भर्खरै :

उस्तै छ कर्णालीको हाल

राकस्था
कर्णाली प्रदेशमा बहुपति प्रथा
सम्भवतः संसारको सबभन्दा उच्च भूभाग (१२–१४ हजार फिट उचाइ) मा रहेको मानव बस्ती डोल्पा (वा डोल्पो) का भोटे जातिमा एउटा विशिष्ट पारिवारिक बन्दोबस्त छ । दुईतीन दाजुभाइले एकैजना श्रीमती राख्ने बहुपति प्रथा डोल्पाको अत्यन्त पुरानो चलन हो । हुम्लामा पनि यो प्रथा अद्यापि विद्यमान छ । यहाँ दाजुको मृत्युपछि भाउजुलाई देवरले स्याहार्ने चलन सामान्य मानिन्छ । तर, समयक्रमसँग यो चलन सा¥है कम भइसकेको छ । बहुपति प्रथाबारे यो पङ्क्तिकारले भक्तपुरको एक कलेजमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई सुनाउँदा ‘छ्या…’ भने ।
कुनै पनि संस्कृतिलाई तिनको आफ्नै आँखाबाट हेरिनुपर्छ भन्ने गरिन्छ । बाह्य आँखाले हेर्दा सही दृष्टिकोण बन्न सक्दैन भन्ने मान्यता छ । कुनै संस्कृति वा परम्पराको इतिहास, भूगोल वा पर्यावरणसापेक्ष विश्लेषण गर्न जानिएन भने त्यसको निष्कर्ष गलत हुनसक्छ ।
माक्र्सवादी दृष्टिकोणअनुसार भौतिक परिस्थितिले सामाजिक–सांस्कृतिक पक्ष निर्धारण गर्दछ । संस्कृतिको निर्माणमा आर्थिक–सामाजिक तत्व प्रधान पक्ष हुने गर्छ । जमिन थोरै, उत्पादन कम हुने हिमाली ठाउँमा केटाकेटी पाल्न समस्या पर्ने नै भयो । केटाकेटी थोरै होऊन् र जग्गा खण्डीकरण कम होस् भन्ने उद्देश्यले बहुपति प्रथाको व्यवस्था गरिएको हुनुपर्छ भन्नेमा धेरै समाजशास्त्रीको मत मिल्छ । साझा प्रकाशनको निम्ति नगेन्द्र शर्माले लेखेको खोजग्रन्थ ‘नेपाली जनजीवन’ पुस्तकमा लेखिएझैं दाजुभाइको वैमनस्यताबाट उत्पन्न हुनसक्ने कलहबाट परिवार र सम्पत्ति दुवै टुक्रिन नदिन यस्तो परम्परा बसालिएको हो । यसलाई मातृसत्ताको उपहार मान्ने विद्वतजनको ठहर पनि यहाँ स्मरणयोग्य छ ।
आज परिस्थिति बदलिएको छ । बहुपति प्रथा एकाध ठाउँमा मात्र बाँकी छ । मानिस पुरानो प्रचलन चाहन्नन् । इज्जतको रूपमा लिइने त्यस्तो पुरानो परिपाटीमा परिवर्तन भएको छ । आज दाजुभाइबीच एउटै पेशा रहेन, कमाउने बाटाहरू अनेक बने । आर्थिक क्षेत्र विस्तार भयो । वरिष्ठ पत्रकार भैरव रिसालको भनाइमा ‘संसार खुल्यो ।’ कमाउनको निम्ति मानिस देशप्रदेश जान थाले । बहुपति प्रथाको कारण अनेक रोगहरू सर्ने सम्भावना पनि रह्यो । नयाँ भौतिक परिस्थितिले चेतनाको पनि विकास ग¥यो । वास्तवमा मानिसको रुचि नै बदलिएको छ आज ।
सन्तानले डाँडाकाँडा अझै ढाकिएन ?
कर्णालीतिर दुई छोरा नभई हुन्न भन्ने विश्वास छ । शास्त्रले जे भन्यो त्यही मान्ने समाज । आफूले सोच्न नपर्ने, शास्त्र पल्टाउने युग । शास्त्रमा छोरा अनिवार्य चाहिने भनियो । किरिया गर्न वा मृतकलाई तर्पण दिन छोरो नै चाहिने बनाइयो । पितापुर्खाको उद्धार गर्ने छोरो भन्ने पारियो । अपितु छोरीहरूले पनि यस्ता काम गर्न थालेका छन् अचेल । अझ कर्णालीतिर दुई छोरा अनिवार्य मानिन्छ । दुई छोराको आशामा दर्जनौं सन्तान जन्माउने चलन भने कायमै छ । ‘छोरा जन्मिए अस्पतालबाटै बाजा बजाएर घर लिने, छोरी जन्मिए अपरेशन थियटरमै रुने’ घटना त्यति नौला होइनन् । ‘पहाडको ठाउँ । एउटा छोराको भर पर्नु हुँदैन, मरेपछि के गर्ने ?’ ‘छोरा नभए आमाबाबुकन कल्ले पाल्न्या ? हामा बाबाआमाका छोरीमात्त थिया । आमाबुबा खानै नपाई म¥या ।’ छोरा जन्माउन गरिने कष्टको औचित्य यसरी पुष्टि गर्न खोज्छन्, महिला । नेपाली समाजमा छोरालाई सामाजिक प्रतिष्ठाको रूपमा लिने चलन छ । छोरा भएन भने ‘सन्तान लाग्यो’ भन्ने धारणामात्र होइन एउटा छोराको भर नहुने जनविश्वास व्याप्त छ । मानिसमा आफू मरेपछि अंश कसले खाने भन्ने चिन्ता पनि हुँदोरहेछ । छोरालाई आशा र भरोशाको केन्द्र मान्छन्, जनता । छोराबारेको यस्तो धारणाले केटाकेटी कुपोषणको चरम शिकार हुन्छन् भने आमा पनि असमयमै ‘बुढी’ हुन्छिन् वा अनेक रोगको चपेटामा पर्छिन् । बग्रेल्ती जन्मिएका सन्तान हुर्काउन गर्नुपर्ने अनेक ताडनाबारे चिन्तन गर्ने तिनलाई फुर्सतै हुन्न ।
पहाडमा काम गर्न सजिलो हुन्न । कृषिमा यान्त्रिकीकरण पनि भएको छैन । गाईबाख्रा स्याहार्न, मेलपर्म गर्न, घरका रितीरिवाज चलाउन र खेतीपातीको काम गर्नकै निम्ति पनि धेरै पाखुरी चाहिन्छन् । एक समय सन्तानले डाँडाकाँडा ढाकून् भन्ने मान्यता थियो, आज त्यो मान्यता उस्तै जब्बर नभए पनि बाँकी नै छ । जीविका चलाउने प्रमुख आधार सन्तान नै हुन्छ । राज्यले ज्येष्ठ नागरिकको लागि आवश्यक सबै बन्दोबस्त नगरेको अवस्थामा सन्तानकै भर गर्नुमा कुनै आश्चर्य पनि होइन । जन्मेका सबै सन्तान बाँच्ने सम्भाव्यता पनि कमै हुन्छ । कुनै रोगव्याध लागे मरिहाल्ने सम्भावना बढी हुन्थ्यो । उच्च जन्मदर प्रकृतिकै नियम नै हो भने धेरै सन्तान जन्माउनु कुनै अन्धविश्वास भनी गिज्याइरहनुको औचित्य पनि छैन । अशिक्षाको साथै राज्यले नागरिकको जीवन रक्षाको सुनिश्चितता नगरिदिँदाको परिणाम हो, उच्च जन्मदर । कर्णाली प्रदेशका ४५ प्रतिशत महिलाले मात्र गर्भनिरोधका साधन प्रयोग गर्ने गरेको तथ्यबाट करिब ६ दशकदेखि परिवार नियोजनको कार्यक्रम चलाउँदै आएका विभिन्न पार्टीका सरकारहरू कसरी असफल भए भन्ने छर्लङ्ग पार्छ ।
बालविवाहको व्यथा
कर्णाली प्रदेशमा झन्डै ५२ प्रतिशत बालविवाह रहेको सरकारी तथ्याङ्क छ । यो देशकै कलङ्क त हो, तर बालविवाह किन हुन्छ भन्ने कारणको वास्तै नगरी ती निर्दोष नागरिकलाई पछौटे वा अज्ञानी भनी गाली गर्नुको पनि कुनै अर्थ छैन । जहाँ पर्याप्त विद्यालय छैनन्, विद्यालय भए पनि पढाइ हुन्न, पढे पनि जीवनोपयोगी हुन्न, त्यहाँका मानिसको निम्ति दैनिक गुजारा गर्न खेतीपाती, भेडाबाख्रा वा गाईभैंसी नै आधार हुनजान्छ । बालबालिकाले सातआठ वर्षदेखि घरव्यवहार सिक्न थालेकै हुन्छन्, १५–१६ वर्षमा शारीरिक तथा मानसिक परिवर्तन देखिनथाल्छ । त्यसपछि अभिभावकबाट टाढिने उमेर सुरु हुन्छ । त्यस अवस्थामा सहरबजारमा जस्तो पढ्नेलेख्ने वा ‘करिअर’ को बारे चिन्ता गर्ने परिस्थिति नै नबन्दा बिहे नै जीवनको एउटा ठूलो उद्देश्य हुनुमा के आश्चर्य मान्नु ¤ ५०–६० वर्षको आयुदर हुने ठाउँमा ‘अलि चाँडो’ बिहे हुनु अस्वाभाविक पनि भएन । एकातिर आमाबुबासँग धन हुँदैन, हुर्केका छोराछोरी छोट्टी बस्न गए भने आमाबुबा खुसी हुन्छन्, अर्कोतिर समाजको यो बाध्यता कायमै छ । किनभने आमाबुबाले छोराछोरीको निम्ति केटा वा केटी खोजिहिँड्नु परेन । मायापिरतीमा केटाले केटीलाई मैनासुवा भनी बोलाउँछ भने केटीले केटालाई साइबाज (सबभन्दा राम्रो बाज) ले सम्बोधन गर्छन् । हिजोआज सामाजिक सञ्जाल र मोबाइल फोनलगायतका प्रविधिको दुरूपयोगबाट पनि बालविवाह बढ्नगएको विश्लेषण सुन्नमा पाइन्छ । त्यसबेलाको लोकगीतमा प्रेम वार्ता यस्तो हुन्थ्यो ः
केटाले भन्छ – ‘दिल चर्दै भिट्टा पुगी मामाकी कोलडी, थल राखिजा बाँदो दिजा टाटुकी दोलडी ।’
जवाफमा केटी भन्छिन् – ‘रैति बस्न्या फाटाघर राजा बस्न्या कोट, साइको मेरो भेट गरौँला मेरै गैरी गोठ ।’
बालविवाहको कारण महिलामा अनेक शारीरिक तथा मानसिक रोग देखिएको चिकित्सकहरूको भनाइ छ । कर्णालीतिर धेरै महिलाको आङ खस्नुमा बालविवाह पनि एउटा कारण मानिन्छ । महिला आफै कुपोषित हुने, सन्तानलाई चाहिने पोषण पु¥याउन नसकिने अवस्था हुन्छ । धेरै सन्तान भएको कारण सन्ताप बढ्ने सम्भावना पनि नकार्न सकिन्न । बालविवाहको कारण बालिकामात्र होइन बालक पनि पीडित हुन्छन् भन्नेबारे कम प्रश्न उठाइए पनि यथार्थ भने त्यही हो । नपाकेको पिँडालु कोक्यात्mैं उमेर नहुँदै घरब्यबहार गर्ने मानिसको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पर्छ नै । त्यो नकारात्मक असर नयाँ पुस्तामा पनि सर्छ ।
पाठेघर खस्ने समस्या
कर्णाली प्रदेशका २३ प्रतिशत महिलामा पाठेघर खस्ने समस्या छ । सानै उमेरमा सुत्केरी हुनु, कम समयको अन्तरमा बच्चा जन्माउनु, धेरैपटक गर्भपतन हुनु÷गर्नु, गर्भवती तथा सुत्केरी हुँदाको समयमा ग¥हौं सामान बोक्नु, घरमै सुत्केरी गराउनु, सुत्केरी अवस्थामा पोषिलो खानापानको राम्रो व्यवस्था नहुनु मुुख्य कारण मानिन्छन् । महिलामा यो समस्या बढ्दैगएको विशेषज्ञको भनाइ छ । कुपोषण र प्रजनन नलीमा सङ्क्रमणका कारण पनि केही सङ्ख्यामा पाठेघरको समस्या देखिएको चिकित्सक बताउँछन् । चिकित्सक गर्भवती अवस्थामा यौन सम्पर्क नगर्ने, सुत्केरी भएको ३ देखि ६ महिनासम्म यौन सम्पर्क नगर्ने सल्लाह पनि दिन्छन् । सुत्केरी भएपछि कम्तीमा पनि ३ देखि ५ महिना आराम गर्ने र पोषणयुक्त खाना खाने सल्लाह भने पहाडका महिलाको निम्ति आकाशकै फल हुन्छ ।
सरकारले प्रत्येक स्थानीय तहमा स्वास्थ्य सेवाको पहुँच पु¥याउन १५ शय्याको अस्पताल सञ्चालन गर्ने नीति पारित त ग¥यो तर कागजी घोडामात्र दौडाएर जनताले उपचार कसरी पाऊन् ¤ जिल्लामा विशेषज्ञ सेवा उपलब्ध छैन । टाठाबाठा कुरा गर्छन् कर्णालीको, भात खान्छन् काठमाडौँको । जनतासँग सम्पर्क नहुनेले कर्णालीको कथा बुनेर स्वदेशी–विदेशीसँग पैसा झार्छन् । कर्णालीका जनताको मत लिएर नेता भएकाले जनतालाई बिर्से, शासक नेताहरूले भुईं छाडे । प्रदेश सरकार कुहिरोको कागजस्तो छ, महत्वाकांक्षी योजनाहरू बनाएर डङ्का मात्र पिट्छ । गाउँका ‘सिंहहरू’ दाताहरूको सहयोगको दुरूपयोग गर्नमै मस्त छन् । आम जनता भने ससाना आशाका बन्धक भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *