भर्खरै :

महाथिर मोहम्मदले दिए राजीनामा

क्वालालम्पुर, १२ फागुन (एपी) । मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले प्रधानमन्त्री पदबाट सोमबार राजीनामा गर्नुभएको छ । दुई वर्ष पहिले निर्वाचनमा विजयी हुनु भएका महाथिरको सत्तारुढ गठबन्धनका सांसदहरूले सत्ता छाड्ने एकाएक निर्णय गरेपछि उहाँ राजीनामा गर्न बाध्य हुनुभएको हो ।
प्रधानमन्त्रीको कार्यालयले जारी गरेको संक्षिप्त वक्तव्यमा सोमबार महाथिरले राजासमक्ष राजीनामा गर्नुभएको उल्लेख छ तर राजीनामाको बारेमा विस्तृत केही बताइएको छैन ।
प्रधानमन्त्री महाथिरकै दलका सांसदहरूले विपक्षी दलसँग साँठगाँठ गरेर नयाँ सरकार गठन गर्ने तयारी गरेपछि उहाँ राजीनामा गर्न बाध्य हुनुभएको बताइएको छ । महाथिरले आफ्नो उत्तराधिकारीका रूपमा अनवर इब्राहिमलाई अघि सार्न खोजेको भन्दै पार्टीभित्र असन्तोष चुलिएको थियो ।
राजीनामा दिनुअघि महाथिरको बर्सातु पार्टीले सत्ता गठबन्धन त्याग्ने तर महाथिरलाई प्रधानमन्त्रीका रूपमा समर्थन जारी राख्ने जनाएको छ । सरकारमा सम्मिलित मन्त्रीहरूसमेत ११ जना सांसदले अनवरको पार्टी परित्याग गर्ने घोषणा गरेका छन् ।
महाथिरको बर्सातु र अनवरको पार्टीका झन्डै ५० जना सांसदले सत्ता गठबन्धन त्यागेको अवस्थामा अनवरलाई पनि सरकार गठन गर्न मुश्किल हुनेछ ।
महाथिर र अनवर दुवैले मलेसियाको राजनीतिमा वर्षौंदेखि प्रभाव पारिरहेका छन् । यी दुई वरिष्ट नेताको अग्रसरतामा सन् २०१८ को चुनावमा तत्कालीन सरकार परास्त भएको थियो । चुनाव अघि यी दुई नेताबीच निश्चित समयभित्र आलोपालो सरकार चलाउने सहमति भएको थियो तर महाथिरले अनवरलाई सत्ता हस्तान्तरण गर्न ढिलाइ गर्नुभएको थियो ।
अनवरले सोमबार नै सरकारले अघि सारेको सुधारको कार्ययोजना सन्तोषप्रद रहेको बताउनुभएको छ । तर, उहाँले सत्ता गठबन्धनका बारेमा केही बताउन चाहनुभएन ।
पछिल्लो राजनीतिक सङ्कटका कारण भ्रष्टाचारको आरोपमा मुद्दा झेलिरहनु भएका मलाए पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री नजिब रजाकको भूमिका फेरि बढ्ने अनुमान गरिएको छ । कट्टरपन्थी इस्लामिक पार्टीसँग गठबन्धन गरेको मलाए पार्टीको प्रभाव मलेसियाको राजनीतिमा पुनः देखिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *