भर्खरै :

अफ्रिकाको सबभन्दा ठूलो बाँध निर्माणमा अझै कुरा मिलेन

कायरो, १ मार्च । इथियोपियाको एउटा विवादास्पद विशाल बाँधको विषयमा वाशिङ्टनमा संरा अमेरिका प्रायोजित सहमतिपत्रमा इजिप्टले हस्ताक्षर गरेपछि इथियोपियाले भने आफ्नो सहभागिताबिना गरिएको सो सम्झौताप्रति असन्तोष व्यक्त गरेको छ ।
यसअघि इजिप्टले विशाल इथियोपियाली पुनर्जागरण बाँध (जर्ड) सञ्चालनसम्बन्धमा संरा अमेरिकाले अघि सारेको सम्झौता पत्रमा हस्ताक्षर गरेको र इथियोपिया र सुडानलाई पनि सो पत्रमा हस्ताक्षर गर्न आग्रह गरेको थियो ।
Fसुडान र इथियोपियालाई पनि सो सम्झौतामा हस्ताक्षर गर्न इजिप्ट आग्रह गर्छ । उनीहरूले सकेसम्म चाँडो सो सम्झौतामा हस्ताक्षर गरुन् । यो सम्झौता तीनवटै देशको साझा हितमा आधारित न्यायपूर्ण र सन्तुलित सहमति हुनसक्छ”, इजिप्ट सरकारले जारी गरेको वक्तव्यमा भनिएको छ ।
सो बाँध सञ्चालनसम्बन्धमा गत फेब्रुअरी २७–२८ मा निक्र्योल गर्न इजिप्ट, इथियोपिया र सुडानका जलस्रोत र परराष्ट्र मन्त्रीहरूबीच वाशिङ्टनमा बैठक तय थियो । तर, बैठकको अघिल्लो दिन इथियोपियाले ‘सम्बद्ध पक्षबीच छलफल भइनसकेको हुनाले’ बैठकमा सहभागी बन्न नसक्ने सूचना गरेको थियो ।
‘वार्ताको गम्भीर चरणमा पुगेर इथियोपिया बैठकमा अनुपस्थित हुनु अन्यायोचित’ भन्दै शनिबार इजिप्टले असन्तोष व्यक्त गरेको थियो ।
तर, इथियोपियाले भने आफूलाई बैठकको तयारीको लागि थप समय आवश्यक भएको विषयमा इजिप्ट, सुडान र संरा अमेरिकालाई जानकारी गराइसकेको बताएको छ ।
Fबाँधको मालिकको रूपमा इथियोपियाले समानता र तार्किक उपयोगको सिद्धान्त एवं कुनै उल्लेखनीय क्षति नहुने गरी सो बाँधको निर्माणका साथ पहिलो चरणको भर्ने काम सँगै गर्ने छ”, इथियोपियाको विदेश मन्त्रालयले शनिबार जारी गरेको वक्तव्यमा उल्लेख छ ।
Fअरब गणतन्त्र इजिप्टले सुरु गरेको भनिएको सो सम्झौतापत्र वार्ताको निचोड वा तीन देशबीचको प्राविधिक एवं कानुनी छलफलको निष्कर्ष होइन”, बाँधको पहिलो चरणको भर्ने काम र निर्माण कार्यसम्बन्धी निर्देशिका र नियम तीनै देशले तयारी गर्नुपर्ने प्रष्ट पार्दै वक्तव्यमा लेखिएको छ ।
इथियोपिया निर्देशिका र नियम टुङ्गो लगाउन र अन्य विषय सम्बोधन गर्न इजिप्ट र सुडानबीच सम्पर्कमा रहने बताएको छ ।
नाइल नदीको माथिल्लो भेगको देश इथियोपियाले ब्लु नाइल नदीमा सन् २०११ मा विशाल जलविद्युत् परियोजना निर्माण थालेको थियो । सो बाँधको कारण नाइल नदीको वार्षिक ५५.५ अर्ब क्युबिक मिटर पानीको हिस्सेदारी प्रभावित हुने भन्दै नाइल नदीको तल्लो भेगको देश इजिप्टले आपत्ति जनाउँदै आएको छ ।
इजिप्टजस्तै तल्लो भेगको देश सुडानले पनि त्यसबाट आफ्नो हित प्रभावित हुने भन्दै चासो राख्दै आएको छ । सो परियोजनाबाट ६ हजारभन्दा बढी मेगावाट विद्युत् उत्पादन हुने भएकोले पनि त्यसमा हिस्सेदारी दाबी गरिएको छ । इथियोपियाको सो बाँध अफ्रिकी महादेशकै सबभन्दा ठूलो परियोजना हुनेछ ।
वर्षांै वर्षदेखि तीन देशबीचको वार्ता कुनै टुङ्गोमा पुग्न नसकेपछि संरा अमेरिकाले सहमतिको प्रयास थालेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *