क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !
- जेष्ठ ८, २०८३
अभिभावक साथीहरू,
अभिवादन !
हाम्रो भेटघाट छोरा–छोरी र नाति–नातिना पढ्ने विद्यालयमा हुन्छ । विद्यालयका कार्यक्रम हेर्छौँ, नाचगान हेर्छौँ र रमाएर फर्कन्छौँ । तर, त्यहाँ हाम्रा मनका कुराहरू गर्ने समय नै हुँदैन र अर्को कार्यक्रममा भेट्ने विचार गर्र्दै फर्कन्छौँ । यसकारण, आज पत्र लेखेर हामी अभिभावकको मनमा गुम्सिएका भावनाहरू फुकाउने मेसो गर्दै छु ।
केही दिन अगाडि नाति र नातिनीहरू लिएर विद्यालय गएको थिएँ । एक–दुई जना अभिभावकहरू विद्यालयका प्रिन्सिपलसँग भन्दै थिए – “सर, हाम्रा छोरा–छोरीहरूलाई राजनीतिक कुरा नसिकाउनु होला । राजनीतिक पार्टी र नेताहरू भनेपछि हामीलाई वाक्कै लाग्छ ।”
प्रिन्सिपल सरले सोध्नुभयो, “किन राजनीतिक दल र नेताहरूप्रति यति धेरै नकारात्मक दृष्टिकोण राख्नुहुन्छ ?” प्रिन्सिपल सरको मुहार उज्यालो र हसिलो देखिन्थ्यो, आश्चर्यका रेखाहरू पनि झल्किन्थे ।
“सर, यी पार्टीका नेताहरू खाली चन्दा माग्न आउँछन्, दिएन भने धम्काउँछन् । प्रहरीसँग पनि मिल्छन्, सरकारमा गएपछि सानो काम गर्न पनि घूस माग्छन् । घूस नदिएसम्म पटक्कै काम गर्दैनन् ।” एक अभिभावकले बिनारोकतोक बेलिविस्तार लगाए ।
सरले सोध्नुभयो, “तपार्इँहरूको पेशा के हो ? यसबारे मैले तपाईँहरूसँग कुरा गर्ने समय नै पाएको थिइनँ । आज कुरा गरौँ ।”
दोस्रो अभिभावकले आफ्नो र अन्य दुई जना अभिभावकको परिचय दिँदै भने, “सर, म घर–जग्गाको व्यापारी हुँ । पाँच लाखमा कसैको जग्गा मिलाएँ भने १० लाखमा बेच्छु र खुद्रे दलालहरू, लेखनदास अनि कर्मचारीहरूलाई एक–डेढ लाख फाल्छु । मैले यसरी २–४ करोड कमाएँ, राम्रै घर–खेत जोडेको छु, २–४ रोपनी खेत पनि किनेको छु ।”
एकछिन हाँसेर पहिलो अभिभावकको परिचय दिँदै भने, “सर, उहाँ मेरै साथी हुनुहुन्छ, उहाँ इँटा भट्टा चलाउनुहुन्छ, उहाँको तीनवटा भट्टा छन्, वर्षको एक–दुई करोड कमाउनुहुन्छ । छोरा–छोरी सबै अमेरिकामा छन् ।”
तेस्रोको परिचय दिँदै भने, “उहाँ थोक व्यापारी हुनुहुन्छ । कहिलेकाहीँ गोदामको निरीक्षण आउँदा, नगरपालिका र प्रहरीले घूस नखाँदा र कारबाही गर्दा आउने समाचार अनि चर्को जरिवानाले राजनीतिकर्मीप्रति अलि रिसाउनुहुन्छ ।”
सरले सोध्नुभयो, “किन ? तिनीहरूले आफ्नो कर्तव्य पूरा गरेका होइनन् र ?¤”
थोक व्यापारी अभिभावकले भने, “मैले निर्वाचनमा एक लाख चन्दा दिएको तर म प्रहरी खोरमा पर्दा कुनै प्रकारको मद्दत गरेनन् । त्यसैले राजनीतिकर्मीहरू मलाई मन पर्दैन ।”
प्रिन्सिपल सरले हाँस्दै भन्नुभयो, “चन्दा त चुनावको निम्ति लिएको हो, अपराधीलाई छुटाउन होइन ।”
‘अहो सर ¤ मेरो सालोले उसले बोकेको साथीको नासो ठिमीसम्म पु¥याउँदा उसलाई चौकीले पक्र्यो । बोरामा के थियो थाहा पाएन । चन्दा दिएका जिल्लाकै नेताले माथि दिनुपर्छ भनी ५ लाख घूस माग्यो र लियो पनि । घुस्याहा नै मन्त्री भयो ¤ त्यसैले राजनीतिकर्मी मन पर्दैन ।”
पहिलो अभिभावकले भने, “सर, उहाँ मूर्तिको व्यापार गर्नुहुन्छ र मौकामा सहयोग लिने हेतुले राजनीतिक पार्टीलाई चन्दा दिनुहुन्छ । उल्टै तर्साएर पैसा लिने हुँदा रिसाउनुभएको हो ।”
इँटा भट्टाको व्यापारीले भने, “सर, राजनीतिक कार्यकर्ताहरू कहिले एक्ला–एक्लै आउने र चन्दा माग्ने, कहिले सबै दल मिलेर आउने, ५–१० लाख माग्ने । दिएन भने गाउँमा प्रदूषण बढ्यो, इँटा भट्टा बन्द गर्नुपर्छ भन्दै आफ्ना मन्त्रीहरूलाई उजुर गर्ने र प्रहरी पठाउने गर्छन् । सबै इँटा भट्टा मिलेर ३ करोड रूपैयाँ मन्त्रीलाई बुझाएका थियौँ । तर, पछि २ करोडमात्रै दियो भनी हाम्रै इँटा भट्टाका मालिकबीच झगडा लगाइदिए । यसकारण हाम्रा छोराछोरी र नाति–नातिनीहरूलाई राजनीतिको शिक्षा नदिनुहोला भनी अनुरोध गर्न आएको ।”
एकै श्वासमा यति लामो कुरा गरेको सुन्दा म त छानाबाट खसेजस्तै भएँ । तर, प्रिन्सिपल सरले बिस्तारै सबै अभिभावकलाई सम्झाउनुभयो –“अभिभावकज्यूहरू, हाम्रो देशको भूगोल र इतिहासबारे छात्र–छात्राहरूलाई राम्रो जानकारी दिनु राजनीति हो । विद्यार्थीलाई देशको अर्थतन्त्र, स्वास्थ्य शिक्षा र अन्तर्राष्ट्रिय गतिविधिको परिचय दिनु, विज्ञान र प्रविधिको जानकारी दिनु राजनीति हो । साथै, हाम्रा छोरा–छोरी र नाति–नातिनीहरूलाई राम्रो बानी–व्यहोरा सिकाउनु, आफ्ना बुबा–आमा, हजुरबुबा र हजुरआमाहरूलाई सम्मान गर्न, उहाँहरूको कुरा सुन्न र सेवा गर्न सिकाउनु राजनीति हो ।”
प्रिन्सिपल सरले भन्नुभयो, “हाम्रो देश रहे हामी रहन्छौँ, हाम्रो देश नरहे हामीले मात्र होइन –हाम्रा छोरा–नातिले पनि दुःख पाउनेछन् । अहिले हाम्रो छिमेकी मित्र देश भारतले हाम्रो देशको कालापानी, लिम्पियाधुरा र लिपुलेक आफ्नो नक्सामा पारेकोबारे बताउनु राजनीति हो । साथै, बलियोले निर्बलियोलाई थिच्दा त्यस अन्यायको विरोधमा बोल्न सिकाउनु राजनीति हो । यदि हामीले विद्यालयमै साना–तिना कुरा सिकाएनौँ भने आफूलाई, आफ्नो परिवारलाई र देशलाई अन्याय हुँदा बोल्नसमेत जान्ने छैनन् ।”
अभिभावकहरू आपसमा मुखामुख गर्दै सुन्दै थिए । प्रिन्सिपल सरले थप्नुुभयो, “अभिभावकज्यूहरू, घूस खानु, जबरजस्ती चन्दा लिनु, प्रहरी लगाएर तर्साउनु र मन्त्रीहरूलाई समेत घूस खुवाउनु राजनीति होइन । त्यो त ठगी र बेइमानी हो, अपराध गर्नु हो ।”
यसकारण, अभिभावकज्यूहरू, बरोबर आउनुहोला । आफ्ना सन्तानको बानी–व्यहोरा कमी–कमजोरी देख्नुभयो भने विद्यालयमा बताउनुहोला । तर, तिनीहरूलाई तर्साउने, गाली गर्ने र थप्पड हान्ने काम नगर्नुहोला । बरु हामीले सम्झाइ–बुझाई हाम्रा विद्यार्थीलाई राम्रा र समझदार बनाउने कोशिस गर्दै जानेछौँ ।”
झण्डै एकघन्टाको वार्तालापपछि अभिभावक मित्रहरूको मुखमा सन्तोषको भावना देखेँ । अभिभावकहरूले सरलाई फेरि – फेरि आउने वचन दिँदै, समय लिएकोमा झिँजो नमान्नुहोला भनी धन्यवाद दिँदै फर्के ।
प्रिय अभिभावक मित्रहरू,
म बरोबर विद्यालय जाने गरेको छु र त्यस्ता केही बताउनुपर्ने विषयहरू भए बताउनेछु । अहिले हाम्रो देशलाई संरा अमेरिकाले एमसीसी भन्ने सैन्य सम्झौतामा फसाउने योजना बनाएको बारे ठूलो हलचल छ, अर्को पत्रमा त्यसबारे लेखौँला ! आज बिदा ! धन्यवाद !
तपाइँको एक अभिभावक मित्र
Leave a Reply