भर्खरै :

पल्र्स अनुगमन प्रणाली तालिम सम्पन्न

भक्तपुर, १३ फागुन । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि.को वित्तीय सेवा प्रवद्र्धन उपसमितिको आयोजनामा मिति २०७६ फाल्गुण १२ गते सूर्यविनायक रिसोर्ट घलाँटे, भक्तपुरमा सम्पन्न भयो । २०७६ फागुन ११ गतेदेखि १२ गतेसम्म दुईदिन सञ्चालन भएको उक्त पल्र्स तालिमको समापन समारोहमा सङ्घका अध्यक्ष कृष्णगोविन्द लाखाजूले सहभागीहरूलाई प्रमाण पत्र वितरण गर्दै सङ्घले सदस्य संस्थाहरूलाई पल्र्स अनुगमन प्रणालीको जानकारी गराई संस्थाको वित्तीय स्वस्थता संस्था स्वयम्ले मापन गर्न सकोस् भन्ने हेतुले हरेक वर्ष यस तालिमको आयोजना गर्दै आएको कुरा बताउनुभयो ।
सङ्घका कोषाध्यक्ष एवम् वित्तीय सेवा प्रवद्र्धन उपसमितिका संयोजक कान्छाभक्त घजुले संस्था सक्षम भए नभएको विषयमा नियमित परीक्षण गरी सोको परिणामको आधारमा संस्थाको काम कारवाहीमा अपनाउनुपर्ने सावधानी तथा योजना तर्जुमा गर्न पल्र्स अनुगमन प्रणाली अवलम्बन गर्नुपर्ने विचार राख्दै सिकेका कुरा व्यवहारमा अपनाउनुपर्ने विचार राख्नुभयो ।
वित्तीय सेवा प्रवद्र्धन उपसमितिका सदस्य राजकुमार लघुले धन्यवाद मन्तव्यसहित अन्तर्राष्ट्रिय स्तरमै प्रमाणित र नियामक निकाय सहकारी विभागद्वारा जारी मापदण्डमा समेत अनिवार्य गरिएको पल्र्स अनुगमन प्रणाली बचत तथा ऋण कारोबार गर्ने सबै सहकारी संस्थाले अनिवार्य अवलम्बन गर्नुपर्ने भएकोले बचत तथा ऋण सहकारी संस्थाले यस प्रणालीको ज्ञान राख्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
सङ्घका व्यवस्थापक बालकृष्ण धोँजु र शुभकामना बचत तथा ऋण सहकारी संस्था लि.का प्रमुख कार्यकारी अधिकृत राधेश्याम दुवालले प्रशिक्षण दिनुभएको सो कार्यक्रममा सदस्य संस्थाहरूबाट ३१ जनाको सहभागिता रह्यो । सहभागीको तर्फबाट दिव्यश्वरी बचत तथा ऋण सहकारी संस्था लि.का शोभा हेका, नमूना बचत तथा ऋण सहकारी संस्थाका ममता पराजुली, भक्तपुर महिला बचत तथा ऋण सहकारी संस्था लि.का चंचली कर्माचार्य र बेखाल बचत तथा ऋण सहकारी संस्थाका विशाल सिमांकलगायतले तालिम प्रभावकारी रहेको कुरा बताउनुभयो । वित्तीय सेवा प्रवद्र्धन उपसमितिका सदस्य राजाराम गोसाईले समापन कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *