भर्खरै :

आफ्नै खुट्टामा उभिएको विकास दिगो

काठमाडौँ, १० फागुन । नेपाल मजदुर किसान पार्टी, तारकेश्वर नगर समितिको प्रथम सम्मेलन शनिबार सम्पन्न भयो ।
सम्मेलनको उद्घाटन गर्दै नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले संरा अमेरिकाले संसारका ७० देशमा ८०० वटा सैनिक शिविर खडा गरेको भन्दै नेपाल अर्को सैन्य शिविर बन्ने खतरा रहेको बताउनुभयो । सहयोगको नाममा संरा अमेरिकाले नेपालमा स्थल सेना तैनाथ गर्न खोजेको भन्दै एमसीसी सम्झौता पारित भए नेपाल साम्राज्यवादीहरूको युद्धभूमि बन्ने छ भन्नुभयो ।
उहाँले विदेशी सहयोगको भरमा देश बन्थ्यो भने नेपाल यसरी गरिब हुँदैनथ्यो भन्दै विदेशी सहयोगको अधिकांश रकम तलबभत्तामा खर्च हुने र लक्षित समूहसम्म १५ प्रतिशतभन्दा कम रकम बराबारको काम हुने गरेको बताउनुभयो । विकास आफ्नै खुट्टामा उभिएको मात्र दिगो हुने भन्दै ऊर्जामा लगानी गर्न नेपाली आफै सक्षम छ भन्नुभयो । केन्द्रीय सदस्य गोसाईले माथिल्लो कर्णाली परियोजना देशमै सबभन्दा कम लगानीमा विद्युत् उत्पादन गर्न सकिने परियाजना भएको तर भारतीय एकाधिकार पुँजीलाई परियोजना सुम्पी विदेशीको दलाली गरेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य सनकमान महर्जनले असंलग्न परराष्ट्र नीति रहेको नेपालले कुनै पनि सैन्य गठबन्धनमा सहभागी हुनु गलत भएको बताउनुभयो । उहाँले छिमेकी चीनविरुद्ध अगाडि सारिएको एमसीसीले नेपाललाई युद्धभूमि बनाउने भन्दै हिन्द प्रशान्त सैन्य कमाण्न्मा नेपाल जानु आत्मघाती हुने तर्क राख्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले पुँजीवादी समाजले भ्रष्टाचार, लोभ र पाप बढाएको भन्दै समाजवादी समाजले मात्र सुख र शान्ति दिने धारणा राख्नुभयो । उहाँले पुँजीवादी समाजमा भ्रष्टाचार निर्मूल नहुने भन्दै जनताको राजनीतिक चेतनास्तर नउठी परिवर्तन सम्भव नभएको बताउनुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य राजवीर डंगोलले काठमाडौं उपत्यकामाथि ७० लाख जनसङ्ख्याको भार थोपरिएको भन्दै अझै जनसङ्ख्या थप्ने सरकारी योजनाविरुद्ध जनता उठ्नुपर्ने विचार राख्नुभयो । उहाँले जनसङ्ख्याको अनियन्त्रित वृद्धिले अपराध बढ्नुको साथै धुलोधुवाँको प्रदूषण र सवारी जामको पीडा थपिएको बताउनुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवालले समाजवादी समाज निर्माणको निम्ति श्रमिक वर्ग राजनीतिक एवम् वर्गीयरूपमा सचेत र सङ्गठित हुनुपर्ने बताउनुभयो ।
नेमकिपा तारकेश्वर नगर समितिका संयोजक श्यामकुमार  महर्जनको सभापतित्वमा भएको कार्यक्रममा नेमकिपा चन्द्रागिरी नगर समितिका गुणदास महर्जन, नेमकिपा टोखाका रवीन्द्र डंगोलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । आयोजक समितिका सदस्य श्रीकुमार महर्जन र सविन महर्जनले पनि बोल्नुभएको थियो ।
सम्मेलनले श्यामकुमार महर्जनको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *