भर्खरै :

कुलु ः नेवार जातिको एक शिल्पी समुदाय

नेवारका वारेमा विभिन्न लेखक तथा विद्वानहरूको आ–आफ्नै मत छ । जसमध्ये दक्षिण भारतबाट नान्यदेवसँगै आएका नायरहरू नै पछि नेवार बनेका भन्ने एउटा तर्क छ भने नेवारहरू उत्तरी हिमालय क्षेत्रबाट नेपाल प्रवेश गरेको भन्ने अर्को मान्यता रहेको छ । जे जस्तो तर्क प्रस्तुत गरे तापनि नेवारहरू काठमाडौँ उपत्यकाका आदिबासी समुदाय हुन् भन्ने कुरामा प्रायः सबैकोे एकमत रहेको पाइन्छ । नेवार समुदायका बारेमा विभिन्न व्यक्तिहरूले जे जसरी आफ्नो धारणा व्यक्त गरेको भएता पनि वर्तमानको नेवार समुदायमा विभिन्न कालखण्डमा प्रवेश गरेका गोपाल, किराँती, कोलीय, शाक्य, लिच्छवी, कर्णाट, मल्ल आदि समुदायको समिश्रण रहेको छ । यसैकारण पनि नेवार समुदाय अन्य समुदायको तुलनामा विभिन्न संस्कृतिले युक्त भएको समुदायका रूपमा परिभाषित गरिएको हो भन्न सकिन्छ । नेवारभित्र साना पसलेदेखि व्यापारी, आयात तथा निर्यातकर्ता, किसान, शिल्पकार आदि पेशाका मानिसहरू छन् । जातीय स्थिति हेर्ने हो भने तल्लो जात भनिएका सडक सफा गर्नेदेखि उच्च जात भनिएका बाहुन छन्, जसले हिन्दु र बौद्ध दुवै धर्मलाई आत्मसात गर्दछन् । पेशाका आधारमा बाहुन, व्यापारी, ज्यापु, कसाइ, कुश्ले, पोडे आदि जाति वा थरमा विभक्त नेवार समुदायमा पेशाकै आधारमा सूचिकृत जाति वा थरमध्येको एक कुलु पनि हो । विशेषतः छालाजन्य बाजा बनाउने पेशा गर्दै आइरहको कुलु समुदायको सङ्ख्या ज्यादै न्यून रहेको पाइन्छ ।
कुलु अर्थात वाद्य वादन निर्माणका शिल्पी
कुलु भन्दा पनि कुलुजू थर लेख्ने यो समुदायको मुख्य पेशा छालाजन्य वाद्यवादनको निर्माण तथा बिक्री वितरण हो । यही पेशाका आधारमा जिविकोपार्जन गर्दै आइरहेका कुलुका बारेमा विभिन्न लेखक, विद्वान तथा अनुसन्धाताहरूले कुलुलाई विभिन्न तरिकाले परिभाषित गरेका छन् । जसमध्ये ‘टोकरी बनाउने जात’, ‘नेवार वाद्यवादक’, ‘चर्मकार’ आदि भनेर व्यक्त गरेको पाइन्छ । कुलु वास्तवमा छालाजन्य वाद्यवादन निर्माणका शिल्पी हुन् । यो जातिले छालाजन्य वाद्यवादन निर्माण गरेर आफ्नो जिविकोपार्जन गर्ने मात्र नभएर नेवार र उपत्यकाको वाद्यवादन संस्कृतिलाई जीवित पार्न अतुलनीय योगदान पु¥याउँदै आइरहेका छन् ।
कतिपय व्यक्तिहरूले कुलुलाई ‘चर्मकार’ भनिरहँदा के कुरामा स्पष्ट हुन जरुरी छ भने, चर्मकारले छालाको काम गर्ने भन्ने अर्थ लाग्छ । तर, नेवार समुदाभित्रको कुलुबाहेक छालाको काम गर्नेमा खस समुदाय अन्तर्गतका नेपालीभाषी ‘सार्की’ र ‘भुल’ जात तथा तराई मधेशका ‘चमार’ लगायतका जातिले पनि छालाकै विभिन्न सामग्री निर्माण गर्ने पेशा गर्दछन् । छालाकै काम गर्ने भए तापनि ‘सार्की’, ‘भुल’, ‘चमार’ आदि जातकाले झैँ छालाको जुत्ता भने कुलुहरूले बनाएको पाइँदैन । छालाको जुत्ताको कुरा गर्नु पर्दा नेपालमा पराल, नालुँ, कपडा, रबर, प्लास्टिक हुँदै छालाको जुत्ताको प्रयोग वि.सं. १९७०–१९८० तिर मात्र खेतबारीमा काम गर्न भएको हो । कुलुहरू नेवार सभ्यताकै एक जाति भएको र नेवार सभ्यता भारतमा आर्यहरूको आगमनपूर्व नै विकसित सभ्यता भएकाले कुलुहरूले छालाको जुत्ता नबनाउने गरेको स्पष्ट हुन आउँछ ।
कुलु र इतिहास
कुलुका बारेमा लिखित इतिहास त्यति पाइँदैन तथापि कुलु समुदाय भारतको कुरुक्षेत्र (कुलु मनाली) बाट मल्लकालमा नेपाल प्रवेश गरेको भन्ने भनाइ पनि रहेको छ । कुलु जाति आपैm नेवार समुदायको भएको र पेशाका आधारमा जात वा थर विभाजन गरिएको हुनाले कुलु शब्द नेपाल भाषासँग सम्बन्धित हुनुपर्ने तर्क पनि रहेको छ । कुलु भनिनेहरूले पहिले कोदाली तथा अन्य खेतीपातीका ज्यावलहरूमा बिँड राख्दा अप्ठ्यारो भएकोे अवस्थामा चिप्लो पारी बिँड राख्न सजिलो गरिदिने काम समेत गर्दथे । याने कि बिँडमा केही अड्केको खण्डमा कोट्याएर निकाल्ने काम समेत गर्दथे । त्यस्तै मादल लगायतका बाजाहरूमा केही कुँद्ने र कोट्याउने समेत गर्दथे । नेपाल भाषामा ‘कोट्याउने’ लाई ‘कुलेगु’ र ‘कुँद्नु’ लाई ‘कुनेगु’ भनिन्छ । यही ‘कुनेगु’ वा ‘कुलेगु’ शब्द अपभ्रंश भएर कुलु बनेको हुन सक्दछ । नेवार समुदायलाई तिनले गर्ने पेशाका आधारमा जयस्थिति मल्लले ६४ जातमा विभाजन गरेको हो भन्ने कुरामा प्रायः सबै सहमत देखिन्छन् र यही जातकै आधारमा कतिपय थरको पनि निर्माण भएको पाइन्छ । जयस्थिति मल्लले कुलुलाई छालाको कुपा बनाउनु, छालाको थैला बनाउनु, बाजाको पेटारोमा छाला मोडिदिनु आदि काम गरी जीविका चलाउने व्यवस्था गरिदिएका थिए ।
जयस्थिति मल्लले पेशाका आधारमा गरेको जातीय पुनःगठन वा वर्गीकरणलाई सूक्ष्म रूपले नियाल्ने हो भने जयस्थिति मल्लपूर्व नै कुलुहरूले छालाको विभिन्न सामाग्रीहरू बनाउँदै आइरहेका थिए भन्ने अनुमान लगाउन सकिन्छ । अर्थात नेवारहरू काठमाडौँ उपत्यकाका प्राचीन समुदाय भएकाले कुलुहरू पनि उपत्यकाका प्राचीन समुदाय र तिनको पेशा पनि प्राचीन हुन् भन्न सकिन्छ । किनभने भारतमा हिन्दु धर्मको थालनी हुँदा नेपालमा मङ्गोलमूलका विभिन्न जाति रहन्थे । त्यस्ता जातिहरू प्रकृतिपूजक थिए र त्यस्ता प्रकृतिपूजकहरूमध्ये ज्यापू पनि एक हो । काठमाडौँ उपत्यकाको सन्दर्भमा भन्ने हो भने नेवार समुदायभित्रका ज्यापु समुदायले नै परम्परागत बाजागाजा, नाच तथा अन्य संस्कृतिलाई निरन्तरता दिँदै आइरहेको हुनाले ज्यापुहरूले बजाउने बाजाहरू कुलुको अभावमा बन्ने वा बिग्रिएमा मर्मत सम्भार गर्ने सम्भावना रहँदैन । तसर्थ परम्परागत आधारमा उपत्यकाका ज्यापुहरूले बजाउँदै आइरहेका धिमाः, खिँ, ढोलक लगायतका बाजाहरूको जति प्राचीनता छ, उतिकै कुलु र कुलुको पेशा पनि प्राचीन हो भन्न सकिन्छ ।
भक्तपुरका कुलुहरूको वर्तमान अवस्था
जयस्थिति मल्लले गरेको जातीय वर्गीकरणका सन्दर्भमा उल्लेख गरेअनुसार भन्ने हो भने कुलुहरूको सामाजिक, सांस्कृतिक तथा आर्थिक आदि हैसियत निम्न रहेको छ । जसलाई रोवर्ट लेभीले पनि ‘मेसोकोजम’ मा पनि व्यक्त गरेका छन् । लेभीले कुलुहरूको सामाजिक हैसियत वा स्तरलाई देखाउने क्रममा कुलुलाई १७ औँ स्थानमा देखाइएको छ । कुलुभन्दा माथि ‘दोँ’ र तल ‘पोँ’ समुदायलाई देखाएका छन् । कुलुहरूको सामाजिक हैसियत अन्य नेवारहरूको भन्दा निम्न रहेको भनिए तापनि भक्तपुरका कुलुहरूको अवस्था देख्दा यी सब कुराहरूमा परिवर्तन देखिन थालेको छ अर्थात विगत र वर्तमानको अवस्थाको तुलना गर्ने हो भने वर्तमानमा सामाजिक, सांस्कृतिक तथा आर्थिक स्तरमा कुलुहरूको अवस्थामा क्रमशः परिवर्तन हुन थालेको पाइन्छ । छालाजन्य कच्चा पदार्थको अभाव नै यो पेशाका जातिहरूको मुख्य समस्या रहेको पाइन्छ । बाख्रा, गाई लगायतका जनावरको छाला अन्य जनावरको छालाको तुलनामा काम गर्न सजिलो हुनेमात्र नभएर बाजाको आवाज नै राम्रो हुने भएता पनि गाईको छाला ल्याउन असजिलो र कानुनी रूपमा पनि झन्झटिलो भएकाले कच्चा पदार्थको अभाव हुँदै आएको छ । पहिले भक्तपुर नगर बाहिरका छालाको कामगर्ने दलितहरू तथा नुवाकोट, रसुवा लगायतका जिल्लाका मान्छेहरूले छालाजन्य कच्चा पदार्थ ल्याइदिने गरेकोमा हाल त्यस्तो नभएकै कारण कच्चा पदार्थको अभाव बढ्न गएको हो । नगरपालिकाबाट स्विकृति लिएर पेशा थाल्दै आएको भए पनि कच्चा पदार्थ ल्याउनका सहजताका लागि सिफारिस गरिदिन भनी जिल्ला प्रशासन कार्यालयमा गएको र गाईको छाला भन्ने बित्तिक्कै कच्चा पदार्थको आपूर्तिका लागि सिफारिस दिइएन । यद्यपि सानो सानो परिमाणमा महँगोमा भए पनि कच्चा पदार्थ ल्याएर पेशालाई निरन्तरता दिँदै आएको पाइन्छ ।
न्यून जनसङ्ख्या ः अवसर र चुनौती
कुलुहरूको कम जनसङ्ख्याका कारण उनीहरूको जीवनयापनमा सजिलो भएको देखिन्छ । अन्य पक्षभन्दा पनि आर्थिक पक्षबाट उक्त कुरा स्पष्ट हुन्छ । कम जनसङ्ख्या हुनु तथा त्यसमा पनि कुलुहरूले गर्ने पुख्र्यौली पेशा गर्नेको सङ्ख्या कम हुनु र अन्य समुदायले कुलुले गर्ने पेशा नगर्नुले काममा भ्याइनभ्याइ हुन्छ । यही कारण दिनमा सालाखाला २,००० देखि २,५००÷३,००० रूपैयाँसम्म आम्दानी हुने गरेको देखिन्छ । छालाजन्य वाद्यवादन निर्माण गर्नेहरूको सङ्ख्या एकदमै न्यून भएको गर्ने पेशामा प्रतिस्पर्धी नभएकै कारण कुलुहरूको आर्थिक स्तरमा बिस्तारै प्रगति भएको देखिन्छ ।
सामाजिक पक्षहरूलाई आधार लिने हो भने कम जनसङ्ख्या कतिपय अवस्थामा समस्याका रूपमा लिन सकिन्छ । भक्तपुरका कुलुहरू कम सङ्ख्यामा भएकाले उनीहरू विभिन्न समस्या भोग्नु परेको देखिन्छ । जसमध्ये मुर्दा पोल्ने कुनै मसान नहुनु, आफ्नै जातिभित्रका पुरुष वा महिलाको अभावमा अन्तरजातीय विवाह गर्न बाध्य हुनु र विवाहका लागि स्थानीय भन्दा पनि जिल्लाअन्तर विवाह गर्नुपर्ने बाध्यता रहेको देखिन्छ ।
मुर्दा पोल्ने मसानको अभाव मात्र नभएर आफ्नै जातिभित्रकासँग वैवाहिकसम्बन्ध राख्न नसक्नु र अन्तरजातीय विवाह गर्न बाध्य हुनु, विवाहका लागि स्थानीय भन्दा पनि जिल्लाअन्तर विवाह गर्नुपर्ने बाध्यता विशेष गरेर कम जनसङ्ख्या भएकै कारण देखापरेको छ । प्राप्त जानकारीअनुसार भक्तपुरमा बसोबास गर्न थालेका पहिलो कुलु मानबहादुर र तिनका छोरा रामकृष्ण र छोरी एकजनाले मात्र स्वजातीय विवाह गरेको पाइन्छ । मानबहादुरले ललितपुर र रामकृष्णले काठमाडौँका स्वजातभित्र विवाह गरेको र मानबहादुरकी छोरीलाई ललितपुरमा स्वजातभित्र नै विवाह गरेको पठाएको देखिन्छ । तत्पश्चात भने अन्तरजातीय विवाह गर्न थालेको पाइन्छ ।
पेशा ः परिवर्तन, निरन्तरता र जिवीकोपार्जन
खेतीपातीको नाममा सानो टुक्रा जमिनसमेत नभएका कुलुहरूको छालाजन्य वाद्यवादनको निर्माण नै मुख्य पेशा रहँदै आएको छ । यसबाहेक केही समय अगाडिसम्म कुलुहरूले ‘लकुंचा’, ‘छेंगुम्हेचा’ (छालाको थैली) समेत बनाउने गर्दथे । पहिले भक्तपुरका अधिकांश किसानहरूको आर्थिक स्तर निम्न रहेको र आधुनिक मल, बीउविजन राख्न नसक्नु, मलको रूपमा कालो माटो राख्ने गरिन्थ्यो । यही कारण पनि माटो सुख्खा र कडा हुने भएकाले धान रोप्नको लागि लकुंचाको प्रयोग गरिन्थ्यो तर समयको अन्तरालसँगै खेतीपाती गर्न सहज भएकोले त्यस्ता सामग्री बनाउन लगाउने नभएर त्यस्ता वस्तु पनि विस्तारै लोप हुँदै गएको आभाष हुन्छ ।
बालीघरे प्रथा पनि यो समुदायमा रहेको पाइन्छ तर नगन्य मात्रामा । केही समय अगाडिसम्म कुलुहरू गाउँघरका नेवार समुदायका विभिन्न गुठी र उपगुठीबाट सञ्चालित दाफा भजन तथा अन्य जात्रापर्वका बेला गाउँघर गई धिमा, खिँ लगायतका सामग्रीहरू मर्मत गरेबापत एक छाक भोज खाने र केही पैसा लिएर फर्कन्थे । त्यसकै आधारमा जीवन निर्वाह गर्दथे । तर, हिजोआज करिब करिब त्यस्तो प्रथा छैन भन्दा पनि हुन्छ । यद्यपि आवश्यक परेर बोलाएको खण्डमा अहिले पनि एकदुई ठाउँ मात्र जान्छन् र बाजागाजा मर्मत गरे पश्चात इच्छा लागे भोज खाने नभए नखाइकन पैसा लिएर फर्कन्छन् । पहिला भए भोज एक छाक खाएर घरका जहान बच्चालाई समेत भाग लग्ने गर्दथे तर हाल यस्तो गर्दैनन् ।
हुन त सन् १९९७ मा भक्तपुर महोत्सव गर्नुपूर्व कुलुहरूको आर्थिक अवस्था ज्यादै न्यून रहेको थियो । त्यसबाहेक विभिन्न समयमा भएको सांस्कृतिक कार्यक्रम अनि प्रतियोगिताले उनीहरूको अवस्थामा सुधार भएको देखिन्छ । विशेष गरेर भक्तपुर नगरपालिकाले भक्तपुरलाई सांस्कृतिक नगरको रूपमा विकास गर्ने योजनाअनुरूप काम थालेपछि स्थानीय दाफा भजन तथा विभिन्न नाचगानको संरक्षणका लागि गाईजात्राको अवसरमा घिन्तांघिसिं तथा विविध बाजागाजा, नाचगानको प्रतियोगिता गरी पुरस्कृत गर्न थालेपछि बाजागाजाको संरक्षणमा नगरबासीहरूले सक्रियता देखाउन थाले । यही कारणले पनि कुलुहरूले काम पाउन थाले र गुजारामुखी रूपमा मात्र लिइएको पेशाले व्यवसायिक रूप लिन थाल्यो । फलस्वरूप कुलुहरूको परम्परित पेशाले फेरि निरन्तरता पाएको देखिन्छ ।
वर्तमान समयमा कच्चा पदार्थको अभाव, स्थानीय बाजाको ठाउँमा विदेशी बाजाको आयात र प्रयोग तथा नयाँ पुस्तामा यो पेशाप्रति देखिएको उदासिनताका कारण यो पेशा भविष्यमा लोप हुन सक्छ । यस विषयमा समयमै ध्यान पु¥याउन आवश्यक छ । प्राप्त सूचना अनुसार परम्परित पेशा गर्दै आएका हरिशंकरका भाइ रमेशले भक्तपुरको टौमढीमा मादल लगायतका बाजागाजाको पसल थापेर बसेका छन् भने विकासले अन्य कपडाका सामान बेच्ने पसल समेत थापेर बसेका छन् । अर्थात् परम्परित पेशाबाट विस्तारै अलग हुँदै गएको छ भन्न सकिन्छ । यही कारण आगामी दिनमा कुलुहरूको परम्परित पेशा हराएर जाने सम्भावना रहँदारहँदै पनि आगामी केही दशकसम्म पनि यो पेशाले निरन्तरता पाउने सम्भावना भने रहेको पाइन्छ ।
निष्कर्ष
परम्परागत आधारमा विभिन्न जनावरका छालाबाट विभिन्न बाजाहरू बनाउँदै आइरहेको कुलु जाति नेवार समुदायभित्र अल्पसङ्ख्यक अवस्थामा छन् । विशेष गरी काठमाडौँ उपत्यकामा मात्र बसोबास रहेको यो जातिले वर्तमानमा आफ्नो परम्परित पेशा जोगाउन विभिन्न समस्याहरू झेल्दै आइरहेका छन् । राज्यको नियम कानुनका कारण छालाजन्य कच्चा पदार्थको सहज आपूर्ति नहुनु कुलुहरूको जातिहरूको मुख्य समस्या रहेको पाइन्छ । यद्यपि विभिन्न तरिकाले कच्चा पदार्थ ल्याएर पेशालाई निरन्तरता दिँदै आएको छ । अरू नेवार जातिकाले यस्तो पेशा नगर्ने र जम्मा दुई जनाले मात्र यस्तो पेशा गर्दै आएको पाउनुले निकट भविष्यमा यो पेशा लोप हुन सक्ने र नेवारहरूले बजाउँदै आएका विभिन्न वाद्यवादनको निर्माण तथा मर्मतमा समेत समस्या उत्पन्न हुन सक्ने अनुमान गर्न सकिन्छ ।
समाजशास्त्री डा. चैतन्य मिश्रले परम्परित पेशामा परिवर्तन गरेर नै आर्थिक उन्नति गर्न सकिने भनाइ राखेका भए तापनि कुलुहरूको हकमा त्यो कुरा लागू नभएको देखिन्छ । आफ्नै पौरख र मिहिनेतले जुनसुकै काम इमानदारिताका साथ गरेको खण्डमा आर्थिक उन्नति गर्न सकिने यथार्थ भक्तपुरका कुलु परिवारमा पुष्टि भएको छ ।

(बखुन्छें समाजशास्त्रीका शिक्षक हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *