भर्खरै :

“भोजभत्तेर, सभा–सम्मेलन नगर”

काठमाडौं, १८ फागुन । विश्वभर कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि नेपाल सरकारले सर्वसाधारणलाई धेरै मानिस भेला हुने कार्यक्रम नगर्न आग्रह गरेको छ । सरकारले कुनै पनि ठूला सभा, सम्मेलन र भोजभतेरजस्ता गतिविधि नगर्न आग्रह गरेको हो ।
आइतबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलन आयोजना गरेर सो आग्रह गर्नुभएको हो ।
सरकारले कोरोना भाइरसको सङ्क्रमण रोक्न विभिन्न चरणमा पूर्वतयारी गरिरहेको मन्त्री ढकालले दाबी गर्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा खुला सिमानाबाट आउने र जाने प्रत्येक व्यक्तिहरूलाई चेकजाँचमा कडाइ गर्ने तयारी गरेको उहाँले बताउनुभयो । यसअघि सरकारले चेकजाचमा गम्भीरता नदेखाएको भनी आलोचना भएको थियो ।
मन्त्री ढकालले देश बाहिर जाने व्यक्तिहरूलाई चेकजाँच गरी कोरोना सङ्क्रमण छैन भनी पक्का गरेपछि मात्रै पठाउने तयारी पनि सरकारले गरेको बताउनुभयो । कुनै व्यक्तिमा सङ्क्रमण देखिएमा विभिन्न अस्पतालमा उपचारको आवश्यक व्यवस्था गरिएको ढकालले बताउनुभयो ।
सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य जनशक्ति बढाउने तयारी गरेको छ । सरकारको यो निर्णयले आगामी चैतमा हुने भनिएको सगरमाथा संवाद प्रभावित हुनुका साथै नेपाल भ्रमण वर्ष २०२० पनि प्रभावित हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *