काठमाडौँ, १ फागुन
(रासस) । विभागीय टोली नेपाल पुलिस क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिग फूटबलअन्तर्गत आफ्नो लिगको अन्तिम खेलमा सहज जीत हात पारेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा पुलिसले फ्रेण्ड्स क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै सहज जीत हात पारेको हो । पुलिसको जीतमा जुमानु राईले ह्याट्रिक गरे । पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा पुलिसले तीनै गोल दोस्रो हाफमा ग¥यो । हेमन्त श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका जुमानुले खेलको ४९ औँ मिनेटमा गोल गर्दै पुलिसलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ५६ औँ मिनेटमा जुमानुले व्यक्तिगत दोस्रो गोल गरे भने खेलको ८५ औँ मिनेटमा व्यक्तिगत तेस्रो गोल गर्दै उनले ह्याट्रिक पूरा गरे । जीतसँगै पुलिसले लिगमा सुखद अन्त्य गरेको छ । पुलिस १३ खेलमा २० अङ्क जोड्दै अङ्कतालिकाको पाँचौँ स्थानमा रहेको छ । पराजित फ्रेण्ड्स भने १३ खेलमा १४ अङ्क जोडेर दशौँ स्थानमा रहेको छ ।
त्यस्तै आशिष लामाले यस सिजनको नवौँ गोल गर्दा विभागीय टोली एपीएफले ब्रिगेड ब्वाइजसँग बराबरी खेल्दै १२ औँ स्थानमा लिग सकाएको छ । शहीद स्मारक ए डिभिजन लिग २०७६ अन्तर्गत बिहीबार भएको खेलमा एपीएफले अन्तिम सममया गोल खाँदा ब्रिगेडसँग १–१ को बराबरी खेलेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा खेलको ४४ औँ मिनेटमा आशिषले नविन लामाको पासमा गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए । निर्धारित ९० मिनेटसम्म एपीएफले अग्रता कायम राखेको थियो । तर इन्जुरी टाइमको तेस्रो मिनेटमा ब्रिगेडका विजय गुरूङले एकल प्रयासमा उत्कृष्ट गोल गर्दै खेल बराबरी गरे ।
बराबरीपछि एपीएफले ब्रिगेड भन्दा अगाडि रहेर १२ औँ स्थानमा लिग सकायो । १४ क्लब सहभागी लिगमा एपीएफले १३ खेलबाट ९ अङ्क जोड्यो । एपीएफले २ खेल जित्दा ३ खेल बराबरी गरेको थियो । ८ खेलमा भने एपीएफ पराजित भयो ।
उस्तै नतिजा प्राप्त गरेको ब्रिगेड १३ औँ भयो । समान अङ्क भए पनि एपीएफले ब्रिगेडलाई गोल अन्तरमा पछि पारेको हो । एपीएफले १५ गोल गर्दा २१ गोल खाएको थियो भने ब्रिगेडले जम्मा ५ गोल गर्दा १५ गोल खायो ।
यस सिजन रेलिगेसनमा परिसकेको सरस्वती युथ क्लब ४ अङ्कसहित अन्तिम स्थानमा छ । सरस्वतीले अन्तिम खेल जिते पनि एपीएफ र ब्रिगेडलाई भेट्टाउने छैन । त्यसैले यस लिगमा एपीएफ १२ र ब्रिगेड १३ औँ हुने पक्का भएको हो ।