भर्खरै :

लेनिन कथा – २, गर्मीका दिनहरू

 
मरिया प्रिलेजायेभा
गर्मीको मौसम धेरै शानदार, सुनौलो हुन्छ । गर्मी याममा सिम्वीस्र्कमा उखर्माउलो गर्मी हुन्थ्यो र हावा पनि नगन्य चल्थ्यो । स्याउका बगैँचा लहलहाउँथे । सिम्वीस्र्कमा बगैँचा धेरै थिए ।
उल्यानोभ परिवारको घरपछाडि पनि बगैँचा थियो । हुन त त्यो बगैँचा सानो थियो तर त्यसमा के–के थिएन र ¤ चर्को घाममा पनि सधैँ शीतल छहारी दिने रूखदेखि लिएर विभिन्न फलफूलका बिरुवाहरूले बगैँचा सजिसजाउ थियो ।
बिहान सात बजेको थियो । झ्यालदेखि छानिएर ओछ्यानसम्म आइरहेको किरण र गर्मीको कारण भोलोद्याको आँखा खुल्यो र क्षणभरमा नै उनी उभिए । हात मुख धोएर उनी हावा खानको लागि दौडदै बगैँचा पुगे । उनी स्याउका रूखहरूतिर गए । त्यहाँ राति स्याउहरू झर्थे । उनी अरू भाइबहिनीले भन्दा पहिले ती स्याउ बटुलेर अरूलाई खुवाउन चाहन्थे । यसो गर्दा भोलोद्याले छुट्टै आनन्द पाउँथे ।
उल्यानोभ परिवारको घरमा प्रायः सबै सखारै उठ्थे । इनारदेखि पानी ल्याई फूलहरूको सिँचाइ गर्ने काम साशा र भोलोद्याको जिम्मामा थियो । साँझपख यो काम बिर्सेमा बिहान सिँचाइ गर्नुपथ्र्याे । केही बेरपछि नास्ता खानको लागि भान्छाकोठामा सबैजना भेला भए । आज कुन भाषामा कुराकानी गर्ने हो – फ्रान्सिसी, जर्मन वा अरू कुनै, आमाले सम्झाइन् । निश्चय नै हरेक दिन रूसी भाषामा बोल्न खूब सजिलो थियो तर छोराछोरीलाई विदेशी भाषा पनि बोल्न आउनुपर्छ भन्ने आमाको विचार थियो ।
“नास्तापछि के गर्छौ त ?” ओल्याले भोलोद्यासँग सोधिन् ।
“साशाले जे गर्नुहुन्छ त्यही ।”
साशा सधैँझैँ किताब लिएर पढ्न बसे । उनी गम्भीर प्रकृतिका किताबहरू पढ्थे । उनलाई रसायनशास्त्र, प्रकृति विज्ञान मनपथ्र्यो । उनले आफ्नो प्रयोगशाला र चिडियाघरसमेत बनाएका थिए । त्यहाँ पातहरूको बीचमा केही कोतरिरहेको लोखर्के पिँजडाभित्र यता–उता दौडिंदै, उफ्रिंदै खेल्दथ्यो ।
गर्मीयाममा खुला छुट हुन्थ्यो । चाहेमा मनपर्ने किताब लिएर बगैँचाको कुनै छायाँदार कुनामा बसेर पढ्न सकिन्थ्यो । फेरि दुनियाँको सुर्ता पनि नहुने । दिउँसोको खाना खाने बेलासम्म बगैँचामा चराचुरुङ्गीका चिर्बिरमात्र सुन्न पाइन्थ्यो । कहिलेकाहीँ घरमा आमाले सिलाइ मेसिन चलाएको आवाज पनि सुनिन्थ्यो । उनी सधैँजसो बच्चाहरूको लागि केही न केही चीज सिलाइरहन्थिन् । छोरीहरूलाई पनि उनले सिलाइ सिकाएकी थिइन् । बिहानको खाना खाएपछि पढ्न मन नलागेमा ओल्याले भोलोद्यासँग भन्थिन् ः
“आउ खेल्न जाउँ ।”
“कालो लठीको खेल खेलौँला ।”
“कालो लठी आयो, अहिले कता गयो, जसको पछाडि भेटिन्छ, त्यसैले पिटाइ खान्छ ।”
साँझपख सबैजना कङ्क्रिटको मैदानमा जम्मा हुन्थे । खेलमा नियम कडाइपूर्वक पालना गरिन्थ्यो । भोलोद्या र बुबा सबैभन्दा जोसिला खेलाडी थिए र सबैभन्दा हँसिला पनि थिए । उनीहरू खेलको अवधिभरि खित्खिताइरहन्थे । यसैबीच बुबाको आदेश सुनिन्थ्यो ः
“नानीबाबुहरू, नुहाउने समय भयो ¤”
सबै ‘स्वियागा’ मा नुहाउनको लागि जान्थे । त्यो नजिकै बग्ने सानो र शान्त कुलो थियो । त्यसको दुवै किनारमा रूख उम्रिएका थिए । सबैजना दौडेर पानीमा फुङ्गाल्थ्यो अनि पानीका छिटा बाहिर छ्यापिन्थे । आकाशमा सुर्यास्तको रातो रङ अझै पनि देख्न सकिन्थ्यो र टाढा क्षितिजमाथि पहिलो तारा चम्किरहेको थियो ।
“साशा, के सोचिरहेका छौ ?”
“सबै कुरा ¤ ऊ त्यो तारा देखिरहेका छौ नि ? त्यो कहाँबाट आयो ? धर्तीमा जीवन कसरी सुरु भयो ? हाम्रो जीवनको वा हाम्रो उद्देश्य के हो ? सबै कुरा ।”
भोलोद्याले सुनिरहे । उनको विचार पनि दौडिन थाल्यो ।
“साँच्चिकै, हाम्रो जीवनको उद्देश्य के होला ? बाँच्नु, सोच्नु, थाहा पाउनु, केही गर्नु, कस्तो अनौठो छ है ¤ साशा कति बुद्धिमान हुनुहुन्छ, मलाई पनि उहाँजस्तै बन्नु छ ।”
स्टीमरमा
घाटमा अनेकतले स्टीमर रोकेर राखिएको थियो । स्टीमरको केभिनको झ्याल घामले चम्किरहेथ्यो । पालिस गरिएको पित्तलको हत्ता सुनजस्तै जगमगाइरहेथ्यो । हाते माइक मुखनिर राखेर कप्तानले आदेश दिइरहेको थियो ।
बुबाले टिकटहरू एकचोटि फेरि हेरे – सबै ठीक त छन् ¤ हरेकको हातमा एउटा न एउटा टोकरी अथवा बण्डल थियो । स्टीमरले दुईचोटि लामो र तेस्रोचोटि छोटो सिठ्ठी बजायो । सिठ्ठी बज्नासाथ चक्का घुम्न थाले, पानी सरसराउन थाल्यो । स्टीमर सिम्वीस्र्कबाट कजानको लागि छुटेको थियो । कजानबाट कोकुश्किनो गाउँसम्म चालीस वस्त्र (करिब चालीस किलोमिटर) को बाटो घोडाद्वारा तय गर्नुपथ्र्याे ।
सिम्वीस्र्क पछाडि छुट्यो । त्यहाँका राता छतहरू धेरै बेरसम्म देखिइरहे तर नदीको मोड कटेपछि सबै कुरा नजरबाट एकाएक ओझेल भए ।

स्टीमरको साथसाथै चराहरूका झुण्ड पनि कानै खाने आवाज गर्दै उडिरहेका थिए । भोलोद्याले चराहरूको लागि केही रोटीका टुक्रा फ्याँके तर ती पानीमै खसे । त्यसपछि उनी इन्जिन भएको कोठातर्फ गए । तामाका पुर्जा र तेलले टल्किरहेको र तनावले थर्किरहेको इन्जिन गड्गडाउँदै चलिरहेको थियो । भट्टीको नजिकै कम्मरसम्म नाङ्गो तथा कोइला र ग्रीजको कालोले ढाकिएको फायरम्यान काममा मग्न थियो । उसको पिठ्यूँबाट पसिनाका धारा बगिरहेका थिए ।
पानीलाई चिरेर स्टीमर भोल्गाको प्रवाहभन्दा उल्टो दिशामा गइरहेको थियो । स्टीमरको डेकमा यात्रुहरू तटको सुन्दर दृश्यको आनन्द लिँदै चहलपहल गरिरहेका थिए । बुबा चेसबोर्ड हातमा लिएर केभिन बाहिर आए । चेसका गोटीहरू खूब सुन्दर थिए । यी गोटी उनी आफैले बनाएका थिए । सबै गोटी अलग अलग खालका थिए ।
“के छ, एक–एकबाजी खेल्ने त ?” बुबाले भोलोद्यालाई चुनौती दिए । उनी पिताकै हाराहारीमा खेल्थे । हुन त त्यसबेला भोलोद्या दस वर्षमा हिँडिरहेका थिए । अब अगस्तमा उनले छिट्टै भर्ना हुनको लागि परीक्षा दिनुपर्ने थियो । त्यसपछि मोजमस्ती चटक्कै छोड्नुपथ्र्यो ।
“लौ ¤ रानी बचाऊ अब ।”
भोलोद्याले फूर्तिका साथ घोडा चलाएर रानी बचायो ।
“खूब चलाख छौ ¤ ठीक छ, अब म यो प्यादा चाल्छु ।”
“तपाईँको प्यादासँग म त बचिहाल्छु तर तपाईँ नि… ।”
यसरी खेल चलिरहेको थियो ।
“इन्जिन कोठामा कस्तो उकुसमुकुस छ ¤” निधारमा गाँठो पारेर भोलोद्याले भन्यो । “फेरि सबैतिर तेलको दुर्गन्धै दुर्गन्ध छ । फायरम्यान पसिनाले निथ्रुक्कै भिजेको छ । केही उपाय गरेर उसको कामलाई सजिलो बनाउन सकिँदैन ?”
बुबा चुप थिए । यतिञ्जेल साशा उनीहरूनिर आइपुगेका थिए । उनले काँध हल्का उठाएर भने, “फायरम्यानले कति मिहिनेत गर्नुपर्छ, स्टीमरको मालिकलाई उनको कुनै सुर्ता छैन ।”
“तर, यो त अन्याय हो ¤” भोलोद्या अनायासै चिच्याए ।
“दुनियाँमा तिमीले न्याय कहाँ देखेका छौ ?” बुबाले यति भनेपछि दुवै छोराले बुबातर्फ हेरे ।
“बाबा, हजुर न्यायको पक्षमा हुनुहुन्छ भन्ने हामीलाई थाहा छ ।” साशाले उत्तेजित स्वरमा भने ।
स्टीमरले जोडसँग सिठी बजायो । फलस्वरूप, सिठीको चर्को आवाज भोल्गाभरि गुञ्जियो । अगाडिबाट अर्को स्टीमर आइरहेको थियो, त्यसलाई देखेर नै सिठी बजाइएको थियो । नदीमा बलियो उथल–पुथल मच्चिएको थियो र ठूल्ठूला छालहरू किनारमा ठोक्किँदै थिए ।
स्कूले विद्यार्थी
आखिरीमा अगस्त (१८७९) को दिन आयो । भोलोद्या प्रथम कक्षामा भर्ना हुनको लागि परीक्षा दिन स्कूल पुगे । स्कूलको दुईतले ढुङ्गाको भवन सहरको बीच भागमा, भोल्गाको किनारबाट केही दूरीमा थियो । यहीँ भोलोद्याले अबका आठ वर्षसम्म पढ्नु थियो ।
तर, पहिले त प्रवेश परीक्षा पास गर्नु थियो । कडा नजरले हेर्दै परीक्षा शिक्षक कालोपाटीसामु बसिरहेका थिए । परीक्षार्थीलाई एक–एक गरेर बोलाइयो । भोलोद्याको पालो आएपछि उनी निर्भिकतासाथ कालोपाटीसामु गएर उभिए । शिक्षकले प्रश्न सोध्दै गए, भोलोद्याले फटाफट उत्तर दिइरहे । पछि गणितको प्रश्न दिइयो, त्यसलाई पनि तुरुन्तै हल गरे । फलस्वरूप भोलोद्याले सबै विषयमा राम्रो अङ्क पाए ।
घर फर्किएपछि सबै भाइबहिनीले उनलाई घेरा हाली बधाई दिन थाले । आमाले उनलाई चम्किला टाँक भएको स्कूले पोशाक लगाइदिएर नापजाँच गरिन् । भोलिदेखि उनी प्रथम कक्षामा जाँदै थिए । अब घरमा स्कूल जाने तीनजना बच्चा भएका थिए – अन्यूता, साशा र भोलोद्या । समय गुज्रिन र बच्चाहरू हुर्किन बेर नलाग्दो रहेछ ¤
साँझपख उल्यानोभ परिवारको घरको भान्छा कोठामा दियोको उज्यालोमा सबै बच्चाहरू भोलि पढ्ने पाठको तयारी गर्न जम्मा भए । पाँच वर्षीय मित्याको त कुनै गृहकार्य थिएन, त्यसकारण उनी एकदम ध्यान लगाएर कागजमा धुँवाको मुस्लो छोड्ने चिम्नी र भोल्गाका ठूल्ठूला छालमा तैरिरहेको जहाज बनाउन व्यस्त थिए । भोलोद्याले आफ्नो काम छिट्टै भ्याए । आखिर प्रथम कक्षाको विद्यार्थीलाई पहिलो दिन त्यति धेरै काम पनि त दिइँदैन । अब के गर्ने ? उनी कागजको फट्याङग्रो बनाउने काममा जुटे । तयार भएपछि दौडेर गर्ई आमासँग धागो मागी ल्याए र धागोमा फट्याङग्रो बाँधेर ‘उफ्री’ भने । त्यसबेला फट्याङग्रो अन्यूताको सामुन्ने थियो ।
“भोलोद्या, फेरि चल्न लाग्यौ ?”
भोलोद्याले धागो ताने, भ्यागुतो गायब भयो । तर, केही छिनमै त्यो साशाको कापीमा देखियो । कसैले त्यसलाई समाउन नसकेसम्म सबैजना हाँसिरहे । समाउने पनि कसरी धागो त भोलोद्याको हातमा थियो ।
“चुप लाएर बस ¤” अन्यूताले भोलोद्यालाई गाली गरिन् । तर, भोलोद्या चुप लाएर बस्नै सक्दैनथे । अब अर्को कुन उटपट्याङ गर्ने हो ? सोचिरहन्थे ।
“मीत्या, ए मीत्या, हेर त बाख्रो आएको छ, सिङ र दा¥ही भ’को ¤” भोलोद्या आफ्ना दुइटा चोर औँलाले सिङ बनाएर बिस्तारै मीत्यातिर लम्के ।
मीत्या पुल्टुङ्ग खेल्दै, खित्खिताएर हाँस्दै कुर्सीमुनि गएर लुके । त्यसैबेला ढोकामा बुबा देखिए ।
“भोलोद्या मेरो कोठामा आऊ ।”
रमाइलो गरेर भोलोद्याको मन अघाएको थिएन, तैपनि उनी पछि–पछि बुबाको कोठामा पसे । कोठामा किताबको एक आलमारी थियो । एउटा चौडा खालको लेख्ने टेबल थियो । अर्कोतिर भित्तानजिकै एउटा गोलो कुर्सी र पाहुना बस्नको लागि सोफा राखिएको थियो ।
“यहीँ बसिराख,” बुबाले आदेश दिए ।
त्यसपछि बुबा आफ्नो काममा व्यस्त भए । सानैदेखि भोलोद्याको मनमा बुबाको कोठाप्रति आदरभाव थियो । बुबाले धेरै काम गर्थे । उनी गर्मी होस् वा जाडो, घाम लागेको होस् वा पानी परेको होस्, त्यसको पर्वाह नगरी प्रायः बाहिर निस्कन्थे । सयौँ कोस पर–पर गई स्कूलहरूको निरीक्षण गर्ने काम गर्थे । फलस्वरूप सिम्वीस्र्क प्रान्तमा प्रायः सबै शिक्षकहरूले उनलाई चिन्थे । घर फर्किएपछि रिपोर्ट तयार गर्नुपथ्र्याे, शिक्षण योजना बनाउनुपथ्र्याे, शिक्षणशास्त्रको बारेमा लेख, टिप्पणी आदि लेख्नुपथ्र्याे ।
“उफ ¤ आजको काम सकियो,” कागजहरूलाई सम्हालेर फाइलमा राख्दै बुबाले भने । “काम सकिएको हो भने खेल तर यसको मतलब, अरूको काममा दख्खल गर भनेको होइन ।”
बुबाले पे्रमपूर्वक भोलोद्यालाई चेतावनी दिए । “ल अब बताऊ आज तिमीले स्कूलमा के ग¥यौ ?”
भोलोद्याले स्कूलमा भएका क्रियाकलाप बिस्तारमा बताए ।
हलबाट मन्द–मन्द सङ्गीत बजेको आवाज आइरहेको थियो ।
उनीहरू पनि हलमा पसे । पियानोमाथि राखिएको मैनबत्तीले हलमा हल्का उज्यालो छरिरहेको थियो । जाडोमा पारिलो घाम लागेजस्तै मधुर थियो सङ्गीत । भोलोद्या र बुबाले एउटा कुनामा बसेर लामो समयसम्म सङ्गीत सुनिरहे ।
अनुवादक ः माधव अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *