भर्खरै :

स्पेनिस फ्लुझैँ घातक होला कोरोना ?

निकोलस क्रिस्टोफ
एलिस वोलोविच नाम गरेकी नर्सिङकी एक विद्यार्थी फिलाडेल्फियाको एक अस्पतालमा बिहानको सिफ्टमा काम गर्न थाल्छिन् । उनी एकैछिनमा स्पेनिस फ्लुले थला पर्छिन् र त्यहीं मृत्यु हुन्छ । यो सन् १९१८ को कुरा हो जतिबेला स्पेनिस फ्लुको प्रकोपले धमाधम थला पर्दै मानिसको मृत्यु भइरहेको थियो । फिलाडेल्फियाका ३१ वटा अस्पताल बिरामीले भरिएका थिए । कतिपय बिरामीलाई भर्ना गर्न नसकेर घर फर्काइएको थियो । कतिपय बिरामी त घूस दिएर अस्पताल भर्ना भएका थिए । स्पेनिस फ्लुले मृत्यु भएकालाई उठाउन मास्क लगाएर प्रहरीलाई घरघर पठाइएको थियो । यस्तो काममा खटिएको एक सातामा ३३ प्रहरीको पनि मृत्यु भएको थियो ।
‘हरेक घरमा एकजना बिमारी थिए,’ जोन एम बेरीले आफ्नो चर्चित किताब ‘दी ग्रेट इन्फ्लुएन्जा’ मा लेखेका छन् । ‘मानिस सकेसम्म अरूलाई बेवास्ता गर्न थालेका थिए, बोल्न परे पनि अर्काेतिर मुख फर्काएर बोल्थे । सार्वजनिक टेलिफोन कम्पनीका अपरेटरले पनि काम बन्द गरिसकेका थिए । आकस्मिक कलका लागि मात्र यो सेवा उपलब्ध थियो,’ किताबमा लेखिएको छ ।
खेलकुदका कार्यक्रम धमाधम रद्द गरिएका थिए । नाट्यशाला बन्द भएका थिए । अरिजोना, फिलाडेल्फिया र प्रेस्कोटमा मानिस भेट हँुदा हात मिलाउन गैरकानुनी घोषणा गरिएको थियो । यी स्थानमा शव राख्न ६ वटा चिहानघर निर्माण गरिएको थियो । मानिसले घरभित्र कसैको मृत्यु भएको सन्देश दिन बाहिर रङ्गीन कागज झुण्ड्याउँथे र त्यस्ता सङ्केत जताततै देखिएका थिए ।
सन् १९१८ मा विश्वमा फैलिएको स्पेनिस फ्लुले ५ करोड मानिसले ज्यान गुमाउनुपरेको थियो । सरुवा रोग ठूलो जोखिमको सबैभन्दा ठूलो उदाहरण त्यतिबेलादेखिको हो । त्यसपछि जनस्वास्थ्यका विज्ञले यसप्रकारको अर्काे ठूलो महामारीका लागि तयार रहन चेतावनी दिँदै आए तर आवश्यक तयारी कहिल्यै गरिएन ।
हाल फैलिएको कोरोना भाइरस पनि त्यहीस्तरको महामारी होला नहोला अहिल्यै भन्न सकिने स्थिति छैन । यो बिस्तारै कमजोर भएर पनि जानसक्छ । अहिलेसम्म अमेरिकामा एकजनाले मात्र ज्यान गुमाएका छन् । चाखलाग्दो कुरा के पनि छ भने अमेरिकामा मौसमी फ्लुका कारणले बर्सेनि हजारौँको मृत्यु हुन्छ । तर, केही भइहाल्यो भने हामी तयार हुनुपर्छ भन्ने विज्ञहरूको भनाइ अहिले चर्काे छ ।
‘के हामी सन् १९१८ को पुनरावृत्ति देख्दै छौँ,’ खतरालाई अतिशयोक्ति रूपमा बढाइचढाइ नगर्ने न्यू इङ्ग्ल्यान्ड जर्नल अफ मेडिसनमा लेखिएको छ । धेरै वर्षदेखि महामारीको खतरा रहेको बताउँदै आएका बिल गेट्सले यो महामारीलाई ‘शताब्दीमा एक पटक आउने’ महामारी भनेका छन् ।
‘म आशा गर्छु, यो त्यति खतरातर्फ उन्मुख हुनेछैन तर हामीलाई प्रस्ट ज्ञान नभएसम्म यो त्यतातिर उन्मुख छ भनेर हामीले मान्नुपर्ने हुन्छ,’ गेट्सले भनेका छन् । उनले विवेकसम्मत नै कुरा गरेका छन् ।
कोरोना भाइरसको मृत्युदर २ प्रतिशत मानिएको छ । त्यो मान्दा पनि सन् १९१८ को स्पेनिस फ्लु जत्तिकै यो भाइरस प्राणघातक हुनसक्छ । अर्काे सम्भावना के पनि हो भने धेरै मानिसमा असर नदेखिइकन यो रोगले ग्रसित भएका हुनसक्छन् र त्यतिबेला मृत्युदर कम देखिएको हुनसक्छ । महत्वपूर्ण कुरा के हो भने सन् १९१८ को स्पेनिस फ्लुलाई प्रभावकारी रूपमा सामना गर्न अमेरिका र विश्व तयार थिएन । ‘हामी अच्चमलाग्दो हिसाबले तयारीमा चुकेका छौँ,’ कोलम्बिया विश्वविद्यालयका प्रोफेसर तथा प्रकोप तयारीसम्बन्धी राष्ट्रिय केन्द्रका निर्देशक इरविन रेडलेनरले भने ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आप्रवासीको बथानले र घाइते इरानका कारण सधैँ खतरा रहेको दाबी गर्छन् र मेक्सिकोको सिमानामा पर्खाल निर्माण गर्न आर्थिक संसाधनको जोहो गर्न चाहन्छन् । तर, महामारी नियन्त्रणमा उनको खास ध्यान छैन । सन् २०१८ मा ह्वाइट हाउसले महामारी नियन्त्रण गर्ने उद्देश्यले स्थापना गरिएको नेसनल सेक्युरिटी काउन्सिलका लागि आवश्यक पर्ने दरबन्दी कटौती गरेका छन् । यसअघि ४९ देशबाट अमेरिकामा महामारी फैलन सक्ने भनेर काम भइरहेकोमा यी देशको सङ्ख्यालाई हाल १० मा सीमित गरिएको छ । विज्ञले त्यतिबेला नै यसलाई ह्वाइट हाउसको अल्पदृष्टि भनेका थिए ।
जतिबेला हामीलाई एउटा बुद्धिमान र वैज्ञानिक हिसाबले सुसूचित नेता आवश्यक छ त्यतिबेला नै हामीसँग कम विश्वसनीय र वैज्ञानिकसँग राम्रो सम्बन्ध नभएका राष्ट्रपतिलाई बेहोर्न परेको छ । सन् २०१४ को इबोला भाइरसको प्रकोप नियन्त्रण विषयमा पनि ट्रम्पले सही भूमिका खेलेका थिएनन् । उनी प्रमाणमा आधारित नीतिहरूको पक्षमा कहिल्यै भएनन् ।
स्वास्थ्य उपचार प्रणालीमा रहेका दीर्घकालीन कमजोरीका कारण अमेरिका सधँै जोखिममा छ । धनी देश हुँदाहुँदै पनि अमेरिकामा स्वास्थ्य बीमाले आमनागरिकलाई समेट्न सकेको छैन । बिरामी हुँदा मानिसलाई तलब दिइँदैन र अन्य समकालीन राष्ट्रको तुलनामा प्रतिव्यक्ति डाक्टरको अनुपात अमेरिकामा कम छ ।
एउटा उदाहरण हेरौँ । फ्लोरिडा राज्यका ओस्मेल मार्टिनेज चीनबाट फर्कंदा बिरामी भए । मियामी हेराल्डले प्रकाशन गरेको समाचारअनुसार उनले फ्लुका लागि पसल गएर सामान्य औषधि किन्न सक्थे । तर, कोरोना भाइरसको सम्भावित जोखिमका कारण उनी अस्पताल गएर चिकित्सकीय परामर्श लिए । कोरोना भाइरसको कुनै असर त देखिएन तर उनले अस्पताललाई ३ हजार २ सय ७० अमेरिकी डलर बुझाउन प¥यो ।
हामीले महँगो खर्चका कारण सहयोग चाहने मानिसलाई दुरुत्साहित गर्नुहुँदैन । ह्वाइट हाउस र अमेरिकी कङ्ग्रेसले कोरोना भाइरसका लागि लाग्ने उपचार र परीक्षणको खर्च बेहोर्ने प्रणालीको तत्काल विकास गर्नुपर्छ । यस्तै बिरामी हुँदा बस्ने बिदामा तलब पनि दिने व्यवस्था हामीले गर्नुपर्छ । के हामी त्यस्तो रेष्टुरेन्टमा खाना खान जान तयार छौँ, जहाँ खोकी र रुघाले ग्रस्त भएको मानिसले आम्दानी घट्ने डरले जबरजस्ती खाना पकाइरहेको हुन्छ ।
एसेस हेल्थ इन्टरनेसनलका अध्यक्ष ए. हेजरटाइनले कोरोना भाइरसको भ्याक्सिन बन्न कम्तीमा ६ देखि ८ महिना लाग्ने बताउँछन् । तर, अरूले त्योभन्दा बढी समय लाग्ने बताउँछन् । यस्तै बेलर विश्वविद्यालयका अन्तर्राष्ट्रिय स्वास्थ्यविज्ञ पिटर जे. होटेज सुरुमा बिरामीको हेरचाहमा जुट्न स्वास्थ्यकर्मीको सुरक्षाको बन्दोबस्त गर्नुपर्ने बताउँछन् ।
चीनको उहानमा जस्तो १ हजार स्वास्थ्यकर्मीमा ६ जनाको मृत्यु भएको अवस्था आउने हो भने स्थिति चौपट हुन्छ । होटेज भन्छन्, यसबाट अस्पतालमा काम गर्नेको मनोबल घट्छ र सबै कुरा ठप्प हुन जान्छ । सबै स्वास्थ्यकर्मीका लागि सुरक्षा सामानको सुनिश्चितता हुनैपर्छ ।”
यस्तै फ्लुबाट जोगिन मानिसको भिडभाड हुने अवस्था सकेसम्म निरुत्साहित गर्नुपर्छ । बस अथवा रेलको यात्रा गरेर कार्यालय जानुपर्नेमा मानिस घरैबाट काम गर्नसक्छन् । खेलकुदका कार्यक्रम, स्कुलमा प्रार्थनासभा, पार्टी आयोजना सकेसम्म नगरे हुन्छ । डाक्टरको क्लिनिकअघि भीड कम गर्न टेलिमेडिसिनको विकास गर्न सकिन्छ ।
हामीलाई अहिले बजार अर्थतन्त्रबारे र आफ्नो राजनीतिक फाइदा हुने गरी तर्क गर्ने नेताको भाषण होइन विज्ञान र प्रमाणमा आधारित पूर्वतयारी आवश्यक छ । नोबेल पुरस्कार विजेता आनुवंशिकविज्ञ जोसुवा लेडरवर्गले नयाँ रोगहरूको खतरा सम्बन्धमा भनेका थिए, Fयो रोग नित्याउने जिनविरुद्ध हाम्रो बुद्धिको लडाइँ हो ।” हामी हाम्रो बुद्धिलाई विजयतर्फ उन्मुख बनाउने हो भने स्पष्टसँग सोचेर, सम्झेर अगाडि बढ्नुपर्छ र समयमै सही कदम चाल्नुपर्छ ।
(न्युयोर्क टाइम्समा प्रकाशित सामग्रीको अनुवाद नागरिक दैनिकबाट साभार गरिएको हो–सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *