भर्खरै :

‘श्रमिक’ साप्ताहिकको अन्तरक्रिया

भक्तपुर, १० फागुन । नेपाल मजदुर किसान पार्टी भक्तपुर नगरपालिका वडा नं. ६ एकाइ समितिको आयोजनामा शनिबार ‘श्रमिक’ साप्ताहिक वर्ष २७ अङ्क ५ बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा चर्चित एमसीसी परियोजनाबारे प्रस्तुतीकरण राख्दै नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य राजेन्द्र चवालले नेपाल र संरा अमेरिकाबीच भएको एमसीसी परियोजना सम्झौताले नेपालको सार्वभौमिकता नै खतरामा पार्नसक्ने हुनाले संसद्बाट कुनै हालतमा पारित गर्न नहुने प्रस्ट पार्नुभयो ।
सन् २००४ मा मिलेनियम च्यालेन्ज कर्पोरेसन अफ्रिकामा चीनको प्रभाव कम गर्ने घोषित उद्देश्यसाथ स्थापना गरिएको बताउँदै क्रमशः त्यसलाई अफ्रिकीलगायत एसियाली र दक्षिण अमेरिकी देशहरूमा समेत विस्तार गरेको र त्यसले अमेरिकी हित र उपस्थितिलाई बलियो बनाउने काम गर्ने बताउनुभयो ।
एसियाली शक्ति राष्ट्र चीनलाई घेर्ने र अगाडि बढ्न नदिने उद्देश्यले हिन्द प्रशान्त रणनीति (आईपीएस) बनाएर संरा अमेरिका अगाडि बढिरहेको र अमेरिकी सहायक रक्षामन्त्री र राजदूतले समेत एमसीसी आईपीएससँग जोडिएको बताएको उहाँले प्रस्ट पार्नुभयो ।
उहाँले अमेरिकी सेना नेपालमा राख्ने भूलवश गल्ती गर्न नहुने बताउँदै त्यसबाट नेपालको असंलग्न परराष्ट्र नीति उल्लङ्घन हुने र नेपाली भूमि छिमेकी देशहरूविरुद्ध प्रयोग हुने अवस्था निम्त्याउँछ भन्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार समाजका सदस्य प्रकाश थुसाले ल्याटिन अमेरिकाको समाजवादी लहर साम्राज्यवादी र पुँजीवादीहरूको आँखामा बिझिरहेको बताउँदै बोलिभारियाली समाजवादी प्रक्रिया अन्त गर्न नै संरा अमेरिकाले अनेक निहुँमा भेनेजुयलामाथि पूर्णस्तरको नाकाबन्दी लगाइएको हो भन्नुभयो ।
संरा अमेरिकी साम्राज्यवादले भेनेजुयला, क्युवा, प्रजग कोरिया र इरानलगायत देशमा क्रुर नाकाबन्दी लगाएर ती देशका जनताको जीवन कष्टकर बनाइरहेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा सर्जक युसुप दुवालले ‘श्रमिक’ साप्ताहिकमा प्रकाशित कविताहरूको समीक्षा प्रस्तुत गर्नुभयो । आयोजक समितिका अध्यक्ष गणेशराम थुसाले कम्युनिस्ट दाबी गर्ने सरकार पाइला पाइलामा पश्चिमा साम्राज्यवादीहरूसमक्ष आत्मसमर्पण गर्दै गएको र भ्रष्टाचारमा डुब्दै गएको चर्चा गर्दै फागुन १३ गते एमसीसी परियोजना सम्झौताविरुद्ध काठमाडौँमा हुने जुलुस तथा अमेरिकी दूतावासमा विरोध पत्र दिने कार्यक्रममा सहभागी हुन आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *