भर्खरै :

पुस्तक प्रदर्शनीमा भक्तपुर महोत्सवको चर्चा

भक्तपुर, ३ फागुन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले चीनमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण भक्तपुर महोत्सवको लागि चुनौती भए पनि महोत्सवको तयारीमा कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ ।
आरम्भ नेपालको आयोजनामा भइरहेको तीनदिने पुस्तक प्रदर्शनीअन्तर्गत शनिबार भएको ‘भक्तपुर महोत्सव र भक्तपुरको पर्यटन’ विषय अन्तरक्रिया कार्यक्रममा उहाँले भक्तपुर महोत्सवमा भक्तपुरका सबै जनतालाई सहभागी बनाउन नगरपालिका सघन तयारीमा लागेको बताउनुभयो ।
उहाँले भक्तपुरको सन्ध्याकालीन पर्यटन प्रवद्र्धनको लागि नगरपालिकाले सम्पदा क्षेत्रमा प्रकाश व्यवस्थापन गरिरहेको बताउनुभयो ।
प्रमुख प्रजापतिले भक्तपुर नगर क्षेत्रभित्र जनतालाई चित्त बुझाएरमात्र सवारीसाधन मुक्त बनाउने विषयमा नगरपालिकाले काम गर्ने चर्चा गर्दैै जनप्रतिनिधिको काम जनतालाई खुसी बनाएर काम गर्ने हो भन्नुभयो ।
उहाँले पर्यटन व्यवसायको प्रवद्र्धनको लागि भक्तपुर नगरपालिकाले स्थानीय पथप्रदर्शक, विभिन्न विदेशी भाषाको तालिम सञ्चालन गरिरहेको चर्चा गर्दै भन्नुभयो, “भक्तपुर नगर क्षेत्रभित्र आउने ज्येष्ठ उमेरका पर्यटकको लागि आवश्यक बन्दोबस्त गर्न नगरपालिकाले तयारी गरिरहेको छ ।”
प्रमुख प्रजापतिले नगरपालिकाले आयोजना गरेका विभिन्न सांस्कृतिक गतिविधिमा युवा सहभागिताले संस्कृति संवद्र्धनमा भक्तपुरका युवाहरूको सहभागिता उत्साहजनक रहेको बताउनुभयो ।
भक्तपुरको पर्यटन प्रवद्र्धनको लागि यहाँका सम्पदा क्षेत्रको संवद्र्धन गर्नु नै उपयुक्त बाटो भएकोले नगरवासीको सहयोगमा नगरपालिकाले सम्पदा संवद्र्धन गरिरहेको बताउनुभयो । उहाँले कर तिर्ने नगरवासीको सजगताको कारण करको दर कम भए पनि नगरपालिकामा उठ्ने कर बढेको बताउनुभयो ।
भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष रामसुन्दर भेलेले भक्तपुरको पर्यटन विकासमा धेरै सम्भावना भएको चर्चा गर्दै सन्ध्याकालीन पर्यटन र परिवारसँग पर्यटक कार्यक्रमको सफल कार्यान्वयन गर्नसके धेरै पर्यटन भित्र्याउन अझ मद्दत पुग्ने बताउनुभयो । उहाँले मार्च–अप्रिलमा पर्वतारोहणका लागि पश्चिमा पर्यटक नेपालमा धेरै आउने भएकोले महोत्सवमा ती पर्यटकलाई सहभागी बनाउनुपर्नेमा जोड दिनुभयो ।
पर्यटन उद्योगको प्रवद्र्धनको लागि होटल म्यानेजमेन्ट र ट्राभल एन्ड टुरिज्म विषयमा उच्च शिक्षा अध्ययन गर्न भक्तपुुरमै व्यवस्था हुनुपर्नेमा उहाँले जोड दिनभयो ।
अन्तरक्रियामा ‘मजदुर’ दैनिकका सम्पादक नीरज लवजूले सञ्चालन गर्नुभएको थियो ।
पुस्तक प्रदर्शनीअन्तर्गत साँझको सेसनमा १३ जना गजलकारहरूले गजल वाचन गर्नुभयो । गजल गोष्ठीमा हरिसुन्दर छुकां, रामकृष्ण प्रजापति, सुरेश बखुन्छें, अर्चना छुकां, राजेन्द्र कोजू, ईश्वर थोकर, जीतेन्द्र रसिक, श्याम माकजू, सुरेश परियार, हरेन्द्र प्रधान, श्रीराम कासिछ्वा, रणबहादुर राना, सुशिला नेपाल, एलपी चवालले गजल वाचन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *