भर्खरै :

नयाँदिल्ली हिंसामा मृतकको सङ्ख्या ३४ पुग्यो, छिटपुट हिंसा जारी

नयाँदिल्ली, १५ फागुन
(एएफपी) । भारतको राजधानी नयाँदिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका कारण बिहीबार बिहानसम्म ३४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार झन्डै २०० जना घाइते भएका छन् ।
हिंसा नियन्त्रणका लागि उत्तरपूर्वी दिल्लीमा हजारौँ दङ्गा प्रहरी र अर्धसैनिक बल परिचालन गरिएको छ । जिटिबी अस्पतालका निर्देशक सुनिल कुमारले अस्पतालमा ३० जनाको मृत्यु भएको बिहीबार जानकारी दिनुभयो । लोकनायक अस्पतालका मुख्य चिकित्सकले आफ्नो अस्पतालमा दुई जनाको मृत्यु भएको बताउनुभयो ।
जिटिबी अस्पतालका निर्देशक कुमारले मृत्यु भएका सबैलाई बन्दुकको गोली लागेको बताउनुभयो । विवादास्पद नागरिकता कानुनलाई लिएर तीन महिनादेखि देशैभर विरोध प्रदर्शन भइरहेका छन् र यस क्रममा एक सत्न्दा बढीको ज्यान गइसकेको छ । पछिल्लो हिंसात्मक झडप उक्त कानुनको पक्ष र विपक्षमा रहेका हिन्दु र मुस्लिम समुदायबीच भइरहेको छ ।
हातमा लाठी, बन्दुक, पेस्तोल बोकेका सशस्त्र प्रदर्शनकारीले उत्तरपूर्वी दिल्लीका घर, पसल, मस्जिद, विद्यालय, टायर बजार र पेट्रोप पम्पमा लुटपाट, आगजनी र तोडफोड गरेका थिए ।
दिल्ली प्रहरीका प्रवक्ता मन्दीप रन्धवाले बुधबारदेखि बिहीबार रातसम्म ठूलो हिंसात्मक झडप नभएको र अघिल्ला दिनको तुलनामा परिस्थिति शान्त देखिएको बताउनुभयो । केही मानिसले प्रहरीको मद्दत माग्दै फोन गरेका र त्यहाँ तत्काल प्रहरी पुगेको पनि उहाँले जानकारी दिनुभयो ।
गत आइतबार मुस्लिम समुदायका व्यक्तिहरूले नागरिकता कानुनको विरोधमा सडकमा जुलुस निकालेकै समयमा अतिवादी हिन्दु समूहले आक्रमण गरेपछि परिस्थिति नियन्त्रणबाहिर पुगेको थियो । स्थानीयवासीले दिल्ली प्रहरीले हिंसामा उत्रिएको समूहलाई नियन्त्रणमा ल्याउन कुनै प्रयास नगरेको आरोप लगाएका छन् ।
गत डिसेम्बरमा मात्र उत्तर प्रदेशका मुस्लिम बहुल इलाकाहरूमा भएका प्रदर्शनमा कम्तीमा ३० व्यक्तिको ज्यान गएको थियो ।
संशोधित नागरिकता कानून र राष्ट्रिय अभिलेख रजिष्टरका नाममा आफूहरूलाई राज्यविहीन बनाउने भारत सरकारको कुत्सित मनसाय देखिएको मुस्लिम समुदाय र बौद्धिक समूहको दाबी छ । तर, भारत सरकारले कुनै पनि मुस्लिमलाई राज्यविहीन नबनाउने बताइसकेको छ ।
नयाँदिल्लीको सर्वाधिक प्रभाव परेको उत्तरपूर्वी क्षेत्रमा विद्यालयहरू बन्द गरिएका छन् भने ठाउँ–ठाउँमा कफ्र्यु आदेश जारी गरिएको छ ।
प्रहरीले बुधबार नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको निवासबाहिर भेला भएको भीडलाई तितरबितर बनाएको थियो । यो भीडमा खासगरी जवाहरलाल नेहरू विश्वविद्यालयका विद्यार्थीहरू, जामिया मिलिया इस्लामियाका सदस्यसमेत रहेका थिए । उनीहरूले मुख्यमन्त्री केजरीवाललाई भेट गरी दिल्ली हिंसासँग सम्बन्धित विषयमा मागपत्र प्रस्तुत गर्न चाहेका थिए ।
मोदी सरकारले सन् २०१९ को डिसेम्बर ११ मा विवादास्पद नयाँ नागरिकता कानुन राज्यसभाबाट पारित गराएसँगै यसको पक्ष र विपक्षमा भारतीय जनमत बाँडिएको छ । नयाँ नागरिकता कानुनले खासगरी भारतीय मुस्लिम समुदायलाई चिढ्याएको छ ।
नयाँ कानुनअनुसार धार्मिक आस्थाका आधारमा बङ्गलादेश, अफगानिस्तान र पाकिस्तानमा पीडित भइरहेका हिन्दु, सिख, बौद्धमार्गी, जैन, पारसी र इसाई सम्प्रदायका व्यक्तिलाई भारतमा नागरिकता दिइने व्यवस्था गरिएको छ । तर, तिनै देशमा पीडित भइरहेका कतिपय अल्पसङ्ख्यक मुस्लिमलाई भने यस्तो सुविधा नदिइएको भारतीय मुस्लिम समुदायको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *