भर्खरै :

तुइनमा तारेको इन्धनले उपभोक्ताको ढाड सेकिँदै

– हेमन्त केसी
जाजरकोट, १८ फागुन । डोल्पा र रुकुम पश्चिम आठ बिसकोट नगरपालिकाका बासिन्दालाई यातायात सुविधा दिनका लागि तुइनबाट आधा दर्जन जीप भेरी नदीबाट तारेर सेवा दिइँदै आएको छ । अहिले ती जीप जाजरकोट–डोल्पा सडक खण्डमा निर्वाधरूपमा सडकमा गुडिरहेका छन् ।
यातायातका साधन तुइनमा तारे पनि यस सडक खण्डमा इन्धनको डिपो नहुँदा दैनिक तुइनबाटै इन्धन भरिएका ड्रमहरू ओसारिँदै आएको छ । सल्यानको सल्ली बजारमा मात्र रहेको इन्धनको डिपो जाजरकोट सदरमुकाममा छैन । डिपो नहुँदा गाडी चलाउनका लागि सल्ली बजार अर्थात् बजारमा राखिएको मिसावटयुक्त इन्धन प्रयोग गर्नुपर्ने बाध्यता रहेको यातायात व्यवसायी बताउँछन् ।
गाउँ–गाउँमा सञ्चालनमा रहेका यातायातका साधन चलाउनका लागि मानिसले पिठ्युमा बोकेर लैजानुपर्ने बाध्यता रहँदै आएको छ । यसरी बोकेर ल्याइएको इन्धन रु। २० देखि ३० सम्म महँगो पर्ने यातायात व्यवसायी नवराज सिंहले जानकारी दिनुभयो । व्यवसायीले ड्रम र जर्किनमा भरेको इन्धन गाडीमा प्रयोग गर्नुको विकल्प नरहेको उहाँको भनाइ छ ।
तीन तहका सरकारको पहलमा जाजरकोट, रुकुम र डोल्पाका विभिन्न भागमा सयौँ किलोमिटर सडक निर्माण भई यातायातका साधन सञ्चालनमा छन् । जाजरकोट–डोल्पा, जाजरकोट–जुम्ला र मध्यपहाडी लोकमार्गसमेत जाजरकोटबाटै भएर जाने गर्दछ । सडक निर्माणको काम पूरा भएपछि स्थानीय बासिन्दाको गाडी चढ्ने सपना त पूरा भयो तर इन्धनको चर्को मूल्यका कारण भाडादर चर्को हुँदा यात्रु मारमा पर्दै आएका छन् ।
गाउँमै गाडी चलाउन त पाइएको छ तर जीपमा प्रयोग हुने इन्धन नदी पार गराउन कम्ती सास्ती छैन । यातायात व्यवसायी धनबहादुर रावतले भन्नुभयो, ँनदीमा गाडी जाने पुल छैन, ड्रममा बोकेको इन्धनले गाडी सञ्चालन गर्नुपर्ने बाध्यता छ, सडकको ट्रयाक खोल्ने क्रममा प्रयोग गरिएको इन्धन पनि तुइनबाटै नदीपारि पठाइएको थियो ।”
सडक निर्माण गरे पनि भेरी नदीमा पुल नहुँदा तुइनकै भरमा सबै काम हुँदै आएको छ । फलामको लहरोमा जोडिएको तुइनबाट गाडीदेखि इन्धन ओसारिँदै आएको छ । यसरी वारपार गर्दा रु। ५० हजारभन्दा बढी खर्च हुने गरेको छ । भेरी नदीको तुइनमा तीन वर्षअघि जीपहरू तारिएको थियो ।
अहिले पनि दैनिक तुइनमार्फत यातायातका साधनदेखि अन्य सामग्री सारिँदै आएको डोल्पा त्रिपुरासुन्दरीका धनबहादुर खत्रीले बताउनुभयो । जाजरकोट, डोल्पा र रुकुम जिल्लामा सडक निर्माणको कामदेखि स्थानीय तह हुँदै जिल्लाका सरकारी कार्यालयमा प्रयोग हुने सबै इन्धनका बोकेर ल्याएर प्रयोगमा आइरहेको छ ।
तीन जिल्लामा छैन इन्धनको डिपो
जाजरकोट, रुकुमपश्चिम र डोल्पामा इन्धन प्रयोग गर्ने डिपो नहुँदा समस्या हुँदै आएको छ । सल्यानको सल्लीबजारमा रहेको नेपाल आयल निगमको डिपोबाट तीन जिल्लाको काम हुँदै आएको छ । सोही डिपोबाट खरिद गरी ल्याइएको इन्धन स्थानीय व्यापारीले पसलमा राखेर जोखिमपूर्ण तरिकाले व्यापार गर्दै आएका छन् ।
दुई वर्षअघि जाजरकोट सदरमुकामको बसपार्कमा इन्धन भण्डारण गरी राखिएको घरमा आगलागी हुँदा जनधनको ठूलो क्षति भएको थियो । त्यस्तै समय–समयमा इन्धन अभाव हँुदा यो क्षेत्रमा सञ्चालन हुने यातायातका साधनदेखि विकास निर्माणका कामसमेत ठप्प हुने गरेका छन् ।रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *