भर्खरै :

फूटबल ः आर्मी शीर्ष स्थानमा उक्लियो

काठमाडौँ, २८ माघ । विभागीय टोली त्रिभुवन आर्मी क्लबले ब्रिगेड ब्वाइज क्लबलाई पराजित गर्दै सहिद स्मारक ‘ए’ डिभिजन लिग फूटबलको शीर्ष स्थानमा उक्लिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मङ्गलबार भएको खेलमा आर्मीले ब्रिगेड ब्वाइज क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो ।
आर्मीको जीतमा कप्तान भरत खवास, विकास तामाङ र टेकबहादुर बुढाथोकीले एक–एक गोल गरे । खेलको पाँचौँ मिनेटमा कप्तान भरतले गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाए । यस गोलसँगै नेपाली राष्ट्रिय टोलीका ‘फरवार्ड’ समेत रहेका भरतले नेपाली फूटबलकै माथिल्लो श्रेणीको ‘ए’ डिभिजन लिगमा ५० गोल पूरा गरेका छन् ।
त्यसैगरी खेलको ५४ औँ मिनेटमा विकासले गोल गर्दै आर्मीलाई दोस्रो अग्रता दिलाए । त्यसपछि खेलको ७० औँ मिनेटमा टेकबहादुरले गोल गर्दै आर्मीलाई ३–० को सहज जीत दिलाए । जीतसँगै आर्मीले शीर्ष स्थानमा एक अङ्कको अग्रता बनाएको छ । आर्मीले १२ खेलमा २९ अङ्क जोडेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको मच्छिन्द्रको २८ अङ्क रहेको छ । आठ अङ्क रहेको ब्रिगेड १२ औँ स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *