भर्खरै :

अफ्रिकामा कोरोना भाइरस प्रतिरोधको तयारी नभएकोमा डब्लुएचओको चिन्ता

काठमाडौँ, १० फागुन । कोरोना भाइरसको सङ्क्रमणको प्रतिरोधका लागि तयारी नभएको भन्दै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले शनिबार चासो व्यक्त गरेको छ ।
सङ्गठन प्रमुख टेड्रोस अधानम गेब्रेयससले अफ्रिकी सङ्घका सदस्य राष्ट्रहरूलाई कोभिड–१९ भनिने भाइरसको सङ्क्रमणसँग आक्रामक प्रतिरोधका लागि एकजुट भएर लाग्न आग्रह गर्नुभएको छ । यद्यपि अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणको पुष्टि अफ्रिकी मुलुकमा इजिप्टबाहेक अन्यत्र आएको छैन । तर, कमजोर स्वास्थ्य प्रणाली रहेका मुलुकहरूमा कोरोना भाइरसको सम्भावित सङ्क्रमण र त्यसको रोकथाम र नियन्त्रणका लागि हाम्रो चासो बढेको छ, टेड्रसले जेनेभामा एक भिडियोमार्फत अफ्रिकी सङ्घका स्वास्थ्य मन्त्रीहरूको भेलालाई गरेको सम्बोधनमा भन्नुभयो ।
डिसेम्बरमा चीनबाट सुरू भएको कोभिड–१९ले अहिलेसम्म दुई हजार २०० भन्दा बढी चिनियाँको ज्यान लिएको छ भने ७५ हजार ५०० व्यक्तिमा सङ्क्रमण भएको पुष्टि भएको छ । चीनबाहिर पनि इरान, फिलिपिन्स, दक्षिण कोरिया, जापानमा रोगको सङ्क्रमण फैलिने क्रम बढ्दो छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार चीनबाहिर अहिलेसम्म करिब एक हजार १५० व्यक्तिमा भाइरसको सङ्क्रमण पुष्टि भैसकेको छ ।
डब्ल्यूएचओका अनुसार अफ्रिकी क्षेत्रमा २०० भन्दा बढी संदिग्ध घटनाहरू देखिएका र यसमा अधिकांश अफ्रिकी देशहरूका नागरिक रहेको सङ्गठनका क्षेत्रीय निर्देशक मत्शिदिसो रेबेका मोतीले शनिबार बताउनुभएको छ । उहाँले सङ्क्रमणको आशङ्का गरिएका ती व्यक्तिमा अहिलेसम्म भाइरसको पुष्टि भने भएको छैन ।
तर, यदि कोभिड–१९ जब अफ्रिकी महाद्वीपमा फैलिन थाल्छ अफ्रिकी स्वास्थ्य प्रणालीलाई पीडित बिरामीहरूको उपचार गर्न जटिल हुनेछ,” डब्ल्यूएचओको टेड्रसले भन्नुभयो ।
“यी बिरामीहरूलाई श्वासप्रश्वासका लागि सहयोगी मेसिन जस्ता उपकरणहरू प्रयोग गरी गहन हेरचाह आवश्यक पर्छ जुन तपाईंलाई थाहा छ, धेरै अफ्रिकी देशहरूमा अभाव रहनेछ त्यसैले यो चिन्ताको विषय हो,” उहाँले भन्नुभयो ।
अफ्रिकी आयोगका अध्यक्ष मौसा फकी महामतले अधिकारीहरूलाई रोकथाम, र नियन्त्रणका कडा उपाय अवलम्बन गर्न आग्रह गर्नुभयो । “हाम्रो प्यारो महाद्वीप, अफ्रिकामा तुलनात्मकरूपमा विश्वका अन्य क्षेत्रको तुलनामा कमजोर स्वास्थ्य प्रणालीको जोखिममा रहेको छ,” उहाँले भन्नुभयो । अफ्रिकी मुलुकमा कोरोना भाइरस परीक्षणको क्षमता भएका देशको सङ्ख्या सङ्क्रमणको व्यापकतासँगै दुईबाट २६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *