भर्खरै :

चीनद्वारा इरानलाई महामारीको प्रतिरोध सामग्री प्रदान

पेइचिङ, १ मार्च । स्थानीय समय फेब्रुअरी २९ तारिख मध्याह्नसम्म इरानमा कोरोना भाइरस सङ्क्रमित सङ्ख्या ५९३ पुगेको छ । तीमध्ये १२३ जनाको उपचार सफल भएको छ भने ४३ जनाको मृत्यु भएको छ । सोही दिन नयाँ सङ्क्रमितहरूको सङ्ख्या २०५ भएको छ । तीमध्ये इरानी संसद्का दुई जना क्षेत्रीय प्रतिनिधि पनि रहेका हुन् ।
इरानी राष्ट्रिय टेलिभिजनले फेब्रुअरी २८ तारिख जनाएअनुसार, इरानका स्वास्थ्य मन्त्री साइद नामाकीले अङ्कबाट हेर्दा आगामी साता इरानको महामारी फैलिने शिखर अवधि हुने र इरानले यसबारे सक्रियताका साथ तयारी गर्दैआएको कुरा बताउनुभयो ।
हाल इरानका प्रायःजसो खेलकुद प्रतियोगिताहरू रद्द भइसकेका छन् । पर्यटकीय ठाउँ बन्द भएको छ । सिनेमा घर तत्कालका लागि बन्द भएका छन् । इरानी टेलिभिजनले विद्यार्थीलाई इन्टरर्नेटमार्फत प्रशिक्षण दिइने सूचना जारी गरेको छ ।
इरानको स्वास्थ्य मन्त्रालयले नागरिकलाई बाहिर ननिस्कन र रोकथाम तथा नियन्त्रण सूचना पालना गर्न आह्वान गरेको छ । इरानी नागरिकले पनि रोकथाम तथा नियन्त्रण कदमलाई गम्भीरताका साथ पालना गरेका छन् ।
फेब्रुअरी २५ तारिख र २६ तारिख इरानका लागि चिनियाँ राजदूतावासले इरानलाई २ लाख ५० हजार वटा मास्क र कोरोना भाइरसको ५ हजार वटा परीक्षण किट प्रदान गरेको छ । फेब्रुअरी २९ तारिख बिहान सबेरै चिनियाँ विशेषज्ञ टोली नयाँ चरणको चिकित्सा सामग्री लिएर तेहरान सहरमा पुगेको छ । इरानको स्वास्थ्य मन्त्रालयका अधिकारीले इरानको कठिन अवधिमा चीनले चिकित्सा सामग्री र प्राविधिक समर्थन दिएकोमा कृतज्ञता ज्ञापन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *