भर्खरै :

उहानबाट फर्केकालाई राख्न चार ठाउँको प्रस्ताव

काठमाडौँ, २३ माघ । सरकारले चीनको उहान प्रान्तबाट फर्केका नेपाली विद्यार्थी र नागरिकलाई चार स्थानमा राख्ने तयारी गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको विशेष बैठकमा काठमाडौँ उपत्यकाका शिवपुरी, इचङ्गुनारायण, सूर्यविनायक र खरिपाटीमा राख्न तयारी गर्ने निक्र्योल गरेको बताइएको छ ।
ती स्थानमा क्वारेन्टाइन स्थल व्यवस्थित गरी राख्ने सरकारले तयारी गरेको हो । उहानबाट फर्काइएका नेपालीलाई १४ दिनसम्म अलग–अलग रूपमा ती ठाउँहरूमा राखिने जनाइएको छ ।
चीनमा कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि त्यहाँका १८० नेपाली विद्यार्थीले स्वदेश फर्किन चीनस्थित नेपाली दूतावासमा निवेदन दिइसकेका छन् । सरकारले निवेदन दिएका विद्यार्थीलाई चाँडै नै नेपाल ल्याउनको लागि पहल गरिरहेको छ ।
चीनबाट आउँदा चीनको विमानस्थलमा स्वास्थ्य परीक्षण हुने, त्यहाँबाट नेपाल आउने यात्रुको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण गरी सङ्क्रमित यात्रुलाई उपत्यकाको ती चार स्थानको ‘आइसोलेसन वार्ड’मा राखी उपचार गरिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । सङ्क्रमितबाहेक अन्यलाई दुई हप्ता निगरानीको लागि छुट्टै स्थान (क्वारेन्टइन) मा राखिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *