भर्खरै :

बगदादको एउटा पुस्तकालय

दसकौं लामो युद्धको घाउ अझै दुख्न छोडेको छैन इराकमा । इराक त्यही घाउ सुमसुमाउँदै उठ्न र अघि बढ्न खोजिरहेको छ । टिग्रिस र युफ्रेटस नदीको सभ्यताको देश इराकको सांस्कृतिक वैभव युद्धकै कारण छिन्नभिन्न भयो । ध्वस्त भग्नावशेषबीच इराकी सभ्यताका कति आयामको हत्या भयो, कति मरणासन्न अवस्थामा छन् भने कति द्वन्द्वको आलो घाउमा रगत पुछ्दै अघि बढ्न खोजिरहेको छ । अपार संस्कृति युद्धले ध्वस्त बने तापनि इराकी हृदयभित्र संस्कृतिप्रतिको प्रेम भने अझै मरिसकेको छैन ।
मध्य बगदादको डाँडोमा अवस्थित छ एउटा दुईतले घर । त्यहीँ आफ्नो बुढो काया बोकेर बस्दै आएकी छिन्–८९ वर्षका सफिरा जमिल हाफिज । कराडा डाँडोको शान्त र एकान्त घरमा बसेर उनी युद्धले छिन्नभिन्न बनेको इराकी संस्कृति ब्युँताउन अथक रुपमा लागिरहेकी छिन् । दुई तल्ले घरको माथिल्लो तल्लामा उनले बनाएका छन्–एउटा सार्वजनिक पुस्तकालय । साफिराको त्यही पुस्तकालयमा विद्यार्थी र अरू पुस्तकप्रेमीहरू त्यहाँ रहेका पुस्तकभित्र संसार खोज्न आइपुग्छन् । कोही पनि आगन्तुकलाई कुनै पनि हल्ला गर्न भने निषेध छ ।
सफिरा र उनका भाइहरू साना–साना छँदा आमाले सधैं पुस्तक किन्न अभिप्रेरित गर्थिन् । वास्तवमा उनीहरूभित्र पुस्तकप्रति प्रेमको वास नै आमाले गरिदिएकी थिइन् । तिनै पुस्तकप्रेमी आमाको सम्झनामा सफिराले आफ्नै घरमा पुस्तकालय स्थापना गर्ने निधो गरेकी थिइन् । आमा भन्थिन्, “पढ नानी पढ । मैले पढ्न लेख्न जानेकी भए म बग्दादका सबै पुस्तकालयमा पुगेर निकै पढ्ने थिएँ ।”
सफिराले पुस्तकालयको नाम राखेकी छिन्–मातृत्वको प्रकाश । आमाकै नाममा समर्पण गरेर पुस्तकालयको त्यस्तो नाम जुराइएको थियो ।

सफिरा


सफिरा ऐतिहासिक पुस्तकालयहरूलाई इराकी सभ्यताको कोशेढुङ्गा भन्छिन् । संस्कृति र विज्ञानमा इराकी वैभवको आधार नै पुस्तकालयहरू हुन् । “इराक फेरि पनि अग्रणी भएको हेर्ने चाहना छ । त्यसको निम्ति मैले जे सकेँ, त्यही गरेँ । मैले पुस्तकालय खोल्न सक्थेँ र त्यही गरेँ”, उनले भनिन् ।
अध्ययनशील विद्यार्थीलाई पढ्ने उपयुक्त ठाउँ बनाइदिनु पनि यो पुस्तकालयको लक्ष्य हो । इराकमा धेरै गरिब परिवारका विद्यार्थीहरू सडक बत्तीको उज्यालोमा पढिरहेको उनले देखेकी छिन् ।
इराकी समाजलाई क्वापलाक्क निलेको युद्ध र अराजकताको पीडाबाट मुक्त बनाउन सफिराले गरेको यो पहिलो काम भने होइन । उनी महिला अधिकारकर्मी पनि हुन् । कला प्रदर्शनको लागि उनले अल–द्रोबी नामको हल स्थापना गरेर उनले धेरै युवा कलाकारहरूलाई पनि टेवा पु¥याएकी छिन् ।
“म लेखक हुँ । त्यसकारण म पढ्न रुचाउँछु । मसँग ठूलो सङ्ख्यामा पुस्तक छन् । मैले जीवनभर सङ्कलन गरेका पुस्तक म अरू मानिससँग पनि बाँड्न चाहन्छु”, उनले भनिन् । उनको परिवार नै कला र साहित्य मनपराउने परिवार हो ।
पुस्तकालयको अतिरिक्त आफ्नो घरको माथिल्लो तल्लामा दुई कोठे सांस्कृतिक प्रेक्षालय खोलेकी छिन् । उनको यो प्रेक्षालयलाई जीवन दिन उनीसँग विचार मिल्ने अरू साथी, बुद्धिजीवी र कलाकारहरूले पनि मद्दत गरेका छन् ।
पुस्तकालयमा एउटा खण्ड सांस्कृतिक अध्ययनसम्बन्धी पुस्तकहरू छन् । अर्को खण्डमा सङ्गीत, गीत, चित्रकलासम्बन्धी पुस्तक छन् । परम्परागत सामान र ऐतिहासिक वस्तुको पनि एउटा खण्डमा समावेश गरिएको छ । ती सबै सांस्कृतिक सम्पदा सबैको लागि खुला गरिएको छ ।
“हाम्रो संस्कृति र नागरिक मूल्यमान्यता प्रवद्र्धन गर्न सबै इराकी जनताबीच प्रेम, शान्ति र सहकार्यको सन्देश नै हाम्रो सन्देश हो । संसारभरको लागि हाम्रो सन्देश भनेको जताततै प्रेम र शान्ति फैलियोस्, युद्ध र घृणा सबैतिर समाप्त होस् भन्ने हो”, उनले भने ।
सरिफा चिनियाँ संस्कृतिका प्रशंसक पनि हुन् । चिनियाँ जनताप्रति सम्मान व्यक्त गर्दै उनले भनिन्, “चिनियाँ जनता सबभन्दा शान्तिप्रिय मानिस लाग्छन् । मैले धेरै चिनियाँ साहित्य पढेको छु । जनताबीच शान्ति, प्रगति र भातृत्वको लागि चीनको भूमिकाबारे मलाई थाहा छ ।”
इराकी कवि फिरस अब्दुल मजिदको लागि ‘मातृत्वको प्रकाश’ को स्थापना ई–पुस्तकको समयमा मुद्रित पुस्तकले जीवन पाउनु हो । सामाजिक सञ्जालमार्फत सीमित र तीब्रत सूचना पाइरहेको समयमा यो पुस्तकालयको विशेष महत्व रहेको उनले भने ।
“यो पुस्तकालयको स्थापना समाजमा संस्कृति र विज्ञानको प्रवद्र्धनको उत्कृष्ट माध्यम भनेको पुस्तक भएकोले मुद्रित पुस्तक पढ्न आमन्त्रण हो”, कवि अब्दुलले भने ।
सरिफाजस्तै लेखक हुन्–शाहिबा शुब्बर । उनी पुस्तकालय शिक्षित र सभ्य समाजको नयाँ आरम्भ मान्छिन् । कुनै बेला बग्दादभरि फैलिएका पुस्तकालय र पुस्तकालय जाने संस्कृतिलाई फेरि जीवन दिने प्रयास ‘मातृत्वको प्रकाश’ भएको शुब्बरको मान्यता छ ।
‘मातृत्वको प्रकाश’ मा सङ्गीत, चित्रकला, मूर्तिकला सबैको लागि निःशुल्क खुला गरिएको छ । कलाबारे जान्न इच्छुक वा पुस्तक पढ्ने चाहना भएका जोकोही पनि पुस्तकालयको दैलोभित्र पस्न सक्छन् ।
सरिफा स्वयम् उपन्यासकार हुन् । उनको जन्म सन् १९३१ मा भएको थियो र सन् १९५४ मा बगदाद विश्वविद्यालयको कला विभागबाट अध्ययन पूरा गरेकी थिइन् । उनी कुनै बेला पत्रकार थिइन् । सन् १९५० को दसकमा सुरुमा उनी इराकको सांस्कृतिक दबुमा देखापरेकी थिइन् । सन् १९५६ मा उनले इराकको एउटा साहित्यिक पुरस्कार पनि जितेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *