भर्खरै :

क्वारेन्टाइन स्थल अन्य जिल्लामा राखे विरोध होला कि ? – प्रम

काठमाडौँ, ३ फागुन । नेपाल मजदुर किसान पार्टीका सचिव एवं भक्तपुर क्षेत्र नं १ का सांसद प्रेम सुवालले शनिबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी ओलीसँग देश र जनताको हितसँग सम्बन्धित जिज्ञासा राख्नुभयो ।
देश र जनताको निमित्त जीवन उत्सर्ग गर्नुहुने सहिदका आमाहरूको बेदनाको चर्चा गर्दै सांसद सुवालले भन्नुभयो, “नेताहरू ठेकेदार, डोजर र ट्रिपर मालिक भएर पैसा कमाउँछन् । ३ करोडको बजेटमध्ये २ करोड आफ्नै खल्तीमा राख्छन् । नेताहरूले पुँजीवादको विकास गर्नुपर्ने भनी बोलेको परिणाम यस्तो अवस्था देखिएको हो । सरकारले राज्यको स्वामित्वका उद्योग विकास गरेन । सरकारी नेताहरू कुर्सी ठटाउने ठाउँमा रमाउँदै छन् । प्रम ठगहरूको घेराबाट बाहिर आउन सक्नुभएन ।”
सांसद सुवालले चीनको हुपेईबाट फर्काइने नेपाली विद्यार्थी घनाबस्तीबाट टाढा राख्नुपर्ने भएकोले क्वारेन्टाइन स्थल भक्तपुरको खरिपाटीमा राख्न नहुने विषयबारे भन्नुभयो, “कोरोना भाइरसको व्यापक संक्रमणको कारण चीनबाट फर्काइने नेपालीहरूको क्वारेन्टाइन स्थल घनाबस्तीबीचको भक्तपुर खरिपाटीमा राख्नु र नगरकोट सडक नबनाउनु नगरकोटको पर्यटन उद्योगलाई समाप्त पार्नु हो र स्थानीय जनता भगाउनु हो ।”
सांसद सुवालले देशको सन्तुलित विकास गर्नुपर्ने विषयसँग जोडिएको प्रसङ्ग उठाउँदै राजधानी काठमाडौँ उपत्यकाबाहिर पश्चिम नेपालतिर नलगेसम्म जोसुकै सरकारमा आए पनि सफल नहुने बताउनुभयो ।
भक्तपुरको खरिपाटीमा क्वारेन्टाइन स्थल राख्ने विषयमा उठाइएको प्रश्नको उत्तरमा प्रधानमन्त्री ओलीले भन्नुभयो, “कथंकदाचित (उहानबाट नेपाल फर्काइने क्रममा नेपालीलाई) बाटोमा भाइरस सङ्क्रमण भयो भने पनि सावधानीको लागि क्वारेन्टाइनको व्यवस्था गरिएको हो । भक्तपुर मेरो पनि जिल्ला हो । त्यसकारण मैले अरू जिल्लामा पठाउनुभन्दा आफ्नो जिल्लामा राखेको हो । अन्यत्र विवाद होला फेरि ¤”
प्रम ओली झापा क्षेत्र नं. ५ बाट निर्वाचित हुनुभएको हो । । उहाँले सांसद सुवालको अन्य प्रश्नबारे जवाफ दिनुभएन । क्वारेन्टाइन स्थल अन्यत्र राखे पनि विवाद हुने कुरा उहाँले व्यक्त गर्नुहुँदा सत्तापक्षका सांसदहरू हाँसेका थिए ।
काठमाडौँ उपत्यकामा ८० लाख मानिस बस्छन् । दिनको २–४ लाख उपत्यकाभित्र र बाहिर आवतजावत गर्छन् । प्रम ओलीले चीनबाट फर्काइने विद्यार्थी आउने क्रममा सङ्क्रमित भए पनि संक्रमण रोकथामको लागि भक्तपुर खरिपाटीमा क्वारेन्टाइन स्थल बनाएको बताउनुभयो । केही गरी बाटोमा ती विद्यार्थी सङ्क्रमित भए काठमाडौँ उपत्यकाका ८० लाख जनता पीडित हुनुपर्ने छन् । यसकारण त्यसको क्वारेन्टाइन स्थल बस्तीभन्दा टाढा राख्नुपर्ने हो ।
प्रम ओलीले डाक्टर पनि नभएको र अस्पताल पनि नभएको कुन–कुन ठाउँमा क्वारेन्टाइन स्थल राख्ने भनी प्रतिप्रश्न गर्नुभयो । सङ्क्रामक रोगको क्वारेनटाइन स्थल त बस्तीभन्दा टाढा राख्ने हो, डाक्टरको टीम सो ठाउँमा पठाउने हो । यसकारण, प्रम ओलीलाई बस्तीको बीचमा सङ्क्रामक रोगको क्वारेन्टाइन स्थल राख्ने सल्लाह दिएकाहरू पनि दोषी हुन् ।
प्रम ओलीले अन्य कतिपय सांसदहरूको प्रश्नको जवाफ नदिएको गुनासो पनि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *