भर्खरै :

महोत्सव तयारीमा संस्कृतिकर्मीसँग परामर्श

भक्तपुर, ३ फागुन । भक्तपुर नगरपालिकाको आयोजनामा आगामी चैत ४ देखि ८ सम्म हुने भक्तपुर महोत्सवको तयारी तीव्र पारिएको छ । यसै क्रममा शनिबार नगरपालिका क्षेत्रभित्रका सांस्कृतिक गुरु तथा संस्कृतिकर्मीहरूको भेला सम्पन्न भयो ।
भेलामा नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर महोत्सवलाई सम्पूर्ण भक्तपुरवासीको साझा महोत्सवको रूपमा अघि बढाउने तयारी भइरहेको बताउनुभयो । भक्तपुर नगरपालिका देशभरिका अन्य स्थानीय तह तथा विदेशी मित्रहरूका लागि उदाहरणीय गन्तव्य बनिरहेको सन्दर्भ उल्लेख गर्दै उहाँले भक्तपुरको कला, संस्कृति, जीवनशैली, उत्पादन, परम्परागत खेल तथा उपचारविधिलगायत यहाँका मौलिक पहिचानलाई संसारसामु चिनाउने राम्रो अवसरको रूपमा भक्तपुर महोत्सवलाई लिन सकिने धारणा राख्नुभयो ।
भक्तपुरलाई शिक्षा, स्वास्थ्य उपचार र सरसफाइमा नमुना बनाउने अभियानसँगै नगरपालिकाले हरेक नगरवासीको हातमा कुनै न कुनै सीप दिने र देशका कुनाकाप्चामा सम्पदा संरक्षण र संस्कृति प्रवद्र्धन कार्यमा भक्तपुरबाट दक्ष जनशक्ति उत्पादन गर्ने सोचले काम भइरहेको बताउनुभयो ।
नगरवासीहरूको खानेपानीको समस्या समाधान गर्न भक्तपुर नगरपालिकाले काठमाडाँै उपत्यका खानेपानी लिमिटेडसँग सहकार्य गरेर विभिन्न ठाउँमा पानीको स्रोत पहिचान गरी ट्याङ्कीको निर्माण गरिरहेको जानकारी दिनुभयो । सल्लाघारीस्थित डिप बोरिङको पानी प्रशोधन गरी शुक्रबारदेखि पानी वितरणको परीक्षण थालनी गरेको उहाँले बताउनुभयो ।
भक्तपुरको पुरानो नगर क्षेत्रलाई व्यवस्थित, आकर्षक र पैदलयात्राको लागि सहज बनाउने हेतुले फागुन १ गतेदेखि भारी सवारी साधन प्रवेश निषेध गरिएको प्रमुख प्रजापतिले अवगत गराउनुभयो ।
भेलामा भनपा ९ नंं वडाका वडाध्यक्ष तथा सांस्कृतिक व्यवस्थापन समितिका संयोजक रवीन्द्र ज्याख्वले सांस्कृतिक अग्रजहरूको राय सल्लाहको आधारमा महोत्सवको क्रममा परम्परागत तथा आधुनिक विधाका सांस्कृतिक प्रस्तुतिहरू गर्ने तयारी भइरहेको बताउनुभयो ।
उहाँले भक्तपुर अझै पनि कतिपय परम्परागत बाजागाजा तथा सांस्कृतिक विधाहरू लोपोन्मुख अवस्थामा रहेको चर्चा गर्दै लोप भइसकेका र लोपोन्मुख विधाहरूलाई समेत पुनः जीवन दिन सके महोत्सवको सार्थकता रहने उल्लेख गर्नुभयो ।
ज्येष्ठ नगरसभासद तथा सांस्कृतिक व्यवस्थापन समितिका सदस्य गोविन्द दुवालले दाफा, भजन तथा परम्परागत बाजागाजा तथा नाचहरूका सांस्कृतिक गुरुहरू कुनै विश्वविद्यालयका प्राध्यापकभन्दा कम नभएको बताउनुभयो । उहाँले भक्तपुरका जनताले कला संस्कृतिलाई सामाजिक संस्कारको रुपमा स्वीकार गरी स्वयम्सेवी भावनाले दाफा भजनमा लागिरहेको चर्चा गर्दै नयाँ पुस्तालाई सीप हस्तान्तरण गर्न ढिला गर्न नहुनेमा जोड दिनुभयो ।
भक्तपुर महोत्सव सचिवालयका संयोजक गौतमप्रसाद लासिवाले नपाले २०५४ साल र २०६९ सालमा आयोजना गरेका महोत्सवहरूको समीक्षा गर्दै अबको महोत्सव नगरको मूल बजारमा मात्र सीमित नगरी विभिन्न गल्ली र चोकहरूमा समेत महोत्सवका आकर्षणहरू समावेश गर्ने बताउनुभयो ।
महोत्सव सचिवालयका रमेश प्रजापतिले महोत्सवको क्रममा हुने विभिन्न गतिविधिबारे जानकारी गराउनुभएको कार्यक्रममा सहभागी सांस्कृतिककर्मीहरूले महोत्सव सफल पार्न विभिन्न रचनात्मक सल्लाह दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *