भर्खरै :

भक्तपुर नपामा स्थानीय पाठ्यक्रमबारे विज्ञहरूसँग परामर्श बैठक

भक्तपुर, १५ फागुन । भक्तपुर नगरपालिकाको आयोजनामा स्थानीय पाठ्यक्रम निर्माणसम्बन्धी विज्ञहरूसँगको परामर्श बैठक बिहीबार नगरपालिकाको सभाकक्षमा सम्पन्न भयो । भक्तपुर नपाले भक्तपुरका सबै विद्यालयहरूमा कक्षा २ र ७ कक्षा १ र ६ को स्थानीय पाठ्यक्रम निर्माण गरिसकेको छ । नगरपालिकाले कक्षा ३ र ८ को पाठ्यक्रम र ‘ख्वपको पहिचान’ नामक पाठ्यपुस्तक प्रकाशन गर्ने क्रममा छ ।
विज्ञहरूसँगको परामर्श बैठकमा सम्बोधन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको मौलिक सीप, प्रविधि, इतिहासबारे नयाँ पुस्तालाई जानकार बनाउन नगरपालिकाले शैक्षिक वर्ष २०७५ देखि ४ वटा कक्षामा स्थानीय पाठ्यक्रम लागू गरिसकेको बताउनुभयो ।
भक्तपुर नगरपालिका नेपालमा स्थानीय पाठ्यक्रम लागू गर्ने पहिलो नगरपालिका भएको बताउँदै प्रमुख प्रजापतिले पाठ्यसामग्रीको रूपमा ‘ख्वपको पहिचान’ नामक पुस्तक प्रकाशनमा ल्याएको बताउनुभयो । भक्तपुर नपाद्वारा गठित स्थानीय पाठ्यक्रम तयारी कार्यदल र विज्ञहरूको सल्लाहअनुरुप पाठ्यक्रमका विषयवस्तु आधारित रहेको बताउँदै उहाँले भन्नुभयो, “भक्तपुरमा अध्ययनरत विभिन्न जिल्लाका विद्यार्थीहरूले पनि यहाँको मौलिक खेलकुद, संस्कृति, पर्यटन, खानालगायतको विषयमा जान्ने अवसर पाउनेछन् ।’
स्थानीय पाठ्यक्रमसम्बन्धी जानकारी दिँदै स्थानीय पाठ्यक्रम तयार कार्यदल सदस्य सिद्धिरत्न शाक्य स्थानीय पाठ्यक्रम लागू गर्नुको उद्देश्यबारे प्रस्ट पार्दै भक्तपुरबासीले आफू जन्मे/हुर्केको ठाउँ र संस्कृतिकबारे ज्ञान बाँड्न पाठ्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
कार्यक्रममा सहभागी विज्ञहरूद्वारा भक्तपुर नपाले भक्तपुरका विद्यालयहरूमा लिपी र भाषाका कक्षाहरू सञ्चालन गर्नुपर्ने, विद्यार्थीलाई मौलिक संस्कारहरूबारे अडियो–भिडियोसहितको डकुमेन्ट्री देखाई सिक्ने अवसर दिनुपर्ने, समाजप्रति उत्तरदायी बनाउने ढङ्गले यहाँका संस्कृतिहरूको महत्वबारे प्रस्ट पार्नुपर्ने, स्थानीय खेल खेल्न प्रेरित गर्नुपर्ने, स्थानीय पाठ्यक्रमको उपलब्धि र प्रभावकारिताबारे अनुगमन गर्नुपर्ने, अनुसन्धानमा आधारित ज्ञान र सीप दिनुपर्ने, शिलापत्र–ताम्रपत्र आदिको ज्ञान दिने ढङ्गले शिक्षित गर्नुपर्ने, स्थान विशेष शब्दहरूबारे थाहा दिनुपर्ने, भाषागत शुद्धाशुद्धिमा ध्यान दिनुपर्नेलगायतका सुझावहरू प्रस्तुत गरेका थिए ।
स्थानीय पाठ्यक्रम तयार कार्यदलका संयोजक योगेन्द्रमान बिजुक्छेँ र कार्यदलका सदस्य रोशनराज तुईतुईले बैठकमा प्रस्तुत महत्वपूर्ण सुझावको लागि धन्यवाद ज्ञापन गर्दै नगरपालिकाले प्रकाशन गर्ने पाठयक्रम र पाठ्यपुस्तकहरूमा विज्ञहरूको महत्वपूर्ण सुझावलाई मनन् गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *