतिक माध्यमबाट नेपाली पक्षसँग हामी सम्पर्कमा छौँ । महामारी फैलिनबाट रोक्नु अन्तर्राष्ट्रिय समुदायको साझा जिम्मेवारी हो । यदि नेपाली पक्षले आफ्ना नागरिकलाई फिर्ता ल्याउनेमा जोड दिए नेपालका सम्बन्धित विभागलाई विमानस्थल क्वारेन्टाइन, महामारी रोकथाम र नियन्त्रण आदि विषयमा तयारी अवस्थामा रहन आवश्यक छ । साथै महामारी फैलिनबाट रोक्न नेपालका लागि विश्व स्वास्थ्य सङ्गठनको प्रतिनिधिसँग सल्लाह गर्नु उपयुक्त हुन्छ ।
नेपाली अनुवाद ः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *