क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !
- जेष्ठ ८, २०८३
सरोजराज गोसाई
(बासु माध्यामिक विद्यालयको शुक्रबार १६ फाल्गुण २०७६ मा भएको वार्षिकोत्सव समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोसाईद्वारा व्यक्त मन्तव्यको सारसङ्क्षेप प्रस्तुत छ– सम्पादक)
म सम्झन्छु, विद्यालयको वार्षिकोत्सव विद्यार्थीको निम्ति सबभन्दा रमाइलो कार्यक्रम हुने गर्छ । वार्षिकोत्सवमा केही अतिरिक्त पैसा खर्च हुन्छ, नियमित पठनपाठनमा केही अवरोध हुन्छ । तर, यसै अवसरमा हुने विभिन्न अतिरिक्त क्रियाकलापले हाम्रा विद्यार्थीमा जीवनभरको निम्ति सिक्ने जोश र जाँगर भरिदिनसक्छ । हाम्रो दृढ विश्वास छ, विद्यालयले सञ्चालन गर्ने साहित्यिक गोष्ठी, वादविवाद, हाजिरीजवाफ, कला प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, खेलकुद आदि गतिविधिले विद्यार्थीको व्यक्तित्व विकासमा अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गर्छ । हाम्रो शिक्षा नियमावलीमा पनि विद्यार्थीको सिर्जनात्मक प्रतिभाको विकासको लागि विद्यालयमा अतिरिक्त क्रियाकलाप कार्यक्रम सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ । त्यसैले बढीभन्दा बढी विद्यार्थीलाई सकेजति बढी अतिरिक्त क्रियाकलापमा सहभागी गराउन हामीले विद्यालय प्रशासनलाई सल्लाह दिई आएका छौँ ।
यसै सिलसिलामा बासु माध्यमिक विद्यालयको वार्षिकदिवसको अवसरमा यसपालि विद्यालयले शैक्षिक प्रदर्शनीको आयोजना गरेको छ । विद्यार्थीका केही सिर्जना प्रदर्शनीमा राखिएका छन् । विद्यार्थीले विज्ञानका विभिन्न प्रयोगहरूको प्रदर्शन गरेको हामीले देख्यौँ । पाठ्यक्रम सम्बन्धित विभिन्न मोडलहरू प्रस्तुत भए । जस्तो, प्रदर्शनीमा विद्यार्थीले हाँस र माछापालनको मोडल बनाई हाँसको फोहर माछालाई खुवाउन सकिने अवधारणा प्रस्तुत गरे । त्यस्तै नेपालको सन्दर्भमा पहाडी क्षेत्रमा गरिने ग¥हा खेती, माटोबिनाको खेती, कौसी खेतीलगायतका मोडल पनि प्रस्तुत भए । विद्यार्थीले कम्प्युटरसम्बन्धी विभिन्न मोडलहरूका साथै पानीको चापबाट डोजर चलाउने विधिसमेत प्रस्तुत गरे । स्थानीय पाठ्यक्रमअन्तर्गत बिस्केट जात्राको रथ र लिङ्गोका मोडल पनि प्रस्तुत गरियो । यो निकै रोचक छ ।
यसरी विद्यालयले विद्यार्थीलाई सिर्जनशील हुन उत्साहित गर्नु अत्यन्तै सकारात्मक छ । ठूलाको निम्ति सानो लाग्नसक्ने विद्यार्थीको सिर्जना आफ्नै निम्ति भने अत्यन्त ठूलो हुने गर्छ । विद्यार्थीलाई उचित वातावरण दिनसके उनीहरू आफँै अध्ययन तथा खोजीमा लाग्दारहेछन् भन्ने शैक्षिक प्रदर्शनीले देखाएको छ ।
भक्तपुरका विभिन्न विद्यालयका विद्यार्थी र शिक्षक पनि प्रदर्शनी अवलोकनको निम्ति आउनुभयो । विद्यालयले आयोजना गरेका विभिन्न प्रतियोगितामा अन्य विद्यालयका विद्यार्थी पनि सहभागी भए । यसबाट अन्य विद्यालयका विद्यार्थीबीचको सम्बन्ध विस्तार भई विद्यालयहरूबीचको भाइचारा सम्बन्ध अझ बलियो हुने आशा गर्नसक्छौँ । यस्ता गतिविधिबाट सिक्न र सिकाउन र थप अध्ययन गर्न अझ ऊर्जा मिल्ने हाम्रो विश्वास छ । यसले सुसंस्कृत समाज निर्माणमा ठूलो सहयोग पुग्ने हाम्रो आशा गर्न सकिन्छ ।
हामीले अनुभव गरेका छौँ, विद्यार्थीमा सामाजिक सेवा र वातावरण संरक्षणप्रति चेतना बढाउने कार्यक्रमलाई अझ व्यवस्थित गर्नुपर्ने आवश्यकता छ । विद्यार्थीलाई शिक्षण संस्था एवम् सामुदायिक स्थलका सरसफाइ र संरक्षण गर्न अझ उत्साहित गर्नुपर्ने पनि देख्छौँ । देश र समाजको इमानदारीसाथ सेवा गर्न विद्यार्थीलाई उत्प्रेरित गर्नसके भोलिको समाज अझ सुन्दर हुने हाम्रो विश्वास छ ।
विद्यार्थीलाई अनुसन्धानमुखी कसरी बनाउन सकिन्छ भन्नेबारे अझ गम्भीर भएर सोच्नुपर्ने आवश्यकताबारे हामीबीच बेलाबेला छलफल हुनेगर्छ । विद्यार्थीलाई विभिन्न परियोजना कार्य दिएर ससाना अनुसन्धान वा खोजीको काम गर्न उत्साहित गर्नुपर्ने हामीले अनुभव गरेका छौँ । स्थानीय खाना, भेषभूषा, संस्कार, जीविकोपार्जजन संस्कृति, विज्ञान तथा प्रविधि, रैथाने ज्ञान र सिप, पर्यावरण विद्यार्थीको खोजीको विषय हुनसक्छन् । दही, चिउरा, क्वाँटी, योमरी, मुटुमरी कसरी बनाउने भन्ने स्थानीय पाठ्यक्रममा राखिएको छ, त्यस्ता खानासँग जोडिएको संस्कृतिदेखि खाना उत्पादनसँग जोडिएका विज्ञान तथा प्रविधिका विषयमा अरू अध्ययन र अन्तरक्रिया गर्नु आवश्यक छ । स्थानीय प्रविधिमा रहेको विज्ञानको खोजी गर्न सकियो भने संस्कृतिमा समय सुहाउँदो परिमार्जन पनि गर्न सकिन्छ । विभिन्न पेशा व्यवसायमा लागेका व्यक्तिहरू हाम्रा विद्यार्थीका गुरु हुनसक्नुहुन्छ । खेतमा काम गर्ने किसान, विभिन्न धातुको विज्ञानका ज्ञाता ताम्राकार, माटोका अनेक प्रकार र विशेषता बुझ्ने प्रजापति, अनेक रङ बनाउने रञ्जितकारलगायत थुप्रै जात विशेषका शिल्पीहरू हाम्रा विद्यार्थीका गुरु बन्नसक्नुहुन्छ । यसबाट समाजको अमूल्य सम्पदाको रक्षा हुन्छ । हाम्रो समाजको गौरव अझ उजागर हुन्छ ।
समाजमा व्यक्तिवादी चिन्तनले नराम्रोसँग जरा गाड्न लागेको बेला समाजवादी चिन्तनको प्रचार गर्नु हामी आफ्नो जिम्मेवारी ठान्छौँ । सामूहिक भावनाको विकासको निम्ति के गर्ने ? भन्नेबारे हामीले चिन्तन गर्नु सान्दर्भिक ठानेका छौँ । जस्तो, समाजवादी देश क्युवाको शिक्षा व्यवस्था संसारमै राम्रो मानिन्छ । क्युवामा विद्यार्थीको समूह कार्यमा विशेष जोड दिएको पाइन्छ । त्यहाँ एकले अर्कोलाई सहयोग गरेर शैक्षिक प्रगति गर्ने सिद्धान्त आत्मसात गरेको पाइन्छ । जान्नेले नजान्नेलाई सिकाउने र समूह नै उत्तीर्ण हुने परिपाटी क्युवामा लागू छ । क्युवाको यस्तो बन्दोबस्तबाट हामी पनि सिक्नसक्छौँ ।
हामी स्पष्ट छौँ, गुणस्तरीय शिक्षाको अर्थ विद्यार्थीको लब्धाङ्कपत्रमा राम्रो अङ्कमात्र होइन, विद्यार्थीको असल बानी र व्यवहार, सुसंस्कार, इमानदारी, देशप्रतिको आफ्नो कर्तव्यबोध पनि आवश्यकता हो । पुर्खाको त्याग र समर्पणको कारण आजको समाजले यो स्तरको गौरव गर्न पाएको छ भने भोलिको असल समाज निर्माणमा हामी सबै कटिबद्ध हुनैपर्छ ।
वार्षिकोत्सव कार्यक्रमका व्यवस्थापकहरू, यसमा सक्रिय विद्यार्थीहरू र आगन्तुक सहभागीहरू म धन्यवाद ज्ञापन गर्दछु । आउने वर्षहरूमा यस्ता कार्यक्रममा नयाँनयाँ आयामहरू थप्न सकियोस् भन्ने शुभकामना पनि दिन्छु ।
Leave a Reply