भर्खरै :

एमसीसीको विरोधमा जिल्ला–जिल्लामा विरोध प्रदर्शन

काठमाडौँ, १८ फागुन । नेपाल मजदुर किसान पार्टीले सोमबार विभिन्न जिल्लामा अमेरिकी एमसीसी परियोजनाको विरोधमा विरोध प्रदर्शन तथा जनसभा गर्दै छ ।
पार्टी केन्द्रीय कार्यालयले दिएको जानकारीअनुसार सोमबार काठमाडाँै उपत्यकाअन्तर्गत ललितपुरमा विरोध प्रदर्शन र सभा हुँदै छ । ललितपुरको लगनखेलमा दिनको ३ बजे विरोध प्रदर्शन सुरु हुनेछ । जुलुसपछि हुने सभामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय नेताहरूले बोल्नुहुने कार्यक्रम छ ।
त्यस्तै काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा पनि सोमबार विरोध प्रदर्शन तथा सभा हुनेछ । बनेपाको नाला दोबाटोबाट सुरु हुने जुलुस चार दोबाटोमा समापन हुने जानकारी नेमकिपा काभ्रेका अध्यक्ष कृष्णकुमार वैद्यले बताउनुभयो ।
उदयपुरको कतारीमा सोमबार नै एमसीसीको विरोध प्रदर्शन हुने भएको छ । सोमबार नै दैलेख र कैलालीमा पनि विरोध जुलुस तथा सभा हुने बताइएको छ । एमसीसीको विरोधमा देशव्यापी विरोध सभा र प्रदर्शन गर्ने क्रममा जुम्ला जिल्लामा जिल्लास्तरीय सप्ताहव्यापी जनचेतना अभियान भइरहेको छ । त्यस्तै कालीकोटको सदरमुकाम मान्मा पनि विरोध प्रदर्शन गरिने जानकारी स्थानीय पार्टी समितिले दिएको छ ।
पर्सा
यसैबीच नेपाल मजदुर किसान पार्टी पर्सा जिल्ला समितिको आयोजनामा एमसीसीको विरोधमा वीरगञ्जस्थित घण्टाघर चोकमा आइतबार कोणसभा भयो ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य उकेश कवांले एमसीसीमार्फत संरा अमेरिकाले नेपालमा आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न खोजेको छ भन्नुभयो ।
नेमकिपा देशको सार्वभौमिकता रक्षाको लागि सङ्घर्षरत रहेको स्पष्ट पार्दै उहाँले एमसीसीको विरोधमा जनतालाई सचेत पार्न पार्टीले देशव्यापीरूपमा कार्यक्रम गरिरहेको बताउनुभयो ।
“केही अर्ब रुपैयाँको प्रलोभनमा परेर ओली सरकार देशको सार्वभौमिकता अमेरिकालाई सुम्पन्न खोज्दै छ । सरकार भारतीय विस्तारवाद र एकाधिकार पुँजी तथा अमेरिकी साम्राज्यवादको गोटी भई यो सरकारले जनतालाई शोषण गर्दै छ”, केन्द्रीय सदस्य कवांले भन्नुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घका पूर्वकेन्द्रीय सदस्य महेन्द्र बखुन्छेँले एमसीसी साम्राज्यवादीहरूको सैन्य गठबन्धन भएको बताउनुभयो ।
नेमकिपा पर्साका संयोजक सरोज साहको सभापतित्वमा भएको कोणसभामा नेक्राकिसङ्घका केन्द्रीय सदस्य हरिराम सुवाल र नेमकिपा पर्साका हकिम अन्सारीले पनि बोल्नुभएको थियो ।
बारा
नेपाल मजदुर किसान पार्टी बाराले आइतबार जिल्ला सदरमुकाम कलैयामा देशघाती एमसीसी सम्झौता खारेज गर्न ¥यालीसहित विरोध सभा गरेको छ । नेमकिपाका केन्द्रीय सदस्य उकेश कवां र बाराका अध्यक्ष मुक्तिप्रसाद यादवको अगुवाइमा निस्केको विरोध ¥यालीले सदरमुकाम कलैयाको विभिन्न स्थानमा पुगी नगर परिक्रमा गरेको थियो ।
¥यालीपश्चात् कोणसभामा केन्द्रीय सदस्य कवांले देशघाती एमसीसी सम्झौता खारेज गर्न सरकारको ध्यानाकर्षण गर्नुभयो । उहाँले सरकार तानाशाही बन्दै गएको र देशमा भ्रष्टाचारीहरूको राज बढेको बताउनुभयो । एमसीसी सम्झौता सार्वभौमिकतामाथिको हस्तक्षेप भएको उल्लेख गर्दै उहाँले एमसीसी सम्झौता खारेज हुनुपर्छ भन्नुभयो ।
सो अवसरमा नेमकिपाका बाराका अध्यक्ष यादव, नेपाल क्रान्तिकारी युवा सङ्घका पूर्वकेन्द्रीय सदस्य महेन्द्र बखुन्छे, नेमकिपा बाराका उपाध्यक्ष रेंजुदेवी शाहसहित नेमकिपाका नेता कार्यकर्ताहरूको उपस्थिति थियो । विरोध सभामा नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय सदस्य हरिराम सुवालले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *