भर्खरै :

तराईमा सबभन्दा बढी उपभोक्ता मुद्रा

काठमाडौँ, ४ फागुन । तराईमा उपभोक्ता मुद्रास्फीति बढेको छ । नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा तराईमा उपभोक्ता मुद्रास्फीति ७.४६ प्रतिशत रहेको उल्लेख छ ।
केन्द्रीय बैङ्कले चालू आर्थिक वर्षको ६ महिनाको आर्थिक विवरण आइतबार सार्वजनिक गरेको हो । विवरणअनुसार काठमाडौँ उपत्यकामा ७.२४ प्रतिशत, तराईमा ७.४६ प्रतिशत, पहाडमा ५.३९ प्रतिशत र हिमालमा ५.०१ प्रतिशत मुद्रास्फीति रहेको छ । यस्तै चालू आवको पुस मसान्तसम्म नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.८२ प्रतिशत रहेकोमा भारतमा त्यस्तो मुद्रास्फीति ७.५९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा नेपालको ४.४५ र भारतको मुद्रास्फीति २.०५ प्रतिशत रहेको थियो ।
चालू आवको पुस मसान्तमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १०.२१ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.२५ प्रतिशत रहेको छ । सो अवधिमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी, मसला, दाल तथा गेडागुडी र फलफूल उपसमूहको मूल्यवृद्धि उच्च रहेको छ । गैरखाद्य तथा सेवा समूहअन्तर्गत शिक्षा, लुगा तथा जुत्ता र फर्निसिङ तथा घरायसी उपकरण उपसमूहको मूल्य बढेको छ ।
५७ अर्बको निर्यात
बैङ्कका अनुसार चालू आवको ६ महिनामा कुल वस्तु निर्यात २६.१ प्रतिशतले वृद्धि भई रू. ५७ अर्ब २८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ११.५ प्रतिशतले वृद्धि भएको थियो । भारततर्फ ४५.८ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ ८.५ प्रतिशत र अन्य मुलुकतर्फ ३.८ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पामतेल, अलैँची, जुटका सामान, आयुर्वेदिक औषधि, दाललगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, तयारी पोशाक, जुस, तामाको तारलगायतका वस्तुको निर्यात घटेको छ ।
चालू आवको ६ महिनामा कूल वस्तु आयात चार प्रतिशतले घटेर रू. ६ खर्ब ९४ अर्ब ६९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३०.५ प्रतिशतले बढेको थियो । बैङ्कका अनुसार भारतबाट भएको आयात ९.१ प्रतिशतले घटेको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १२.१ र ०.४ प्रतिशतले बढेको छ ।
वस्तुगत आधारमा कच्चा पामतेल, हटरोल सिट, रासायनिक मल, मेसिनरी तथा पार्टपुर्जा, विद्युतीय उपकरणलगायतका वस्तुको आयात बढेको छ भने एमएस बिलेट, पेट्रोलियम पदार्थ, सुन, यातायातका साधन तथा पार्टपुर्जा, सिमेन्टलगायतका वस्तुको आयात घटेको छ । भन्सार नाकाका आधारमा निर्याततर्फ वीरगञ्ज, विराटनगर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, मेची र तातोपानी भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यात घटेको छ ।
आयाततर्फ सुक्खा बन्दरगाह, तातोपानी, कञ्चनपुर र रसुवा भन्सार कार्यालयबाहेकका नाकाबाट भएको आयात घटेको छ । चालू आवको पुस मसान्तसम्म कुल वस्तु व्यापारघाटा ६.१ प्रतिशतले सङ्कुचन भई रू. ६ खर्ब ३७ अर्ब ४१ करोड रहेको छ । गत वर्षको सोही अवधिमा व्यापारघाटा ३२ प्रतिशतले वृद्धि भएको थियो ।
६ महिनामा चार खर्ब ४७ अर्ब विप्रेषण भित्रियो
बैङ्कको विवरणअनुसार चालू आवको छ महिनामा कूल रू. चार खर्ब ४७ अर्ब २६ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । सो अवधिमा विप्रेषण आप्रवाह ०.९ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३०.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १७.६ प्रतिशतले बढेको थियो ।
अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ््ख्या पुस मसान्तसम्म १७.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ३७.३ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ०.५ प्रतिशतले बढेको छ । यस्तै गत पुस मसान्तसम्मको अवधिमा खुद ट्रान्सफर आय ०.१ प्रतिशतले वृद्धि भई रू. पाँच खर्ब ६ अर्ब पाँच करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २८.७ प्रतिशतले बढेको थियो ।
यस्तै पुस मसान्तसम्म चालू खाता घाटा रू. ८४ अर्ब ७१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रू. एक खर्ब ५२ अर्ब १६ करोड रहेको थियो । गत पुस मसान्तसम्मको अवधिमा शोधनान्तर स्थिति रू. २६ अर्ब ६५ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रू. ६३ अर्ब ६८ करोडले घाटामा थियो । यस्तै गत असार र मसान्तमा रू. १० खर्ब ३८ अर्ब ९२ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति ५.५ प्रतिशतले वृद्धि भई गत पुस मसान्तमा रू. १० खर्ब ९५ अर्ब ९८ करोड बराबर पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *