चीनका फैलिएको कोरोना भाइरसको प्रभाव नेपालमा पनि परेको छ । केही दिन यता उहानमा रहेका नेपालीहरूलाई स्वदेशमा फिर्ता गर्ने–नगर्ने बहसलाई अधिकांश सञ्चारमाध्यमले प्राथमिकता दिए । संवदेनशील विषयमा छलफल र बहस हुनु स्वाभाविक हो । उहानबाट फर्काएर उनीहरूलाई कम्तीमा चौध दिन अलग परीक्षणमा राखिनुपर्छ । त्यसको निम्ति नेपाल सरकारले कहाँ बन्दोबस्त गर्ने ? सरकारले प्रस्ताव गरेका स्थानमा के त्यसको निम्ति उपयुक्त पूर्वाधार छ ? आदि धेरै प्रश्नबारे छलफल जारी छ । यस्तै छलफल र बहसमा एक जना जिम्मेवार राजनीतिक नेतृत्वको नाताले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले आफ्ना धारणा विभिन्न सार्वजनिक कार्यक्रममार्फत जनतासमक्ष राख्नुभएको छ । केही सञ्चारमाध्यमले भने अध्यक्ष बिजुक्छेंको भनाइ बेप्रसङ्गा प्रस्तुत गरेका छन् र त्यस्ता समाचारका आधारमा सामाजिक सञ्जालमा विभिन्न व्यक्तित्वले विभिन्न कोणबाट अभिव्यक्ति दिएका छन् । यसै सन्दर्भमा पाठकलाई अध्यक्ष बिजुक्छेँका विचार अझ प्रस्ट होस् भनी मजदुर दैनिकले उहाँसमक्ष केही प्रश्न राखेका छौँ । प्रस्तुत छ, अध्यक्ष बिजुक्छेंको विचारः

अध्यक्षज्यू, छिमेकी देश चीन यतिबेला कोरोना भाइरसको सङ्कटमा छ । यस्तो परिस्थितिमा चिनियाँ जनताप्रति तपाईँ के भन्नुहुन्छ ?
नेपाली र चिनियाँ जनता सुख र दुःखमा सदा साथै रहने गरेका छन् । कोरोना भाइरस भन्ने ज्वरो, खोकी र सास फेर्न गाह्रो तथा सङ्क्रमण हुने रोगको सङ्क्रमण रुोकथाम गर्न चिनियाँ कम्युनिस्ट पार्टी, चीन सरकार र चिनियाँ जनताले युद्धस्तरमै काम गरिरहेको बेला हामी नेपाली जनताले चिनियाँ जनतासँग ऐक्यबद्धता जाहेर गर्नु आवश्यक छ । छिमेकीको यो एक धर्म र व्यवहार पनि हो !

नेपाल क्रान्तिकारी किसान सङ्घको सम्मेलनमा तपाईंले संरा अमेरिकाले चीनमा कोरोना भाइरसको सङ्क्रमण फैलाएको हुनसक्ने शड्ढा गर्नुभयो । के वास्तवमै यो सङ्क्रमण चीनविरुद्ध जैविक वा कीटाणु युद्ध हुनसक्छ ?
संरा अमेरिकाप्रति आलोचनात्मक दृष्टिकोण राख्न आवश्यक छ ।

संरा अमेरिकाले विगतमा पनि यस्ता जैविक, रसायनिक र कीटाणु युद्ध गरेको थियो । त्यसबारे केही बताइदिनुहुन्छ कि ?
संरा अमेरिकाले कोरिया युद्ध (१९५०–५३) मा कीटाणु युद्ध गरेको थियो । भियतनाम युद्धमा रसायनिक युद्ध गरेकोले त्यसको असर अहिलेसम्म भइरहेको संसारकै प्रचारमाध्यमले बताउँदै आएको विषय हो । संरा अमेरिकाले हिरोसिमा र नागासाकीमा अणुबम खसालेको थियो । त्यसको क्षति र असरबारे सारा संसारका सचेत जनता जानकार नै छन् । साथै बेलायती उपनिवेशवादले अमेरिकी आदिवासीहरूको आवाद जग्गा र गाउँ कब्जा गर्न बिफरका कीटाणु भएका लुगा गाउँको नजिक राखिदिने र ती लुगा गाउँलेहरूले प्रयोग गर्दा तिनीहरू मर्थे र पछि ती ठाउँ उपनिवेशवादीहरूले आफ्नो बनाउँथे । यो त इतिहासले बताएकै विषय हो । इराकको युद्धमा पनि संरा अमेरिकाले रसायनिक हतियार प्रयोग गरेको समाचारमा आएकै हो । यसकारण संरा अमेरिकी साम्राज्यवादका केही गतिविधिबारे आलोचनात्मक दृष्टिकोण राख्नु र सचेत हुनु नराम्रो विषय होइन ।

 

संरा अमेरिकाको दुई सय वर्ष लामो इतिहासमा उसले कुन–कुन देशमा हमला ग¥यो, उपनिवेश बनायो र संसारमा उसका कतिवटा सैन्य अखडा छन् र किन भन्ने प्रश्नको उत्तरले सबै प्रस्ट हुन्छ । बन्दुक फूलदानको गुलाब होइन ।

 

केही लेखक र बुद्धिजीवीहरू (जसमा आफूलाई वामपन्थी र प्रगतिशील भन्न रुचाउनेहरू पनि छन्) ले कोरोना भाइरसको सङ्क्रमणमा सम्भावित साम्राज्यवादी संलग्नताबारे तपार्इंको टिप्पणीलाई हाँसोमा उडाए । उनीहरूलाई के भन्नुहुन्छ ?
संरा अमेरिकी साम्राज्यवादीले अब युद्ध गर्ने छैन र अब ऊ बुद्ध बन्यो भन्ने भ्रम पाल्नु आफैँमाथि धोका दिनुहुने छ । नेपालमा अहिले एमसीसीबारे छलफल हुँदै छ, गल्तीले पनि त्यसमा नेपालले हस्ताक्षर गरेमा हिन्द–प्रशान्त रणनीतिक सैन्य गठबन्धनमा फस्ने निश्चित छ । संरा अमेरिकाको दुई सय वर्ष लामो इतिहासमा उसले कुन–कुन देशमा हमला ग¥यो, उपनिवेश बनायो र संसारमा उसका कतिवटा सैन्य अखडा छन् र किन भन्ने प्रश्नको उत्तरले सबै प्रस्ट हुन्छ । बन्दुक फूलदानको गुलाब होइन ।
हिजोका ‘कम्युनिस्ट’ र ‘प्रगतिशील’ आज कहाँ–कहाँ पुगे ? मैले बताइरहनुपर्दैन सबैलाई थाहा छ । सचेत व्यक्तिले विचार फेर्दैनन्, दृष्टिकोण उमेरले निर्धारण गरेको हुँदैन ।

कोरोना भाइरस पहिलोपटक देखिएको र अहिले सङ्क्रमण सघन बनेको हुपेई प्रान्तमा रहेका नेपाली वद्यार्थीलाई नेपाल फिर्ता ल्याउने चर्चा छ । के भन्नुहुन्छ ?
फिर्ता ल्याउनुभन्दा पहिले नेपालमा सम्बन्धित चिकित्सकहरूको बैठक र छलफल आवश्यक छ । सुरक्षित र सङ्क्रमण नहुने किसिमले राख्न सकिने ठाउँ कहाँ छन् ? त्यसबारे पनि सबै सचेत हुनैपर्छ । यसबारे अलिकति तलमाथि भयो भने पछुताउने काम हामीले गर्नुहुन्न । सरकारका कामको हामी जनता भुक्तभोगी छौँ ।
सरकारले उहानबाट फर्काइएका नेपालीलाई क्वारेन्टाइनमा राख्न चार स्थानको निधो गरेको प्रकाशमा आएको छ । ती चारै स्थान काठमाडौँ उपत्यकाभित्रै छन् । तपाईंले उपत्यकाभित्र ती केन्द्र राख्न नहुने भन्नुभयो । किन ?
भक्तपुरका सरकारी अस्पतालमा सघन उपचार कक्ष -ICU नहुँदा हाम्रा कति मानिसहरू सवारी जाममै मरे, सघन उपचार कक्ष भएका अस्पतालहरूमा पुग्नै पाएनन् । अनेक उपचारको विषयमा बारम्बार विवाद र ढुङ्गामुढा भएको हामी सुन्छौँ, हेर्छाैँ र भोग्दै छौँ ।
सघन उपचार कक्षमा मन्त्रीपत्नीलाई भित्र पस्न मनाही हुँदा तुरुन्त नर्स र डाक्टरहरूलाई सरुवा गर्ने धम्की व्यहोरेका घटनाहरू हामीले सुनेकै छौँ । सरकारमा यस्ता पदाधिकारीहरूको भरमा हामी नेपालीले विज्ञहरूसँग सल्लाह र उचित ठाउँको बन्दोबस्तपछि मात्रै निर्णय गर्नु उचित हुनेछ ।

उपत्यकाबाहिर पनि जनता छन् । उपत्यकाबाहिर क्वारेन्टाइन राख्दा के त्यहाँ सङ्क्रमणको भय हुन्न ?
नेपालको जुनसुकै ठाउँमा राखे पनि सहर बस्तीभन्दा टाढै राख्नु उचित हुन्छ । वीर अस्पताल, पाटन अस्पताल र भक्तपुर अस्पताल पनि पहिले बस्ती नजिक थिएनन् । यसबारे विशेषज्ञहरूबीच छलफल गर्नु आवश्यक छ ।

एउटा अनलाइनले स्वास्थ्य मन्त्रालयको कर्मचारीको भनाइ भन्दै भक्तपुरमा क्वारेन्टाइन राख्न नदिन तपाईंले स्वास्थ्य मन्त्रालयमा फोन गरेको भन्ने समाचार प्रकाशित ग¥यो । के यो सत्य हो ?
यो पूर्णरूपले असत्य हो । मैले सरकारलाई दिने सल्लाह सार्वजनिकरूपमै भन्दै आएको छु ।
यहाँ झूटा कुरा गर्ने र हल्ला फैलाउनेहरूको कमी छैन । प्रवेशिका परीक्षाको प्रश्नपत्रहरू बाहिरिँदा सम्बन्धित जिम्मेवार व्यक्तिले बयान दिएका रहेछन्, “भक्तपुरको नारायणमान बिजुक्छेँले भनेको मानिस (सायद पियन हुनुपर्छ) लाई राखेको थिएँ, उसैले प्रश्नपत्र बाहिर पठायो ।”
आयोग वा जाँचबुझ समिति त्यस बयानसँग सहमत थिएन । तर, हेटौँडामा भएको शिक्षा अधिकारीहरूको बैठकमा ‘परीक्षा’ सम्बन्धी जिम्मेवार व्यक्तिले फेरि त्यहीँ कुरा दोहो¥याउँदा २–४ वर्ष भक्तपुरको जिल्ला शिक्षा कार्यालयमा जिल्ला शिक्षा अधिकारीको पद सम्हालेका व्यक्तिहरूले त्यस आरोपको खण्डन गरेको बारे सुनेको थिएँ ।
परीक्षा बाहिर पठाएको भनिएको भक्तपुर कटुञ्जेको त्यो व्यक्तिबारे मैले सोध्दा थाहा भयो, हाकिम साहेबहरूले नै त्यस युवालाई फसाएका रहेछन् । तर, आजसम्म त्यस युवासँग मेरो भेट भएको छैन ।

सम्भवतः अख्तियारले भ्रष्टाचारका मुद्दामा ठूलाबडालाई तान्दै छ । भ्रष्टाचारको कारबाहीबारे ध्यान अन्तै मोड्नमात्रै मलाई तान्न खोजेको अनुमान गर्छु ।

यस्ता हल्ला स्वास्थ्य मन्त्रालयको एकजना कर्मचारीबारे सुनेको थिएँ । एकजना डाक्टरको सरुवामा मैले अस्वीकार गरेकोले भएन भनी एक बुद्धिजीवी साथीले भन्दा मलाई आश्चर्य लाग्यो । त्यो नाउँको व्यक्तिसँग मेरो कहिल्यै भेट भएको छैन, ऊ आफूलाई भक्तपुरको भन्नेरहेछ । २५ वर्षको अवधिमा म सम्भवतः दुई पटक स्वास्थ्य मन्त्रालय गएको छु, तत्कालीन मन्त्रीहरूसँग भेट्न । भक्तपुर अस्पतालबारे कुरा गर्न । बल्ल एकपटक डा. रामवरण यादवसँग भेट भयो । सो भेट पछि भक्तपुर अस्पतालमा उहाँले आकस्मिक निरीक्षण गर्नुभयो । त्यसबेला डा. यादवले भन्नुभयो, “बेवास्ता भएको रहेछ ।” डा. यादव नै पछि राष्ट्रपति हुनुभयो ।

तपाईंकै नाम जोडेर एउटा अखबारले नेपाली विद्यार्थीप्रति ‘असहिष्णु’ बनेको भनी लेख्यो । वास्तविकता के हो ?
चीनमा मेरो छोरा–छोरी नपढे पनि, मेरा आफन्तका छोरा–छोरी पढेका होलान् । मैले गलत कुरा गरेको रहेछु भने तिनीहरूप्रति पनि त्यो भनाइ लागू हुन्छ ।
प्रश्न संवेदनशीलता वा ‘सहिष्णुता’ को होइन, बरू हामीले यहाँ हाम्रा विद्यार्थीहरूको उचित उपचार दिनसक्छौँ कि सक्दैनौँ भन्ने हो । पछि अस्पताल वा उपचार गर्ने ठाउँमा ढुङ्गामुढा गरेरमात्र हाम्रा मानिसहरूको स्वास्थ्य राम्रो होला या नहोला भन्ने प्रश्न हो ।
म सम्झन्छु, ढुङ्गाामुढा गरेर वा कसैलाई आरोप लगाएर समस्या समाधान हुँदैन । बरू हामीले हाम्रै सरकारको क्षमताबारे ध्यान देऔँ ! पछुताउने काम गलत हुन्छ । हाम्रो सरकारलाई जिम्मेवार बनाउनु आवश्यक छ । यस्तै गम्भीर र संवेदनशील विषय भोलि पनि आउनसक्छ । भोलिको निम्ति पनि सरकार जिम्मेवार हुनु आवश्यक छ ।

अन्त्यमा भन्नुपर्ने केही कुरा छन् कि ?
सम्भवतः अख्तियारले भ्रष्टाचारका मुद्दामा ठूलाबडालाई तान्दै छ । भ्रष्टाचारको कारबाहीबारे ध्यान अन्तै मोड्नमात्रै मलाई तान्न खोजेको अनुमान गर्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *