भर्खरै :

सक्वको म राजदास– २१

ई. राजदास श्रेष्ठ
रेलको क्याविनभित्र माथि दुइटा तल दुइटा गरी चारवटा बेड हुन्छन् । तलको दुइटा खातको बीचमा एउटा फोल्डिङ्ग गर्न मिल्ने (पल्टाउन मिल्ने) काठको टेबुल हुन्छ ।
सोभियत रुसको साहित्य, राजनीति र जनजीवनबारे आन्ना पेट्राभ्ना र म फेरि कुरो गर्न बस्यौँ । आन्नाको बुढो र छोरी दुवै आ–आफ्नो बेडमा सुतिरहेका थिए । बुढो सुतिरहेको पनि मलाई राम्रै लाग्यो । यदि नसुतेको भए “डबाई राज ईष्यो रास ¤” (फेरि एक एक पेग लेऊ लौ राज ¤”) भन्दै पिउन लाउँथ्यो होला । रुसीहरूको भोड्का पिउने बानी नराम्रो संस्कारजस्तो लाग्यो मलाई । जहाँ रहे पनि जहाँ गए नि नपिउने ठाउँ हुँदैनथ्यो । जो कोही कसैकहाँ पाहुना आयो भने खाना खाने बेला पहिले टेबुलमा एउटा भोड्का र एक दुईवटा वाइनका बोटल हाल्नैपर्ने । अनि तपाईँलाई कसैले खाना खान बोलायो भने तपाईँले पनि केही उपहार लानैपर्ने ।

सन् १९७१ मा सोभियत सङ्घमा विवाह दर्ता गर्ने क्रममा


कसैकहाँ पाहुना जाँदा रसियनहरू खाली हात जाँदैनन् । केही न केही उपहार लिएरै जान्छन् । त्यस्तो उपहारमा एक बोटल भोड्का अथवा स्याम्पेन अथवा वाइन हुन्थ्यो । प्रायः घरधनीको लागि एक बोटल भोड्का नै हुन्थ्यो भने घरमुलीको लागि अक्सर एक गुच्छा राम्रो फूल र एक पाकेट मीठो चकलेट हुन्थ्यो ।
यसरी पाहुना जाँदा कोसेली अथवा केही उपहार लिएर जाने रुसी चलन मलाई राम्रो लाग्यो । तर, भोड्का संस्कारले अलि नराम्रो नै प्रभाव पारेको हो रुसी जनजीवनमा । ज्यादा पिउने बानीले धेरै रुसी नागरिकहरूको असमयमै मृत्यु हुनेगथ्र्याे भने घरमा झै झगडा पनि धेरै हुनेगथ्र्याे । सोभियत रुसमा रक्सी सेवनले हुने मृत्युको दर धेरै ठूलो थियो । यसले तत्कालीन सोभियत रुसमा एक विकराल रूप नै लिएको थियो ।
यही कुरालाई लिएर सन् १९८० को दशकमा सोभियत सङ्घमा मिखाइल गोर्भाचोभले सत्तामा आएपछि अन्य विभिन्न आर्थिक र सामाजिक क्षेत्रमा सुधार ल्याउने हिसाबले ‘ग्लास्टनोस्ट’ र ‘पेरेस्ट्रोइका’ भन्ने नयाँ अभियान चलाउन थाले । ‘ग्लास्टनोस्ट’ भनेको ट्रान्सपरेन्सी (पारदर्शिता) हो र पेरेस्ट्रोइका भनेको रिकन्स्ट्रक्सन (पुनःनिर्माण) हो ।
पहिले पहिले सोभियत नीतिलाई पश्चिमाहरूले ‘आइरन कर्टेन’ (फलामको पर्दा) भनिन्थ्यो र भित्र के कस्तो नीति निर्णय हुन्थ्यो बाहिर विश्व जगतलाई थाहा दिइन्नथ्यो भनिन्थ्यो । धेरै सत्यतथ्य कुराहरू लुकाइन्थ्यो सोभियत कम्युनिस्ट सिस्टममा भने आरोप लगाइन्थ्यो ।
यही कुरालाई लिएर मिखाइल गोर्भाचोभले नयाँ नीति निर्माण गरे । सोभियत राजनीति र अर्थनीतिलाई खुला गर्ने भनी एक नवउदारवादी नीति भित्र्याए । पश्चिमा जगतले गोर्भाचोभको ‘ग्लास्टनोस्ट’ र ‘पेरेस्ट्रोइका’ लाई धेरै प्रशंसा गरे भने सोभियत रुसभित्र गोर्भाचोभको नयाँ नीतिमाथि ब्यङ्ग्य गर्नथाले सोभियत जनताले । भित्र दिलैदेखि कसैले सहयोग र समर्थन गरेकोजस्तो देखिँदैनथ्यो । तर, युवा जगतमा एक प्रकारको नयाँ जोश र तरङ्ग पैदा गरेको भान हुन्थ्यो गोर्भाचोभका नयाँ नीति निर्माणले । सोभियत सङ्घमा भन्दा युरोप र अमेरिकामा गोर्भाचोभको खुब तारिफ या वाह ¤¤¤ वाह ¤¤¤ हुनथाल्यो ।

सोभियत सैनिक दिवसको अवसरमा काठमाडौंमा नेपाल–सोभियत मैत्री सङ्घद्वारा आयोजित प्रवचन कार्यक्रममा मन्तव्य दिंदै लेखक ।


यसै ‘ग्लास्टनोस्ट’ र ‘पेरेस्ट्रोइका’ को नीतिले सर्वप्रथम विदेश नीतिमा सुधार ल्याउने हिसाबले गोर्भाचोभले सबभन्दा पहिले पूर्वी जर्मनी र पश्चिम जर्मनीको बीचमा खडा रहेको बर्लिन पर्खाल भत्काइदियो ।
सन् १९५० को दशकमा दोस्रो विश्वयुद्धको अन्त्यपछि सोभियत सङ्घ र पश्चिमका बेलायत, फ्रान्स अनि संयुक्त राज्यको सहमतिमा युरोपको नयाँ नक्सा तयार गर्ने कुरा भएको थियो । यसै सहमतिअनुसार रातारात पूर्व बर्लिन र पश्चिम बर्लिन भनेर जर्मनीको राजधानीलाई दुई टुक्रा पारी एउटा ठूलो पर्खाल बनाइएको थियो । त्यस पर्खालले युरोपको एक शक्तिशाली देश जर्मनलाई ३० वर्षभन्दा बढी दुई टुक्रामा विभाजन गरिराखेको थियो पूर्वी जर्मनी र पश्चिम जर्मनी भनी । पूर्वी जर्मनी सोभियत सङ्घको कम्युनिस्ट शासनको प्रभावमा थियो भने पश्चिम जर्मनी संयुक्त राज्य अमेरिका र युरोपका पुँजीवादी देशहरूको संयुक्त गठबन्धन ‘नाटो’ समूहमा संलग्न थियो ।
‘नाटो’ भनेको ‘नर्थ अटलान्टिक टे«टी अर्गनाइजेशन’ (उत्तरी आन्ध्र सन्धि (सैनिक) सङ्गठन) हो । ‘नाटो’ एक गठबन्धन हो जसले त्यसभित्रका सदस्यहरूको सैनिक सुरक्षा गर्दथ्यो । नाटोका मुख्य मुख्य सदस्यहरूमा त्यसबेला संयुक्त राज्य अमेरिका, बेलायत, फ्रान्स, जर्मनी र अन्य केही युरोेपेली पुँजीवादी देशहरू थिए । खास गरेर सोभियत सङ्घको विघटनपछि नाटोको सदस्य सङ्ख्या केही बढेको छ भने सोभियत सङ्घको प्रभावमा परेका देशहरूबीच त्यसबेला ‘वार्सा प्याक्ट’ भन्ने सैनिक गठबन्धन थियो । ‘वार्सा प्याक्ट’ ले पनि नाटोको जस्तै उद्देश्य बोकेको थियो । सोभियत सङ्घसहित वार्सा सैनिक सङ्गठनभित्र पूर्वी जर्मनी, चेकोस्लोभाकिया, हङ्गेरी, बुल्गेरिया र रोमानिया अनि पोल्यान्ड थियो ।
सोभियत सङ्घमा गोर्भाचोभले सत्ता हातमा लिएपछि दुई जर्मनीको बीचमा रहेको बर्लिन वाल (बर्लिन पर्खाल) भत्काउनुको साथै ‘वार्सा सैनिक सङ्गठनको पनि विघटन भयो । सन् १९९१ मा सोभियत सङ्घ आफै विघटन भई १५ वटा गणराज्यहरूमा विभाजित भए ।
बर्लिन पर्खाल भत्काउनुको साथै सोभियत सङ्घ विघटन गराइनुमा अत्यधिक सोभियत जनता आक्रोशित थिए भने अहिलेसम्म पनि गोर्भाचोभलाई समातेर महाअभियोग लगाउनुपर्छ र सोभियत सङ्घलाई पुनर्जीवित गर्नुपर्छ भन्ने आवाज उठिरहेको सुनिन्छ ।
आफ्नो छोटो शासनकालमा गोर्भाचोभले विदेश नीतिमा आमूल परिवर्तन ल्याएसँगै सोभियत सङ्घभित्र पनि राजनैतिक, आर्थिक र सामाजिक प्रथामा परिवर्तन ल्याउने प्रयास गरे ।
सामाजिक परिवर्तन ल्याउन गरेको प्रयासमध्ये एक उल्लेखनीय काम हो, भोड्का संस्कार हटाउने ।
सोभियत सङ्घमा त्यसबेला जहिले पनि जहाँ पनि जतिबेला पनि भोड्का र अन्य मदिराजन्य पेय पदार्थहरू किन्न पाइन्थ्यो र कामदार वर्गमा धेरै पिउने बानी थियो । यसले सोभियत जनजीवनमा ठूलो प्रतिकूल असर पारेको थियो । यसले गर्दा कैयौँ सोभियत जनताले असमयमै आफ्नो ज्यान गुमाएका थिए । मेरो आफ्नो सालो भाइको श्रीमती ३०–३२ वर्षको कलिलो उमेरमा त्यही मद्यपान र धूमपानको लटले गर्दा मृत्यु भएको थियो । मेरा ससुरा काकाहरू पनि जहिले पनि ढलमल ढलमल अवस्थामा देख्थेँ ससुराली जाँदा । म गएपछि त झन् उनीहरूलाई पिउने बहाना राम्रो बन्थ्यो । दिउँसो आ–आफ्नो कामबाट फर्केपछि मेरो सालो भाइको घर–आँगनमा सबैजना भेला हुन आउँथे ।
मस्कोबाट ६५० किलोमिटर जति टाढा पर्ने पेन्जा भन्ने सहरमा मेरी सासूआमाको आफ्नै निजी घरजग्गा थियो । सासूको घर मुख्य सहर बजारभन्दा अलि पर गाउँ बस्तीमा थियो ।
दुई कोठाको एउटा काठको बलियो घर थियो । दुई रोपनी जति लामो चौडा फैलिएको फलफूल बगैँचामा घरमुनि एउटा अन्डरग्राउन्ड स्टोर पनि थियो । वर्ष दिनलाई चाहिने खाद्यान्न, तरकारी (आलु, गोलभेँडा, काँक्रो र मासु) जस्ता सामान यही अन्डरग्राउन्डमा स्टोर गरी राख्थे । चिसो र अँध्यारो हुने हुनाले त्यहाँ राखिएका सामान कुहिँदैनथ्यो र बिग्रँदैनथ्यो ।
दुई रोपनी जतिको जग्गामा विभिन्न जातका स्याउका बोटहरू थिए । १०–१२ वटा चेरी र स्ट्रवेरीको साथ अन्य फलफूलका बोटहरू थिए । अनि रुसको हिँउदको जाडो सकिएपछि अप्रिल महिनातिर अर्थात् वैशाखतिर बारीमा आलु, गोलभेँडा र काँक्रोका साथै केही हरिया सागसब्जी रोपिन्थ्यो । अक्टोबर महिनामा सबै बालीनाली र फलफूलहरू टिपेर आफूलाई चाहिने जति सबै खाद्यान्न अन्डरग्राउन्ड स्टोरमा थुपारिन्थ्यो । बाँकी रहेको सबै स्थानीय बजारमा लगेर बेचिन्थ्यो ।
ससुरालीमा मेरो परिवार ठूलो थिएन । एउटी सासूआमा, एक सालो भाइ–बुहारी र एक सानी छोरी । सासूआमाको बुढो मेरो ससुरो बुबाको दोस्रो विश्वयुद्धको बेलामा मृत्यु भएको थियो । साधारण रुसीभन्दा ससुरो बुबा अग्लो र बलियो थियो र राम्रो मेकानिक्स थियो रे । त्यसकारण उनलाई युद्ध क्षेत्रमा नपठाइकन गाउँमै राखेको थियो एक सहकारी कृषि फार्ममा ट्राक्टर चलाउन ।
तत्कालीन सोभियत रुस एक विशाल कृषिप्रधान देश थियो । युरोपका धेरै देशहरूमा औद्योगिक विकास हुँदा पनि सोभियत रुसमा कृषि र कृषि उद्योगले पहिलो स्थान जमाएको थियो । औद्योगिक उत्पादनमा सोभियत सङ्घ पश्चिमका पुँजीवादी देशभन्दा अलि पछि नै थियो । बढी कृषिमै आधारित थियो । सोभियत अर्थतन्त्र र खाद्यान्नमा धेरै धनी थियो ।


अफ्रिकी राष्ट्र बोत्स्वानाका राष्ट्रपति कुवेत मासिरेलाई आफ्नो अनुसन्धानबारे प्रकाश पार्दै लेखक ।


यही कारणले गर्दा युरोपमा दोस्रो विश्वयुद्ध सुरु हुनुभन्दा पहिले सोभियत सङ्घका सर्वाेच्च नेता स्तालिन र जर्मनीका हिटलरबीच एक अनाक्रमण सन्धि हुँदा कथम्कदाचित जर्मनीले युरोपमा युद्ध गरेको खण्डमा सोभियत सङ्घले त्यस युद्धमा हस्तक्षेप गर्न नपाउने र त्यस अनाक्रमण सन्धिअनुसार जर्मनीले सोभियत सङ्घलाई आफ्नो औद्योगिक क्षेत्रको विकास गर्न आवश्यक आधुनिक यन्त्रहरू दिने र त्यसको बदलामा सोभियत सङ्घले जर्मनीलाई खाद्यान्न र इन्धन (पेट्रोलियम पदार्थ) सप्लाई गर्ने कुरा उल्लेख थियो । त्यस सन्धिअनुसार सोभियत सङ्घ ढुक्क भएर बसेको थियो । जर्मनी हिटलरले युरोपका छिमेकी देशहरू जस्तै ः अष्ट्रिया, हंगेरी र पोल्यान्डलाई आफ्नो कब्जामा लिँदै गर्दा पनि आफ्नो आन्तरिक औद्योगिक कृषि विकास गर्ने काममा र युद्धको लागि खास केही तयारी अवस्थामा थिएन । फलस्वरुप हिटलरले सन् १९४१ को सेप्टेम्बरमा आफूले स्तालिनसँग गरेको अनाक्रमण सन्धि उल्लङ्घन गरी सोभियत सङ्घमाथि सैनिक आक्रमण गर्दा सोभियत सङ्घले धेरै धनजनको साथै आफ्नो पश्चिम क्षेत्रका धेरै भूभाग गुमाउनुपरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *