भर्खरै :

ज्येष्ठ नागरिक आदर निकेतन स्थापनामा सहकारीको संलग्नता आवश्यक

भक्तपुर, १४ फागुन । सहकारिताः लगनशील र पारदार्शिता हाम्रो प्रतिबद्धता भन्ने नारा अघि सार्दै स्थापना भएको भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को नवनिर्मित दोस्रो भवनको बुधबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले एक समारोहबीच उद्घाटन गर्नुभयो ।
हरेक सहकारी संस्थाका पदाधिकारी र सदस्यहरूमा भ्रष्टाचारविरोधी भावना हुनुपर्ने आवश्यकता औँल्याउँदै पार्टी अध्यक्ष बिजुक्छेँले वृद्धवृद्धाहरूको सेवा गर्ने आदर निकेतन खोल्नेतर्फ सहकारी संस्थाहरूले चिन्तनमनन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
निःस्वार्थरूपले देश र जनताको सेवा गर्नु नै सच्चा राजनीति हुने विचार व्यक्त गर्दै उहाँले सहकारीले आर्थिक कारोबारसँगै कला र संस्कृतिको विकासमा पनि ध्यान पु¥याउनुपर्छ भन्नुभयो ।
समुदायमा आधारित नभएका सहकारी संस्थाले सदस्यहरूको पैसा लिएर भागेको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले एक व्यक्ति एक सहकारीबारे सरकारको प्रस्ट धारणा जानकारीमा नआएको बताउनुभयो । एक सहकारी एक व्यक्ति लागू गरेझैँ एउटा व्यक्तिले एउटै बैङ्कमा मात्र कारोबार गरे सम्भव होला र भन्ने जिज्ञासा राख्दै उहाँले त्यसबारे सरकारको स्पष्ट धारणा हुनुपर्छ भन्नुभयो ।
भू–बनोट अनुसार घर निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले काठ, इँटा र माटोले बनेको घर बस्न सहज र सजिलो हुने बताउनुभयो ।
राष्ट्रिय सहकारी बैङ्कका प्रतिनिधि सरिता भट्टराईले भक्तपुर नगरभित्र पनि सहकारी बैङ्कको शाखा खोल्ने तयारी गरिरहेको चर्चा गर्दै सेयर सदस्यलाई सेवा र सुविधा दिएर जनताको विश्वास जित्नु नै संस्थाको सफलता हो भन्नुभयो ।
भनपा वडा नं ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले काम गरी खाने श्रमजीवी वर्गको सङ्कलित रकम सहकारी सदस्यहरूबीच पारिचालन गरेर धोका नदिई निःस्वार्थपूर्वक सेवामा जुटेका सहकारी संस्थाको प्रगति भइरहेको उल्लेख गर्दै सहकारी सदस्यहरूको जीवनस्तर उकास्न उत्पादनमूलक काममा जोड दिनुपर्छ भन्नुभयो ।
आ–आफ्नो सीप उपयोग गरी संस्कृति प्रवद्र्धन गर्नसके रोजगारीको अवसर मिल्ने विश्वास व्यक्त गर्दै उहाँले यहाँको कला–संस्कृतिलाई जीवन्तता दिन भक्तपुर महोत्सवमा नृत्य, बाँसुरी र डाफा भजनको पनि प्रतियोगिता गर्न लागेको बताउनुभयो ।
वडाध्यक्ष ज्याख्वले दम रोगीहरूको उपचार गर्न उपचार केन्द्र, आँखा केन्द्र र आयुर्वेदिक उपचार सेवा गरिरहेको जानकारी दिंदै उहाँले भक्तपुर महोत्सवमा आ–आफ्ना सीप र कलाको प्रदर्शन गर्न र गराउन पनि आग्रह गर्नुभयो ।
भक्तपुर जिल्ला बचत सङ्घका उपाध्यक्ष हरि बल्लले भक्तपुर बचत बित्तीय क्षेत्रमा उपत्यकाकै पहिलो सम्पन्न र उदाहरणीय संस्था भएको चर्चा गर्दै सहकारी ऐन एक आपसमा बाझिएको हुँदा सहकारी संस्था र सदस्यहरू अन्योल भइरहेको बताउनुभयो ।
स्वेच्छिक र ऐच्छिक सदस्य बन्न पाउने सहकारी सिद्धान्तविपरीत कुनै शेयर सदस्यलाई दोहोरो सदस्यताको आधारमा घोक्राउन मिल्छ कि मिल्दैन भन्ने जिज्ञासा राख्दै सङ्घीय सरकारको सहकारी ऐन र प्रदेशको ऐन बाझिएपछि सहकारी सङ्घ संस्थाले कुन ऐनलाई मान्यता दिने अस्पष्ट रहेको विचार व्यक्त गर्नुभयो ।
दोहोरो शेयर सदस्यता खारेज गरेर उसले लिइरहेको ऋण कसरी उठाउने भन्ने समस्या हुने हुँदा नियमन निकाय यसतर्फ सचेत हुनुपर्ने विचार व्यक्त गर्दै उहाँले सेवा सुविधा र विश्वास दिएर अघि बढेको संस्थाको लागि फोर्स मर्जको आवश्यकता नभएको उहाँले बताउनुभयो ।
संस्थाका अध्यक्ष बलराम प्रजापतिको सभापतित्वमा भएको सो समारोहमा उपाध्यक्ष निर्मल प्रजापतिले स्वागत, सचिव लक्ष्मीप्रसाद कुसीले कार्यक्रमको उपादेयता र सदस्य विष्णुकुमार प्रजापतिले नवनिर्मित भवनबारे जानकारी दिनुभएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *