भर्खरै :

मजदुर–किसानको अध्ययन गोष्ठी

काठमाडौँ, १० फागुन । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ केन्द्रीय समितिको आयोजनामा नेपाल मजदुर किसान पार्टीको मुखपत्र ‘मजदुर किसान’ वर्ष ९, अङ्क १, पूर्णाङ्क २३ माघ—चैत २०७६ को अध्ययन गोष्ठी शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन सम्झौता चीन घेर्ने रणनीतिका साथ अगाडि बढेको बताउँदै यसका प्रावधानहरू नेपालको हितविपरीत भएको बताउनुभयो ।

उहाँले एमसीसी सम्झौताअन्तर्गत नेपालको कानुनसँग बाँझिएमा नेपालको कानुन नमान्ने, सम्झौताबाट अमेरिकालाई चित्त नबुझे कुनै पनि बेला हात झिक्न पाउने, लेखा परीक्षण अधिकार अमेरिकासँग रहनेलगायतका नेपालको हितविपरीत प्रावधानहरू रहनुले यसको विरोध भएको बताउनुभयो ।
चीनमा कोरोना भाइरस फैलाउने काम अमेरिकाले गरेको त होइन भन्ने आशङ्का हुनुमा भियतनाम युद्ध, कोरिया युद्ध, क्युवामा हस्तक्षेपलगायतमा अमेरिकाले गरेको किटाणु युद्ध, आणविक युद्ध र रसायनिक युद्धको इतिहास रहेको उहाँले बताउनुभयो ।

उहाँले नेपालको समसामयिक राजनीतिबारे जानकारी दिँदै विद्यार्थी समयदेखि नै राजनीतिमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजुले शासक दलका विद्यार्थी सङ्गठनहरू सरकारमा हँुदा निर्वाचन गराउने र बाहिर हुँदा चुनाव नगराउने शैलीका कारण निर्वाचन नियमित निर्धारित मितिमा हुन नसकेको बताउनुभयो । उहाँले नेकपाको सरकार भ्रष्टाचार र कमिसनमा लिप्त भएका कारण जनतामा आक्रोश बढेको बताउनुभयो ।
कार्यक्रममा आरजी, सुरेश परियार, अनिल फोंजू, ईश्वर शाही, विलम सुवाल, जानकी सिजापतिले पनि ‘मजदुर –किसान’ मुखपत्रबारे आ–आफ्नो अध्ययनको सार प्रस्तुत गर्नुुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *