काठमाडौँ, २० फागुन । मिडियाबाजीमा भारतीय प्रचारमाध्यमलाई संसारका अरू मिडियाले सक्दैनन् भन्ने आहान छ । कुनै पनि सानो मुद्दालाई अतिरञ्जनापूर्वक प्रचार गर्न भारतका अधिकांश मुलधारका मिडिया सिपालु मानिन्छन् । अझ पाकिस्तान र चीनसम्बन्धी मुद्दामा त भारतीय मिडियाका समाचार पूर्वाग्रह, झूट र अतिरञ्जनाले खँदिलो हुने गर्छ ।
यस्ता विशेषता भएका भारतीय मिडियामध्ये ‘आजतक’ अग्रस्थानमा छ । ‘आजतक’ले २ मार्चमा यस्तै एउटा अतिरञ्जनापूर्ण र पूर्वाग्रही समाचार सम्प्रेषण गरेको छ । कोरोना भाइरसको सङ्क्रमण आज संसारका सबै देशको चिन्ता र चासोको विषय बनेको छ । अब यसलाई कुनै एउटा देशको समस्याको रूपमा मात्र बुझ्नु मूर्खता हो । चीनलाई कोरोना भाइरसको सङ्क्रमणले अँठ्याएको सुरु सुरुको समयमा संरा अमेरिकालगायत पश्चिमा देशले यसलाई चीनमाथि हमला गर्ने मौकाको रूपमा लिए । पश्चिमा देशका नेता र सञ्चारमाध्यमले चीन कोरोनाविरुद्ध लड्दै गर्दा अनेकन चाहिने नचाहिने हल्ला र अभिव्यक्ति दिएर मौकाको फाइदा उठाउन खोजे । उनीहरूको यस्तै सङ्कुचित सोचका कारण आज भाइरस क्रमशः संसारका अन्य भूभागमा पनि फैलिएको छ । सुरुमै कोरोना रोकथाम र नियन्त्रणको लागि सबै देशले होस्टेमा हाइँसे गरेको भए अवस्था यस्तो विकराल बन्ने अवस्था रहँदैनथ्यो ।
पश्चिमा देशले गरिरहेको यही गल्ती आज भारतीय मिडियाले गरिरहेका छन् । ‘आजतक’को समाचारको शीर्षक नै पूर्वाग्रहको स्पष्ट अभिव्यक्ति हो । समाचारको शीर्षक छ–‘चीनसँगको मित्रतामा इमानदार रहनुको मूल्य चुकाउँदै नेपाल, विश्व स्वास्थ्य सङ्गठनले लगायो आवतजावतमा रोक’ समाचारमा सुजीत झा लेख्छन्, “चीनबाट सुरु भएको कोरोना भाइरसको महामारी संसारका धेरै देशसम्म फैलिसकेको थियो । विश्व स्वास्थ्य सङ्गठनले स्वास्थ्य आपतकाल घोषणा गरेपछि धेरै देशले चीनबाट आवतजावतमाथि रोक लगाएका थिए । तर, नेपाल चीनसँगको मित्रतामा इमानदार रहिरह्यो । चीन र जापानबाट मानिसको नेपाल आवतजावत जारी रह्यो ।”
समाचारमा अगाडि लेखिएको छ, “कुरा के हो भने ओली सरकार गठन भएपछि नेपाल र चीनको मित्रता निकै घनिष्ठ बनेको छ । चीनमा कोरोना भाइरसको महामारी फैलिएपछि जब संसारका सबै देशले चीनबाट आवतजावत बन्द गरे त्यत्तिबेला नेपाललाई आफूले पनि त्यसो गरे आफ्नो छिमेकी देश चीनसँगको मित्रता र सम्बन्धमा नकारात्मक असर पर्नेछ । नेपालले चीनसँग मित्रता बढाउन आफ्ना नागरिकको जीवन दाउमा लगाए । अब जब कोरोनाको समस्या जटिल बन्दै गयो र विश्व स्वास्थ्य सङ्गठनले चेतावनी दियो, नेपालको निद्रा खुल्यो ।”
‘आजतक’ नियमित हेर्ने जो कोहीलाई उसको यस्तो शैलीको मिडियाबाजी कुनै नयाँकुरा होइन । उसको यो समाचार पूर्वाग्रह र अतिरञ्जनाकै अर्को सिलसिलामात्र हो । पहिलो कुरा त, चीनबाट आवतजावत बन्द नगर्ने देश नेपालमात्र होइन । चीनसँग यो क्रममा आवतजावत बन्द गर्ने देशभन्दा चालू राख्ने देश धेरै छन् । रोचक कुरा त के हो भने आवतजावत चालू राखेका कति देशमा कोरोनाको सङ्क्रमण देखिएको छैन । तर, सङ्क्रमण फैलिएको सुरुकै दिनमा चीनसँग सम्बन्ध विच्छेद गर्ने देशहरूमा आज यो सङ्क्रमण देखिएको छ । प्राप्त जानकारीअनुसार भारतकै दिल्लीमा यो रोग देखिएको थियो । संरा अमेरिकामा यो भाइरसको कारण कम्तीमा दुई जना मानिसको निधन भइसकेको छ । तर, चीनसँगको आवतजावत बन्द नगर्ने नेपाल र पाकिस्तानमा भने अहिलेसम्म यो रोगको गम्भीर बिरामी भेटिएको छैन । तथापि, आजको मुद्दा यो भाइरस कुनै देशमा फैलिएर खुसी हुनुपर्ने कुनै कारण छैन किनभने यो समग्र मानव जातिको लागि चुनौती हो ।
‘आजतक’ ले भनेजस्तो नेपाललाई विश्व स्वास्थ्य सङ्गठनले चीनसँगको आवतजावत बन्द नगरेकोले जोखिमको देशमा राखेको होइन । वास्तवमा विश्व स्वास्थ्य सङ्गठनले स्वास्थ्य आपत्काल घोषणा गरे पनि यसबाट आवतजावत र व्यापारमा कुनै प्रभाव नपर्ने सूचना जारी गरेको थियो । यसमा कुनै देशलाई खुसी वा दुःखी बनाउने कुरा थिएन । ‘आजतक’ जस्तो शीतयुद्धकालीन मानसिकता बोकेका सञ्चारमाध्यमले चीनसँग आवतजावत बन्द गरे भारत वा संरा अमेरिकाको पक्षधर, बन्द नगरे विरोधीको कोणबाट हेर्ने सङ्कीर्णता पालेको छ । यस्तो सङ्कटपूर्ण समयमा यस्तो सोच राख्नु नै गलत हो ।
निःसन्देह छिमेकी देश चीनमा कोरोना भाइरसको महामारीले भयावहरूपमा लिएपछि नेपाल सरकारले गर्नुपर्ने आवश्यक तयारी गरेको छैन । यो विषयलाई अझ गम्भीरतापूर्वक लिएको थिएन । ‘चीन र भारत दुवैले प्रभावकारी रोकथाम र नियन्त्रणको कार्य गरिरहेकोले नेपाल सुरक्षित रहेको’ जस्तो भनाइ नेपालका स्वास्थ्य मन्त्रीबाट आउनु गैरजिम्मेवारीको हद हो ।
यो आलोच्य हो । तर, ‘आजतक’ ले भनेजस्तो चीनलाई रिझाउन सरकारले निस्क्रिय बसेको होइन । नेपाल सरकारसँग के गर्ने कसो गर्ने कुनै योजना नै तय भएको थिएन । हो, विश्व स्वास्थ्य सङ्गठनले खतराको घन्टी बजाएपछि मात्र नेपाल सरकारको होस खुल्यो । तर, यसमा चीनलाई रिझाउने वा मित्रतामाथि नकारात्मक असर पर्नेजस्ता कुनै कारण थिएनन् ।
फेरि सङ्कटको अवस्थामा छिमेकीलाई एक्ल्याउनु एक असल छिमेकीको कर्तव्य होइन । चीन र चिनियाँ जनता समस्यामा पर्दा सहयोग गर्नु नेपालको मात्र होइन, भारतको पनि कर्तव्य हो । भारतीय जनता आज डा.कोटनिसलाई सम्झिरहेका छन् जसले चीनको क्रान्तिमा एक जना चिकित्सकको रूपमा योगदान गरेका थिए । तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुको सल्लाहमा चीनमा डा. कोटनिसलगायत चिकित्सकहरूको टोली चीनमा पुगेको थियो । उनीहरूले जापानविरोधी चिनियाँ जनताको सङ्घर्षमा योगदान गरेका थिए । वास्तवमा भारतको आजको शासक वर्ग असल छिमेकी हुँदो हो त चीनले भोगिरहेको विषम परिस्थितिमा चिकित्सक टोली वा सामग्री पठाएर विश्व मानवतामाथि आइरहेको सङ्कटविरुद्ध चीनको सङ्घर्षमा टेवा पु¥याउन जरुरी छ ।
‘आजतक’ को समाचारबाट ऊ पश्चिमा मिडियाको भारतीय संस्करणमात्र भएको पुष्टि भएको छ । वाल स्ट्रिट जर्नलले समस्यासँग जुझिरहेको चीनलाई ‘बिरामी देश’ भनेर जसरी हेला गरेको थियो, ‘आजतक’ ले पनि त्यही चिन्तनको आधारमा काम गरिरहेको छ । जसले न भारत, न चीन न त नेपाललाई नै केही फाइदा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *