सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
नरेन्द्र
जीवनसँग जोडिएको संस्था
हाम्रो समाजमा जनताको जीवनसँग जोडिएका विभिन्न सङ्घ संस्था क्रियाशील छन् । समाजसँग प्रत्यक्ष सम्बन्धमा सञ्चालन हुने ती संस्थामध्ये सहकारी अग्रपङ्तिमा आउँछ । सहकारी आजको समाजको साथी हो । सारथी हो र सहयात्री हो । साथै, सहकारी अब विपन्न तथा कमजोरको सहारा र आपत्विपत्को सहयोगी हुन आवश्यक छ ।
सहकारी समाजको आर्थिक अवयवमात्र नभई सामाजिक गतिविधिको दबु पनि हो । समाजको आर्थिक उन्नयन सँगसँगै सांस्कृतिक परिवर्तनसँग पनि जोडिएको हुनाले सहकारीको महत्ता अझ बढेको हो भन्दा अतियुक्ति नहोला ! समुदायका सदस्यहरूको दैनिक जीवनमा आउने उतार–चढाव, सुख–दुःख आदिमा समेत सहकारी प्रत्यक्ष–परोक्ष सहभागी हुने भएकोले यो जीवन्त सामाजिक संस्था हो । यस अर्थमा सहकारीका सञ्चालक गम्भीर, जिम्मेवार तथा जनताप्रति जवाफदेही हुन आवश्यक छ । कुनैपनि किसिमका हेलचेक्र्याइँ वा खेलबाड गर्ने छुट छैन ।
सहकारीको कार्यशैलीबारे
सहकारी समुदायको साझा संस्था हो । यसका हरेक कार्य समाजको निम्ति हितकारी, अनुकरणीय एवम् उदाहरणीय बन्नैपर्छ । जसरी हामीले सहकारीको भवन, कार्यकक्षलाई मौलिक रूप दिने, आफ्नोपन झल्काउने र कलात्मक बनाउने प्रयत्न ग¥यौँ, त्यसरी नै कार्यशैलीमा पनि परिमार्जन ल्याउने र विशिष्ट गुण दिनेबारे सचेत रह्यौँ भने हामी जनताको मनमा बस्न सक्नेछौँ । सहकारी स्वयम्ले मितव्ययिताको उत्कृष्ट नमूना पेश गर्नुपर्छ । फजूल खर्च रोक्नैपर्छ । विभिन्न बहाना बनाई भोज–भतेर खाने, खानपिनमा बेपर्वाह खर्च गर्ने र बेप्रसङ्गमा घुमफिर गर्ने काम घटाउँदै लानु स्वयम् सहकारीको लागि लाभदायी हुनेमा कुनै शङ्का छैन ।
साधारणसभा या विविध कार्यक्रममा भड्किलो शैलीमा खर्च गर्नु प्रत्युत्पादक नै हुन्छ । महँगा – महँगा उपहार, खरीद गरिएका ठूला ‘बुके’, फूलमालाको बन्दोवस्त, विदेशमा उत्पादित सामानको खरीद कति आवश्यक, कति उपयुक्त ! छलफल आवश्यक छ । रङ्गीबिरङ्गी स्मारिका त निकाल्छौँ, भित्र संस्थाको हिसाब–किताब र फोटो बाहेक केही नहुने ! साहित्य, समसामयिक रचना, जानकारीमूलक लेख प्रकाशित गरी ‘स्मारिका’ पठनीय एवम् सङ्ग्रहणीय बनाउनतिर किन ध्यान पुगेन ?
जनतामा अन्धविश्वासको भावना फैलिने गतिविधि सहकारीबाट कदापि हुनुहुँदैन । के गर्दा अन्धविश्वास, अन्ध–नक्कल, अन्ध–परम्परा घटाउन सकिन्छ र समाजलाई अहित हुने काम रोक्न सकिन्छ ? हाम्रो व्यवहार, गतिविधि तथा कार्यशैली त्यतातर्फ उन्मुख भए सहकारीकर्मीप्रति जनताको विश्वास अझ जाग्नेछ र क्रमशः बढ्नेछ । सामाजिक विकृति, विसङ्गतिविरुद्ध पाइला चाल्ने सहकारीमात्र समाजको वास्तविक सारथी बन्न सक्नेछन् ।
जुन विचार, व्यवहार र कार्यका कारण हाम्रो समाज पछाडि प¥यो त्यसैलाई पछ्याउनु पक्कै पनि बुद्धिमानी हुने छैन । आधुनिक ज्ञान–विज्ञानको प्रचार गरी आफ्ना सदस्य र आफ्नो समुदायलाई शिक्षित बनाउनु सहकारीको कर्तव्य हो । हाम्रा दिदी–बहिनीलाई बौद्धिक कार्य तथा गतिविधिमा पनि अग्रसर बनाउन क्रमशः प्रयत्न अगाडि बढाउनुपर्ने देखिन्छ । छोरा–छोरीहरूलाई पनि सामूहिक गतिविधि तथा सामाजिक कार्यमा लाग्न प्रोत्साहन दिनुपर्ने देखिन्छ । आजको सन्दर्भमा यही नै दूर–दृष्टि हो । समाज सेवाको उपाय हो । समाज विकासमा उदाहरणीय देन हो ।
सहकारीको थप जिम्मेवारी
सहकारीले आफ्ना सदस्य तथा समुदायलाई हरेक पटक अङ्कमा मात्र फाइदा दिनुपर्छ भन्ने होइन । ‘क्याल्कुलेटर’ ले देखाउन नसक्ने र ‘चेक बुक’ बाट दिन नमिल्ने कुरा जब हामी दिन्छौँ तब हामी गौरवको अनुभव गर्ने अवसर पाउँछौँ । ‘क्याल्कुलेटर’ र ‘चेक बुक’ भन्दा निकै माथि पुग्न सक्यौँ भने हाम्रो मन आनन्द र आत्मसन्तुष्टिले भरिपूर्ण हुनेछ । समाजका साधक, स्रष्टा, कवि, कलाकार, शिक्षाकर्मी, राजनीतिक–सामाजिक कार्यकर्ता जसले आ–आफ्नो जीवन त्यस क्षेत्रमा निःस्वार्थपूर्वक समर्पण गरी समाजको नाम चम्काए या माथि उठाए, तिनको यथोचित सम्मान सहकारीको तर्फबाट पनि हुन आवश्यक छ ।
विशिष्ट योगदानको कदर गर्नु पनि सामाजिक उत्तरदायित्व नै हो । तिनलाई सहयोग गर्ने, तिनका कृति, कीर्ति नयाँ पुस्ताबीच पनि पु¥याउने, तिनको योगदानको चर्चा–परिचर्चा गरी समाजको उत्साह बढाउने, ऊर्जा प्रदान गर्ने र पथ प्रदर्शन गर्ने कार्य क्रमशः अगाडि बढाउन आवश्यक छ । संस्थाका ‘असल नियमित बचतकर्ता’, ‘असल ऋणी’ सम्म मात्र दृष्टि नपु¥याई समाज उत्थानका अगुवा, समुदायका बहुमूल्य नीधिलाई समेत देख्न सक्ने उचाइ हामीले हासिल ग¥यौँ भने र त्यस्तो फराकिलो सोच देखाउन सक्यौँ भने हाम्रो समाज वास्तवमै सभ्य कहलिनेछ ।
राज्यले या कोही–कसैले ‘मौनतामा मार्न’ खोजेका व्यक्ति–व्यक्तित्वलाई सगौरव उजिल्याउँदा इज्जत सबैको बढ्नेछ । हामीले आफू स्वयम्लाई चिन्ने अवसर पाउनेछौँ । जनताको पक्षमा लेखिएका साहित्यको प्रकाशन गर्ने, प्रकाशनमा सहयोग पु¥याउने या त्यस्ता साहित्यबारे छलफल, प्रचार–प्रसार गर्नेजस्ता बौद्धिक कर्म गरेर समाजको सांस्कृतिक परिवर्तनमा योगदान पु¥याउन अब धेरै ढिलाइ गर्नु भएन । साहित्यविनाको समाज दरिद्र नै हुन्छ । विचारशून्य समाज जतिसुकै झिलिमिली भए तापनि खोक्रो हुन्छ । प्राणविहीन हुन्छ । सहकारीकर्मीले समय छँदै ध्यान पु¥याउने कि ? फराकिलो सोच र विशाल हृदय देखाई सहकारी र सहकारीकर्मी जनताको मन–मनमा बस्ने प्रयास गर्ने कि ? जो नाफा–घाटामा सीमित हुन्छ, त्यो नाफा–घाटाकै कारण समाप्त हुने सम्भावना हुन्छ !
सामूहिक भावनाको विकासमा भूमिका
पुँजीवादी व्यवस्थाले आर्थिक असमानता बढाउँछ । धनी झन् –झन् धनी हुँदै जाने, तर गरीब झन् – झन् गरीब हुँदै जाने, पुँजीवादको खराबी पक्ष हो । शोषणमा आधारित व्यवस्था भएकोले समाजमा यसले अनेक खालका विकृति, विसङ्गति, असन्तुष्टि फैलाउँदै विद्रोहलाई अनिवार्य आमन्त्रण गर्दछ । मानिसलाई व्यक्तिवादी बनाउँछ ।
मानिसलाई स्वार्थी, लोभी मात्र होइन फाइदाको निम्ति जेपनि गर्न तयार बनाउँछ । नैतिकता, इमान, चरित्र, सामाजिक मूल्य–मान्यता सबै–सबै नाघेर–भत्काएर भएपनि सफल होऊ, माथि पुग या स्वार्थसिद्ध गर भन्छ । सय जनालाई चुसेर, ठगेर या मारेर भएपनि एकजना धनाढ्य बन्न, अकूत सम्पत्तिको मालिक बन्न पुँजीवादले उक्साउँछ । प्रतिस्पर्धाको आवरणमा जे गर्न पनि छुट दिन्छ । पुँजीवादमा मत्स्यन्याय एउटा आमप्रवृत्ति हो ।
सानालाई ऐन र ठूलालाई चैन पुँजीवादको वास्तविक प्रवृत्ति हो । जङ्गलराज पुँजीवादको अर्को नाम हो । शोषण, ढाँट, छलकपट, ढोङ्ग पुँजीवादको चरित्र हो । यसैलाई संस्कृतिमा परिणत गर्छ । बहुसङ्ख्यक कामदार जनताको निम्ति त्यो ‘नर्क’ बराबर हुन्छ भने मुठ्ठीभरका शोषकको निम्ति त्यो ‘स्वर्ग’ हुन्छ । पुँजीवादले ‘प्रजातन्त्र’, ‘मानवअधिकार’, ‘कानुनी शासन’ को मुकुन्डो लगाएर मानववस्तीमा ध्वंस तथा अन्तरध्वंस मच्चाउँछ । सभ्यताको विनाश तथा दाहसंस्कारमा पुँजीवाद हर्षोल्लास मनाउँछ ।
त्यही पुँजीवादी बन्दोवस्तमा हामी छौँ । पुँजीवादले तेस्र्याउने हरेक बाधा–व्यवधानलाई पन्छाउँदै सामूहिक भावना जोगाइराख्ने, निःस्वार्थ सेवा कर्मलाई धर्म ठान्ने, व्यक्तिवादी चिन्तन तथा प्रवृत्तिलाई रोक्ने आदि कार्यमा सहकारीले अरू जिम्मेवार सङ्घ–संस्थासँग सहकार्य गर्न र व्यावहारिक कदम चाल्न आवश्यक छ । बहुसङ्ख्यक जनताको हित, तल्लो वर्गको सेवा तथा सामूहिक भावनाको विकासप्रति प्रतिबद्ध भई सहकारी अगाडि बढ्नुुको विकल्प छैन । तब हाम्रो समाज धुजा–धुजा बन्ने छैन ।
चेतनामूलक कार्यमा अग्रसरता
सहकारी सञ्चालक, कर्मचारी, सदस्य तथा समुदायले जानकारी राख्नैपर्ने राष्ट्रिय–अन्तर्राष्ट्रिय विषय, कुनै रोग या प्रकोप, युवा समस्या, महिला सवाल आदि बारे बिना ढिला–सुस्ती सचेतना कार्यक्रममार्फत जागरूक र जानकार बनाउने प्रयत्न सहकारीले निरन्तर गर्न आवश्यक छ । कमसेकम तुलनात्मकरूपमा अगाडि बढिसकेका सहकारी यो जिम्मेवारी बहन गर्न अग्रसर हुनुपर्छ । त्यसप्रकारका घटना या समस्याप्रति बेखबर भएर बस्नु अथवा उदासिनता देखाउनु भनेको संवेदनशून्यताको लक्षण हो । केही समय अगाडि डेङ्गु महामारीबाट हाम्रो समाज आक्रान्त बन्यो । नेपाली भू–भाग लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्र भारतले आफ्नो नयाँ नक्सामा गाभ्यो । ‘एमसीसी’ को नाउँमा देशलाई अमेरिकी साम्राज्यवादको सैन्य अखडा बनाइँदै छ । विगत २२–२३ महिनादेखि संरा अमेरिका–चीनबीच व्यापार युद्ध जारी छ । देश–विदेशमा हल्लीखल्ली मच्चिने गरी भइरहेका यी घटना हाम्रो समाज, अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका नै हुन् ।
हाम्रो जीवनसँग प्रत्यक्ष सरोकारका सवाल पनि । ती घटनाले हामीलाई छोयो या छोएन ? हामीले प्रतिक्रिया जनायौँ कि जनाएनौँ ? हामीले के तीबारे केही छलफल चलायौँ ? सचेत बनाउने कार्य ग¥यौँ ? त्यस्ता गतिविधिमा सहभागिता जनायौँ ? प्रत्यक्ष–परोक्ष भूमिका निर्वाह ग¥यौँ ? सचेत सहकारीकर्मी, जिम्मेवार सहकारीबाट उत्तरको अपेक्षा हुनु स्वाभाविक छ ।
अन्तमा, सहकारीलाई साँघुरो घेरामा कैद गर्ने कि जीवन र जगतसँग सामिप्यता बढाउने ? सहकारीलाई ‘नोट गन्ने मेसिन’ र नोट जम्मा गर्ने ‘सेफ’ (दराज) मा मात्र सीमित राख्ने कि त्योभन्दा माथि उठाउने ? सहकारीकर्मी ब्याज असुल्ने या लगानी गर्ने नयाँ साहुमात्र बन्ने कि त्योभन्दा निकै फरक परिचय दिने ? सहकारीकर्मी जनताको पैसामा रजाइँ गरी मोटाउने नव–सामन्त बन्ने कि जनसेवक बन्ने ? सहकारीकर्मी नयाँ ‘मङ्गलेचा’ बन्ने कि जनताको आँखाको नानी बन्ने ? सहकारीलाई समाज परिवर्तनको एउटा सारथी बनाउने या समाज बिथोल्ने यन्त्र ? सहकारीकर्मी सेवाभावका संवाहक बन्ने कि नयाँ ठग ? आजको यक्ष प्रश्न यही नै हो ! फैसला गर्ने अधिकार स्वयम्लाई !
Leave a Reply