भर्खरै :

संरा अमेरिकी साम्राज्यवाद हतियार व्यापारी

दैलेख, २० फागुन । अमेरिकी एमसीसी परियोजनाको विरोधमा नेपाल मजदुर किसान पार्टीको देशव्यापी अभियानअन्तर्गत मङ्गलबार दैलेख जिल्लाको सदरमुकाम दैलेख बजारमा विरोध जुलुस र सभा भयो ।
नेमकिपा दैलेख जिल्ला समितिको आयोजनामा दैलेखको देवकोटा बजारमा आयोजित विरोध सभामा नेमकिपाका केन्द्रीय सचिव तथा प्रतिनिधिसभा सदस्य प्रेम सुवालले एमाले–माओवादीले देशघाती एमसीसी सम्झौतालाई समर्थन गरेको हुँदा ती दुवै दल भाइ–काङ्ग्रेस सावित भएको बताउनुभयो ।
उहाँले नेपाल सरकारले अमेरिकी सरकारसँग गरेको एमसीसी सम्झौता हिन्द–प्रशान्त क्षेत्रको सैन्य गठबन्धनकै हिस्सा भएको र संरा अमेरिकाले एमसीसी सम्झौतामार्फत हिन्द–प्रशान्त क्षेत्रका देशहरूलाई हतियार बेच्न र आतङ्क एवम् युद्धमा फसाउने नियत राखेको बताउनुभयो ।
अमेरिकी राष्ट्रपति ट्रम्पको भारत भ्रमणमा ३ अर्ब डलरको हतियार भारतलाई बेच्ने सम्झौता भएको जानकारी दिँदै सचिव सुवालले अमेरिकी राष्ट्रपतिको भ्रमण आफ्नो सेना भएका देश र हतियार खरिद गर्ने देशमा हुने गरेको बताउनुभयो । उहाँले भारतले नेपालको भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी आफ्नो नक्सामा समेट्नु नेपालको भू–अखण्डता र सार्वभौमिकतामाथि हस्तक्षेप भएको बताउनुभयो ।
सचिव सुवालले विद्यमान व्यवस्थामा सरकारको नेतृत्वमा जाने दलले आमूल परिवर्तन गर्ननसक्ने धारणा राख्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य जग्यबहादुर शाहीले नेमकिपाले संसारभर साम्राज्यवादले मच्चाइरहेको विध्वंस र अशान्तिको विरोध गरेको र नेपाललाई साम्राज्यवादी हमलाबाट जोगाउन नेपाली जनता एकजुट हुनुको विकल्प नभएको बताउनुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य अनुराधा थापामगरले भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवाद नेपाली जनताको मुख्य शत्रु भएको बताउनुभयो ।
सभामा जगत ओलीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *