भर्खरै :

टोखामा १३ औँ जनसाहित्य सम्मेलन

काठमाडौँ, ७ फागुन । नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा १३ औँ जनसाहित्य सम्मेलन बुधबार टोखामा सम्पन्न भयो ।
जनसाहित्य समाज टोखाको आायोजनामा भएको उक्त कार्यक्रमको उद्घाटन गर्दै सांसद सुवालले जनसाहित्य सम्मेलन कामदार वर्गको दबु भएकोले यो दबुमा प्रतिक्रियावादी साहित्यको खण्डन हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “राजनीतिक दलका, नेता र कार्यकर्ताहरू सिद्धान्तनिष्ठ हुनु आवश्यक छ  । निर्वाचन जित्नको लागि वा कुनै मौका छोप्नको लागि सिद्धान्तहीन गठबन्धन वा एकता गर्नु संशोधनवाद हो ।”
सरकारले सहयोग प्राप्त गर्नको लागि अमेरिकी नेतृत्वको सैन्य गठबन्धनमा संलग्न गराउने एमसीसी सम्झौता गर्न नहुने धारणा राख्दै उहाँले भन्नुभयो, “यो सम्झौता गर्ने नेकाका देउवा सरकार देशद्रोही सावित हुनेछ । एमाले–माओवादी सरकारले उक्त सम्झौता संसद्बाट पारित गराए अर्को देशद्रोही काम हुनेछ ।”
क्युवा र प्रजग कोरियाजस्ता देशले आफ्नो सार्वभौमिकतामा चोट पुग्ने गरी कसैको सहयोग नलिएको पाठ नेपाल सरकारले क्युवा र प्रजग कोरियाबाट सिक्नु आवश्यक भएको सचिव सुवालले औँल्याउनुभयो ।
प्रजातन्त्रमा आर्थिक समानता हुन्छ । गणतन्त्रको नाममा नयाँ राजाहरूको उदय निरङ्कुशतन्त्र हो । देशको सन्तुलित विकासको लागि ठूला सहर काठमाडौँ उपत्यकाको खाली जग्गामा होइन पश्चिम नेपालमा विकास गर्नुपर्छ, सांसद सुवालले भन्नुभयो ।
उहाँले भन्नुभयो, “सरकारले लिम्पियाधुरा दाबी नगरी कालापानीमात्र दाबी गर्नु गलत हो ।”
प्रधानमन्त्री केपी ओलीले फागुन ३ गतेको संसदमा सहरी विकास मन्त्रालय को २३९ ठेक्का र खानेपानी तथा सरसफाइ मन्त्रालयको ६८ ठेक्काको अवधि सकिएको बताउनुभयो भने सहरी विकासतर्फ १८ कम्पनीले ४४ प्रतिशत र खानेपानीतर्फ १८ कम्पनीले ६६ प्रतिशत ठेक्का ओगटेको स्वीकार गर्नुभयो । यो तथ्याङ्कले प्रमको भ्रष्टाचार नगर्ने र नगराउने प्रतिबद्धता झूठा सावित ग¥यो, सांसद सुवालले उल्लेख गर्नुभयो ।
कोरोना भाइरसविरूद्ध लडिरहेको चिनियाँ जनताविरूद्ध झूठा कुरा प्रचार गर्नु गलत भएको चर्चा गर्दै उहाँले यतिबेला चिनियाँ जनतालाई सहयोग र समर्थन गर्नु सबैको कर्तव्य हो भन्नुभयो ।
कार्यक्रममा अतिथि सुवालले साहित्यकार मदन श्रेष्ठलिखित ‘शत्रुहरू दैलोमा उभिएका छन्’ कवितासङ्ग्रह विमोचन गर्नुभएको थियो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेशका सभासद् सुरेन्द्रराज गोसाईंले पार्टीको नीति निर्देशनअनुसार प्रदेशसभालाई उपयोग गर्दै आइरहेको बताउनुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य राजेन्द्र चवालले एमसीसी नेपालको हितमा नभएकोले नेमकिपाले एमसीसीको विरोध गर्दै आएको हो भन्नुभयो ।
कार्यक्रममा टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोल, पूर्वजर्नेल प्रेमसिङ्ग बस्नेत, वरिष्ठ इन्जिनियर राजदास श्रेष्ठ, वनस्पतिविद् धर्मराज डंगोल, नेमकिपा टोखा नगर समितिका अध्यक्ष रवीन्द्र डंगोल, पञ्चकुमारी श्रेष्ठलगायतले बोल्नुभएको थियो ।
विभिन्न जनपक्षीय साहित्यकारहरूले साहित्य प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा कविता प्रतियोगितार्फ विशोक डंगोल पहिलो, कर्णबहादुर डंगोल दोस्रो र हिक्मत डंगोल तेस्रो हुन सफल भए भने बाल प्रोत्साहन पुरस्कार समीक्षा डंगोललाई प्रदान गरिएको थियो ।
कार्यक्रममा टोखा क्षेत्रमा विभिन्न सांस्कृतिक क्षेत्रमा योगदान गरेका दाफा तथा भजनका गुरूहरूलाई अतिथि सुवालले सम्मान गर्नुभएको थियो ।
कार्यक्रमको दोस्रो सत्रमा सांस्कृतिक कार्यक्रम देखाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *