भर्खरै :

ट्रम्पको भारत भ्रमणः दिल्ली भिडन्तमा प्रहरी मारिए

नयाँ दिल्ली, २४ फेब्रुअरी । राष्ट्रपति बने पछि पहिलोपटक स–परिवार भारत भ्रमणमा आएका डोनाल्ड ट्रम्पलाई गुजरातको अहमदाबादस्थित सरदार बल्लभभाइ पटेल रङ्गशालामा स्वागत हुँदै गर्दा राजधानी नयाँ दिल्ली भने सोमबार तनावग्रस्त रह्यो । दिल्लीको मौजपुर क्षेत्रमा हालै भारतीय संसदबाट पारित भएको विवादास्पद नागरिकता संशोधन ऐन (सीएए) का पक्षधर र विपक्षबीच भएको भिडन्त हुँदा एक जना प्रहरी जवान मारिएका छन् । आइतबारदेखि सुरु भएको भिडन्त सोमबार पनि चालू रहेको थियो । सुरक्षाको कारण देखाएर दिल्ली मेट्रो रेल कर्पोरेसनले जाफ्राबाद र मौजपुर–बाबरपुर स्टेशनमा आवतजावत बन्द गरेको छ ।
ट्रम्पको भारत भ्रमणकै बेलामा मानवअधिकारवादी सङ्गठन एमनेस्टी इन्टरनेसनलले सोमबार एक वक्तव्य जारी गरेर संरा अमेरिका र भारत दुवै देशका नेताहरूमा मुसलमानविरोधी भावना रहेको बताएको छ । एमनेस्टीले दुवै देशका सरकारले धार्मिक विभाजनकारी र निर्मम नीति अङ्गीकार गरेको वक्तव्यमा भनेको छ । एमनेस्टीको संरा अमेरिकी र भारतीय एकाइले जारी गरेको संयुक्त वक्तव्यमा सो कुरा उल्लेख छ ।
दुईदिने भारत भ्रमणमा आएका ट्रम्प दम्पत्ती स्थानीय समयअनुसार बिहान ११ः४० बजे अहमदाबादको सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । भारतका प्रधानमन्त्री मोदीले आफ्नो कहलिएको अङ्गालोसहित ट्रम्पलाई स्वागत गरेका थिए । अहमदावादकै मोटेरा रङ्गशालामा आयोजित ‘नमस्ते ट्रम्प’ कार्यक्रममा दुवै नेताले बोलेका थिए ।
ट्रम्पको भाषण मूलतः चीनप्रति लक्षित थियो । उनले पटक पटक भारत र संरा अमेरिका प्रजातान्त्रिक देश भएको भन्दै चीनप्रति लक्षित अभिव्यक्ति दिएका थिए । उनले भारतका क्रिकेट खेलाडी, बलिउड आदिको चर्चा गर्दै संरा अमेरिका र भारतबीचको सम्बन्धबारे बोलेका थिए । उनले स्वामी विवेकानन्दको भनाइ उद्धरण गर्दै दुई देशको मित्रताको चर्चा गरे । उनले पाकिस्तानसँग संरा अमेरिकाको सम्बन्ध राम्रो भएको भनेर भारतसँग मित्रताको हात बढाएर पाकिस्तानसँग सम्बन्ध बिग्रन सक्नेमा सावधानी अपनाएका थिए । ट्रम्पले पाकिस्तानको प्रसङ्ग बोल्दै गर्दा मोदीले पछाडि बसेर ताली पिटेका थिए । तथापि उनले विवेकानन्दको नाम उच्चारण गर्न जानेका थिएनन् । सो सभामा ट्रम्पले भारतसँग रक्षा सम्झौता गर्ने घोषणा गरेका थिए ।
ट्रम्पले आफ्नो भाषणको केही समय आफ्नो सरकारको आत्मप्रशंसा गरेका थिए । उनले मोदीको पनि खुलेर प्रशंसा गरेका थिए । उनको प्रशंसाबाट मख्ख परेका मोदीले ट्रम्पको भाषणपछि आफ्नो र आफ्नो सरकारको आत्मप्रशंसामा भाषण गरेका थिए । दुवै नेताको भाषणपछि मोदी ट्रम्पलाई समेत उछिनेर मञ्चको अग्रभागमा गएर जनतालाई अभिवादन गरेका थिए । उनको हाउभाउ निकै गैरकूटनीतिक देखिएको थियो । उनको शारीरिक हाउभाउले आफू ट्रम्पभन्दा कम नभएको देखाउन खोजिरहेको प्रतीत हुन्थ्यो ।
ताजमहलमा ट्रम्प
अमेरिकी राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानियाले सोमबार ताज महलको भ्रमण गरे ।
अहमदाबादबाट आगरा पुगेका अमेरिकी उच्च पदाधिकारीले मुगल शासक शाहजहाँले आफ्नी प्रिय पत्नी मुमताज महलको सम्झनामा निर्माण गरेको स्मारकको ध्यानपूर्वक अवलोकन गरेका थिए ।
भ्रमणपछि अमेरिकी राष्ट्रपति ट्रम्पले ताजमहलमा राखिएको आगन्तुक पुस्तिकामा लेखे, “ताजमहलले मोहित तुल्याउँछ । यो भारतीय संस्कृतिको समृद्ध र विविध सौन्दर्यको शाश्वत प्रमाण हो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *